Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयहिंसाको बोली बोल्नै छाडौँ

हिंसाको बोली बोल्नै छाडौँ


काठमाडौं । पहिलो आवधिक निर्वाचनको दुई तिहाइ समय उपभोग गरेर बहिर्गमनमा परेको दल नेकपा एमालेका विभिन्न भातृसंस्थाहरूको गठन र शक्ति प्रदर्शन चलिरहेको छ । विपक्षले आफ्नो अस्तित्व देखाउन यस्ता अभ्यास पनि गर्छ नै । त्यो कुनै अस्वाभाविक नहोला । लामो समय सत्तामा रहेर एक हप्ताअघि मात्र विपक्षमा झरेको यो दलका यी संस्थाहरू अलिक बढी नै आक्रोशित देखिए । त्यसलाई नेतृत्वले झनै उक्साउने गरेको अवस्थाले त अबका दिन समाजमा हिंसाले प्रश्रय पाउने हो कि भन्ने शंका हुने ठाउँ देखिएको छ । यो चिन्ताको विषय हो ।

भर्खरै मात्र यो दलको एउटा भातृसंस्थाको एउटा एकाइ खडा हुँदा देशभरि आगो बाल्ने भन्ने घोषणा भयो । यो काम गरे पनि आगै बाल्ने, त्यो काम गरे पनि आगै बाल्ने भनी पटक–पटक दोहोरिनु समाज आतंकित हुने कुरा हो । पछिल्लो समयमा सबैभन्दा उपलब्धिको कुरा थियो यस्ता हिंसात्मक बोली बोल्न छाडिनु । देशमा माओवादी आन्दोलन सुरु नहुन्जेल सडकमा आगो बाल्ने र रेलिङ भत्काउनेमा परिचित नै थिए यस्ता संस्थाहरू ।

जब माओवादीको योभन्दा उग्र र हिंसात्मक काम सुरु भयो, त्यसपछि कम्युनिस्टका नाममा बदनामी भन्दै यो दलले हिंसा छाडेर आफ्ना आन्दोलनहरूलाई शान्तिपूर्ण रूपमा सम्पन गर्ने परम्परा थालेको थियो । उग्र र शान्तिपूर्ण कालका यी दुई प्रकारका आन्दोलनमा एमाले पछिल्लो समय हिंसाका बोली छाड्दा बढी चर्चित र लोकप्रिय भएको उदाहरण छ समाजमा । यतिबेला यो दल फेरि शान्तिभन्दा हिंसाको भाषा बोल्न थालेको हो कि भन्ने संकेत देखिन थालेका छन् जो राम्रो होइन । सत्ता छाडेलगत्तैको सार्वजनिक कार्यक्रमा यो दलका अध्यक्षबाट प्रतिपक्षीको रचनात्मक भूमिका निर्वाह गर्ने भनी घोषणा भएको थियो तर यसका भातृसंस्थाहरूबाट त्यसविपरीतका धाकधम्कीहरू आउन थालेका छन् । यसमा नियन्त्रण गर्नु आवश्यक छ । यसमा अनुरोध हो, यस्ता हिंसाको संकेत गर्ने बोली नै बोल्न छाडौँ ।

यस्ता जस्तोसुकै मात्राका हुन् हिंसा र बल प्रयोग हुने कुरा अहिलेको समाजले सहँदैन । त्यही दलका कतिपय युवाहरूले यस्ता संगठनहरू अस्तित्वमा नल्याउन नेतृत्वसँग आग्रह गरिरहेका अवस्थाले पनि धेरै कुरा बताउँछ । कुनै संगठन आफैँ आपत्तिका हुँदैनन् । आपत्ति हो तिनले बोल्ने हिंसाका बोली उद्दण्ड व्यवहार ।

यतिबेला विपक्षमा रहेकै दलका एक युवा नेताले आफ्नो नेतृत्वलाई कुनै पनि शक्ति प्रयोग हुने चरित्रका संगठन नखोल्न सुझाव मात्र दिएनन् त्यस्ता कामप्रति आपत्ति नै जनाए । उनको संकेत थियो यो दलका दुवै पक्षले प्रतिस्पर्धात्मक रूपमा यस्ता संगठन खोलेको कुराप्रति । ती नेताको समाजिक सञ्जालमा चढेको एउटा विवरण–अनेरास्ववियु र युवासंघजस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथफोर्स, अखिल फोर्सको औचित्य के छ ? समाजमा आतंकको आभास दिने र युवाहरूलाई अराजनीतीकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्यत यस्ता बाहुबली समूहहरू तत्काल खारेज गर्नुपर्छ ।

यी नेताले भनेजस्तै निवर्तमान प्रधानमन्त्रीले आफ्नो सरकारी निवास छाडेर घर फर्किन लाग्दा यही समूहले देशका नेताहरूमध्ये कसैलाई फाँसी दिन माग गरिरह्यो । नेपाल मृत्युदण्ड निषेध गरिएको देश हो । त्यति समेत हेक्का रहेन त्यसदिन । ती नेताको समर्थक जमात सडकमा आएको थियो भने भीडन्तको सम्भावना बढथ्यो होला । यो ठाउँमा फेरि अनुरोध गर्नैपर्छ– हिंसालाई प्रोत्साहन हुने भाषा नबोलौँ र त्यस्तो काम नगरौँ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया