जाजरकोट ।
पुस्तौँदेखि जग्गा, जमिन र खास थातथलो नभएका वादी समुदाय पुसको चिसोले हैरान भएका छन् । नदीको किनारमा माछा मारेर जीविकोपार्जन गर्दै आएका हुन् वा मादल बनाएर बिक्री गरी आएको पैसाले परिवार पाल्ने वादी समुदाय किन नहुन्, सबैको पीडा चिसोबाट कसरी जोगिने भन्ने नै छ । कुशे गाउँपालिका–५ का १४ वर्षीय रमण वादीको विद्यालय जाने उमेरमा बुवासँग माछा मार्नका लागि प्रयोग हुने जाल (पासा) बनाउँदै दिन कट्ने गरेको छ । बुवा गणेशबहादुर वादीसँग दैनिक सोही काम गर्दागर्दै पढ्न नपाएको रमण बताउँछन् । गणेश अब पेशा परिवर्तन गर्ने सोचमा रहेका छन् ।
‘माछा मारेर मात्र परिवार पालनपोषण गर्न निकै मुस्किल भयो, कतैबाट सहयोग पाएको भए अरु काम गर्ने थिएँ’, गणेशले भने । ‘जेठो छोरा भर्खरै जन्मिएको थियो माछा मार्ने कामसँगै फलामबाट भाडा बनाउनतर्फ लागियो । यो कामबाट पनि खासै केही प्रगति भएन’, उनले भने । गणेशका छ जना छोराछोरी छन् । उनको एकतलाको खरले छाएको कच्ची घर छ । जुन घर निर्माण गरी गणेश बसिरहेका छन्, सो घर निर्माण गरेको जग्गासमेत उनको नाममा छैन । अन्य जग्गाको कुरा त सपनाजस्तै भइसक्यो । ऐलानी जग्गामा एकतले कच्ची घर निर्माण गरी बसेका गणेश आठ जना परिवारको समस्या टार्ने एक्लो व्यक्ति हुन् ।
वर्षैपिच्छे जन्मिएका छोराछोरीको स्याहारसुसार गर्नमै गणेशकी श्रीमतीको दिन बित्ने गर्छ । छिमेकीको घरमा साना छोराछोरीलाई मिठोमसिनो खुवाएको देख्दा आफ्नो घरमा मकैको रोटी आधा पेट खाएर बाँकी छोराछोरीलाई दिई प्राण बचाउनुपरेको बाध्यता फूलमायाको हृदयमा बलियो गाँठो बनेर बसेको छ । दुब्ला, पातला देखिने साना बालबालिकाले पूरै पेट खाना नपाएको बताएका छन् । बिहान खाए, बेलुकी के खाने भन्ने चिन्ताले सताउने गर्छ, फूलमायाले भनिन् , ‘गाउँपालिकाका अध्यक्षसँग जग्गा माग्दा कसैले सुन्दैनन्, हाम्रो कुरा सुन्ने कोही भएन । सरकारले आधातले कच्ची घर बनाइदिएपछि बास बसेका छौँ ।’
फूलमायालाई छोराछोरी पढाउने इच्छा भए पनि कपडा किन्ने, कापीकलम किन्ने पैसा नहुँदा विद्यालय पठाउन नसकेको पीडा सुनाईन् । ‘फलामको भाडा बनाए पनि बिक्री हुँदैन, बाहिरबाट फलाम ल्याउनसमेत मुस्किल छ’, गणेशले भने । गाउँगाउँमा डेक, मोबाइलका कारण मादल बिक्री हुन छाडेपछि पुर्ख्यौली पेशा छाड्न बाध्य अर्का रामबहादुर वादीले पीडा पोखे । ‘मादल बनाउन काठ चाहिन्छ तर सामुदायिक वनले जथाभावी काठ काट्न दिँदैन, अनि हाम्रो पेशा कसरी चल्छ’, रामले भने । आधुनिक प्राविधिका कारण मादलको महत्व घट्दै आएको उनको भनाइ छ ।
पुर्ख्यौली पेशा माछा मारेर, मादल बनाएर जीवन निर्वाह गर्ने वादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनले बताए । उनीजस्तै कुशे गाउँपालिकामा मात्र ४१ घरभन्दा बढी वादी समुदायको बसोबास छ । कसैको पनि आफ्नो जमिन छैन । सुरुमा रुकुमपश्चिम आठबीसकोटको राडीमा बसोबास गर्दै आएका यहाँका वादी समुदायका सर्वसाधारण कुशे गाउँपालिकामा आएको करिब दुई दशक बितेको छ । आफ्नो निजी जमिन र सम्पत्ति नभएका वादी समुदायका सर्वसाधारण जीवन निर्वाह र आधारभूत आवश्यकता पूरा गर्नका लागि अहिले संघर्षमा रहेको बताएका छन् ।
केही वर्षअघि आफ्ना र अर्काका पीडा गीतमार्फत सुनाउँदै आवश्यक खाद्यान्न, पैसा असुल्दै आएको यो समुदाय अहिले नयाँ जीवन जिउने रणनीति बनाउन अनेक उपायको खोजीमा छन् । उनीहरू अब आफँै आत्मनिर्भर भएर पीडाको जिन्दगीबाट मुक्ति पाउन चाहेको बताउँछन् । उनीहरूको इच्छा स्थानीय सरकारले जग्गा उपलब्ध गराइदेओस् भन्ने छ ।
सरकारले एकतले कच्ची घर बनाउन पैसा दिए पनि अन्य जीवन जिउने आधार नदिएको उनीहरूको भनाइ छ । स्थानीय सरकारले आयआर्जन गर्न र जीवन जिउने गतिलो उपायसहितको योजना ल्याएर श्रम गर्ने वातावरण सिर्जना गरोस् वादी समुदायको माग छ । आफूहरूलाई भोट खसाल्न मात्र प्रयोगको साधन बनाइएकामा उनीहरू पीडा व्यक्त गर्छन् । ‘हाम्रो जीवन निर्वाहका लागि ध्यान कसैले दिँदैनन्, मात्र यो गर्छौँ, त्यो गर्छौँ भनी गफ दिन्छन्’, अर्का कालीबहादुर वादीले भने । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
- राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी
- सुन्तला बेचेर रु २१ करोड भित्रियो
- काठमाडौँ बन्यो विश्वकै पहिलो प्रदूषित सहर
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया