Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोना खोपमा अलमल अस्वीकार्य

कोरोना खोपमा अलमल अस्वीकार्य


काठमाडौं ।
आम नागरिकको अत्यधिक चासोको विषय भएको कोरानाविरुद्धको खोपमा सरकारको तयारी पर्याप्त नहुँदा त्यो भण्डारणमै थन्किने खतरा बढेको छ । जुन बेलादेखि संसारभरि खोपको उत्पादन सुरु भयो र मान्छेको शरीरमा पर्नथाल्यो त्यसबेलादेखि नै विज्ञहरूले सरकारको व्यवस्थापनप्रति खबरदारी गर्दै आएका थिए । एउटा त सरकारको यो चालाले खोपको कुरा कुरामा मात्र सीमित रहने हो कि भन्ने शंका थियो । जब छिमेकी देश भारतले उसका वरिपरिका देशलाई एउटा निश्चित मात्रा उपलब्ध गराउने भयो, त्यसबाट नेपाल पनि लाभान्वित हुनेभयो ।

नेपालमा खोप आइसक्यो तर सरकारको पर्याप्त तयारी नहुँदा तत्काल काम लाग्ने अवस्थामा छैन ।भारतबाट अनुदानमा पाइएको यो खोप एक हप्तादेखि गोदाममा थन्किरहेको छ । सरकारले माघ १४ देखि सुरु गर्ने भनेको छ । त्यसको तयारीमा भने धेरै शंका खडा भएका छन् । स्वास्थ्य मन्त्रीले पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए अघिल्लो हप्ता । तर अवस्था कस्तो देखियो भने जसलाई पहिलो चरणको खोप दिने भनियो तिनको मोटामोटी वर्ग पहिचानबाहेक अरु केही गरिएकै रहेनछ । यी काम खोप प्राप्त हुनुअघि पनि गर्न सकिने थियो ता कि खोप प्राप्त भएपछि त्यसको प्रयोग मिति नै सकिने गरी नै गोदाममा थन्क्याउन नपरोस् ।

बितेको एक हप्तादेखि खोपका मात्राहरू टेकुस्थित केन्द्रीय खोप भण्डारमा थन्किइरहेका छन् । जिल्लामा समेत पठाइएको छैन, कारण कुन जिल्लामा कति संख्याका व्यक्ति छन्, पहिलो चरणको खोप लाउने भन्ने नै पहिचान भएको रहेनछ । यो भनेको कोरोनाको प्रारम्भिक कालको बन्दोबस्तीका तयारीको जस्तै हो ।

माघको पहिलो साता कोराना देखियो तर यता रोकथामका लागि वस्तु भने चैतको अन्तिम साता ल्याउन थालियो त्यो पनि प्रक्रिया मिचेर । खोप हात लागि नै सक्यो तर त्यसलाई गोदाममा थन्क्याएर मात्र आवश्यक सामग्रीको जोहोका लागि बल्ल बजेटको व्यवस्था गर्न थालियो । खोप प्राप्त हुनासाथ दिन तयारी अवस्थामा रहिएको भनी सरकार बारम्बार भनिरहेको थियो । तर जब खोप हातप¥यो त्यसपछि थाहा भयो खोप दिन खटिने कर्मचारीलाई तालिम नै दिन बाँकी रहेछ ।

माघ ८ गते भारतले १० लाख डोज कोभिसिल्ड खोप काठमाडौँमा अवतरण गराइदिएको थियो । राजधानीबाट स्थलमार्ग हुँदै जानेगरी तत्काल वितरण गरिएको भए त्यसको दुई दिनपछि सबै जिल्लमा पुगिसकेका हुनेथिए । त्यसमाथि हवाइ मार्ग त झनै सुलभ हुने भयो नै । केद्रीय राजधानीबाट प्राय सबै जिल्लामा दुई घण्टामा पुगिन्छ । तर पर्याप्त तयारीको अभावले वितरणमा यस्तो प्रक्रिया सरकारले अपनाएको देखिएन । खोप

प्राप्त भएपछि खोप दिने कर्मचारीलाई तालिम दिन थाल्नु भनेको अलमल गर्नु मात्र हो । खोपको डोजहरू प्राप्त भइसकेपछि दिनुपर्ने वर्गको पहिचान, संख्या गणना खोप दिने प्रक्रियाको अध्ययन तथा तालिम दिने काम गर्न थाल्नु भनेको यसकाबारे सरकारले यसअघि तयारी नगरेको भन्ने नै बुझाउँछ । यस्ता कामले सरकारप्रति भरोषा गर्ने ठाउँ दिँदैन । सरकारले सोच्नुपर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया