Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपाठ्यपुस्तक छपाइको अनुगमन

पाठ्यपुस्तक छपाइको अनुगमन


काठमाडौं, पुस २३
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नयाँ शैक्षिक सत्र सुरु भएसंगै सबै विद्याथीको हातमा पाठ्यपुस्तक पुग्ने बताएका छन् । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मंगलबार पुगेर पाठ्यपुस्तक छपाइको अनुगमन गर्दै उनले फागुन र वैशाखबाट नयाँ शैक्षिकसत्र सुरु हुने भएकाले पाठ्यपुस्तक समयमै पु-याउन सकिने आधार पाएको बताए । शिक्षा सचिव महेश दाहाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम भट्टराई लगायतको टोलीले केन्द्रले आगामी शैक्षिक सत्र २०७७ का लागि आवश्यक रङ्गीन पाठ्यपुस्तक छपाइको अनुगमन गरेको हो ।

अनुगमनपछि मन्त्री पोखरेलले अब सातवटै प्रदेशमा केन्द्रको कार्यालय विस्तार गर्दै प्रदेशबाटै पुस्तक छपाइ र वितरणको काम सुरु गर्ने गृहकार्यमा लागेको जानकारी दिए । उनले ७ सय ५३ वटै तहमा कार्यालय स्थापना गर्न नसकिने भन्दै प्रदेशमै केन्द्रको कार्यालय खोलेर अगाडि बढाउनुपर्ने बताए । आफू २०७२ सालमा शिक्षामन्त्री हुँदा गरेको रङ्गीन पुस्तक छपाउने निर्णय अहिले पूरा भएको बताए । “मेरो २०७२ को सपना अहिले आएर साकार हुँदै आएको छ, २०७२ मा नेपालको झण्डा पनि कालो छापिन्थ्यो, त्यसैले रङ्गीन पुस्तक छाप्ने निर्णय ग-यौं, अहिले कक्षा ८ सम्म पुस्तक रङ्गीनमा छाप्दैछौँ, त्यो सपना पूरा हुँदै छ”, उनले भने ।

समयमै पुस्तक छपाइ गरेर समयमै विद्यालयहरुमा पु-याउन केन्द्रले आफैँलाई परिवर्तन गर्दैै लैजानु जरुरी रहेको बताउँदै उनले केन्द्र अब आफैँ पनि आत्मनिर्भरतर्फ जानुपर्ने बताए । सार्वजनिक संस्था जसरी पनि सफल हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै उनले केन्द्रमा नयाँ प्रविधि र नयाँ मेशिन आएकाले पुस्तक छपाइसँगै संस्थालाई आत्मनिर्भर बनाउन नयाँ योजना र नयाँ काम ल्याउनुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव महेश दाहालले कामदारको क्षमता अभिवृद्धि गर्नुपर्ने, संस्थागत प्रबन्ध गर्दै समयानुकूल यसको संरचना र कर्मचारीलाई नयाँ ढङ्गले लैजानुपर्ने बताए । केन्द्रले अब पुस्तकमात्रै छाप्ने नभई सबै मेशिनलाई पूर्ण उपयोग गर्ने गरी बाहिरबाट काम ल्याएर सञ्चालन गर्दै संस्थाको आम्दानी बढाउनेतिर लाग्नुपर्ने उनको भनाइ थियो ।

केन्द्रका प्रबन्ध सञ्चालक महेश तिमिल्सिनाले विगत दुई वर्षदेखि समयमै पुस्तक छपाइ सकेर डिलरमा पु-याउने गरेको बताए । “पुस्तकको पैसा नगरपालिकामा गएको हुन्छ, त्यहाँबाट विद्यालयमा जान ढिला भयो र नगरपालिका तथा विद्यालय बीचको संयोजन मिलेन भने पनि पुस्तक समयमै पुग्दैन, समयमै पुस्तक छपाइ सकेर सबै पुस्तक क्षेत्रीय कार्यालयमा पु-याउने र एक हजार एक सय डिलरबाट मार्फत वितरण गर्ने गरेका छौं”, उनले भने ।

स्कुलमा समयमै बजेट पुगेन भने पनि किताब नउठाइदिने गरेको बताउँदै कतिपय अवस्थामा नगरपालिकाले रकम निकासा नगरिदिँदा विद्यार्थीको हातमा समयमै पुस्तक नपुग्ने गरेको उनको भनाइ थियो । यो वर्ष १० कक्षासम्म दुई करोड पुस्तक छपाइ गर्ने बताउँदै सञ्चालक तिमिल्सिनाले कक्षा ५, ९ र १० का लागि आवश्यक एक करोड १० लाख पुस्तक छापिसकेको बताए । उनले कक्षा ६, ७ र ८ को नयाँ कागज र नयाँ प्रिन्ट चार कलरमा छाप्ने भएकाले छपाइ प्रक्रिया सुरु भइसकेकाले अब तीन महिनाभित्र सबै पुस्तक छपाइ सकेर वितरण गर्ने बताए ।

उनले दुई चरणमा चालु पुस्तक छपाइ प्रक्रिया अब तीन चरणमा सञ्चालन गर्ने बताउँदै पुस्तक अभाव हुन नदिने बताए । अनुगमनमा मन्त्रीसहितको टोलीले रङ्गीन पुस्तक छपाइ, नयाँ उच्च प्रविधिको मेशिन, सुरक्षण मुद्रणालयको छपाइलगायत केन्द्रको भौतिक संरचनाको अनुगमन र जानकारी लिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया