Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपत्रकार सुवेदीमाथि प्रहरीको ज्यादति

पत्रकार सुवेदीमाथि प्रहरीको ज्यादति


काठमाडौं ।
जनसेवा प्रहरी वृत्तका प्रहरीले अन्नपूर्ण अनलाइन टिभीका सञ्चालक राजु सुवेदीको गुप्तांगमा निर्मम प्रहार गरेको घटनालाई सरकारले एक साता अघिदेखि कठोर कारबाहीको आश्वासन दिएर सामसुम पारेर दबाएको थाहा भएको छ । गत २ गते साँझ साढे ७ बजेतिर जनसेवा वृत्तका प्रहरीले पत्रकार सुवेदीलाई सुन्धारामा रहेको काठमाडौं मलअगाडि नियन्त्रणमा लिएर निर्मम ढंगले आक्रमण गरेका थिए । पत्रकार सुवेदी काठमाडौं मलमा थिए र त्यही बेला प्रहरीले सडकमा एक युवकलाई नियन्त्रणमा लिएर निर्मम तरिकाले पिटेको थियो । पत्रकार सुवेदीले उक्त घटनाको भिडिओ खिच्दै मलबाट ओर्लिएर प्रहरीलाई सार्वजनिक ठाउँमा त्यसरी नपिट्न आग्रह गरेका थिए । उनले कार्यालयमा लगेर कारबाही गर्न आग्रह गर्दा प्रहरीले उनीमाथि नै आक्रमण गरेको थियो ।

मोबाइल चोरको साथी भन्दै उनीमाथि निर्मम तरिकाले प्रहार भयो र उनको मोबाइल नियन्त्रणमा लिएर उनलाई जबर्जस्ती प्रहरीको भ्यानमा कोचेको थियो । प्रहरी भ्यानमा दुईतिर प्रहरी बसेर उनलाई बीचमा राखियो र ती दुवैले उनलाई हलचल गर्न नसक्ने गरी अँठ्याएका थिए । उनको अघिल्तिर बस्ने प्रहरीले दुई खुट्टाको कापबाट घुँडाले गुप्ताङ्गमा त्यसरी प्रहार गर्दागर्दै उनी बेहोस भएका थिए र जनसेवा पु-याएको केही समयपछि उनको होस खुलेको थियो । उनको होस खुल्दा प्रहरीको पिटाइबाट लिङ्गबाट पिसाब आएझैँ गरी तुरुरु रगत झरिरहेको थियो । त्यसपछि उनले आफू मोबाइल चोरको साथी नभई पत्रकार भएको भनी अनुनय विनय गर्दा पनि प्रहरीले उनको कुरा सुनेका थिएनन् ।

प्रहरीहरु उनलाई आउँदै हेर्दै जाँदै गरिरहेका थिए र त्यही क्रममा उनलाई राखेको ठाउँमा प्रहरी इन्स्पेक्टर राजाराम तिमल्सिना पुगेका थिए । पत्रकार सुवेदीले उनलाई पनि आफू पत्रकार भएको कुरा दोहो-याई दोहो-याई बताएका थिए तर उनले तँ केको पत्रकार, तँलाई मोबाइल चोरको साथी भनी उल्टै बेसरी पिटेका थिए । सुवेदीलाई त्यसरी थला पर्ने गरी पिटेर फर्किएको केही समयपछि एक जना असई आएका थिए । घरमा एक कल फोन गर्न दिन अनुरोध गरेपछि उनले फोन गर्न दिए । पत्रकार सुवेदीले गृहमन्त्री रामबहादुर थापा बादलका प्रेस सल्लाहकार किरण भट्टराईलाई आफूलाई जनसेवा प्रहरीले विना कारण समातेर कुटपिट गरी हिरासतमा लिएको कुरा सुनाएर फोन राखेका थिए ।

उनले फोन राखेपछि फोन गर्न दिने असईले पनि उनलाई घरमा फोन गर्छु भनेर अन्तै गर्दो रहेछ भन्दै गाली गर्दै गएको केही समय नबित्दै डीएसपी डीबी मल्ल पत्रकार राजु सुवेदी को हुनुहुन्छ भन्दै खोज्न पुगेका थिए । त्यसपछि उनको मरणासन्न अवस्था देखेपछि डिएसपी मल्लले आप्mनै गाडीमा राखेर पत्रकार सुवेदीलाई वीर अस्पतालको इमर्जेन्सीमा लगेर भर्ना गराएर उपचार गराएका थिए । त्यसको भोलिपल्टदेखि उनले नर्भिक इन्टरनेशनल हस्पिटलमा आफ्नै खर्चमा उपचार गराइरहेका छन् । अहिले पनि उनको अण्डकोष सुन्निएको निको भएको छैन ।

त्यसरी पिटाइ खाने पत्रकार सुवेदी सत्ताधारी नेकपा एमाले समर्थित पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको उपत्यका प्रदेशको सह–इन्चार्ज हुन् । उनीमाथि त्यसरी प्रहरीले निर्मम आक्रमण गरेको घटनाको विवरण प्रधानमन्त्री केपी ओलीदेखि गृहमन्त्री रामबहादुर थापा र नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापासम्मलाई तत्काल जानकारी गराइएको भए पनि अहिलेसम्म उक्त घटनाका दोषीहरुमाथि कुनै कारबाही गरिएको छैन । उल्टै पत्रकार सुवेदीलाई घटनालाई मिडियामा सार्वजनिक नगर्न दबाबसँगै दोषी इन्स्पेक्टर तिमल्सिना र प्रहरीलाई जागिरबाट निलम्बन गर्ने आश्वासन दिएर उनलाई अलमल्याइएको छ ।

यहाँसम्म कि पत्रकार सुवेदीमाथि भएको उक्त बर्बर प्रहरी आक्रमणको पत्रकारसँग सम्बन्धित पेशागत संघ संगठनले ठोस रुपमा विरोध समेत गरेका छैनन् र एउटा पत्रकारमाथि भएको सांघातिक आक्रमणको निर्लज्ज रुपमा मौन समर्थन गरेर आफ्नो सक्कली रुप प्रदर्शन गरेका छन् । यसबारे सम्पर्क गर्दा उनले आफूमाथि आक्रमण भएको स्वीकार गरे । उनले भने, ‘चैत १२ गतेसम्म कुर्नुहोस्, हामी आक्रमणकारीहरुलाई कारबाही गर्छु भनेकाले म चुप लागेर बसेको हुँ, अब सार्वजनिक गर्छु ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया