Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयरबजारबाट दैनिक अर्बौं रुपैयाँ गुम्दै

सेयरबजारबाट दैनिक अर्बौं रुपैयाँ गुम्दै

७६ अंकले ओरालो लाग्दा नौ अर्बको कारोबार


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अनुदार बन्दा नेपाली सेयर बजार ओराले लागेको छ । अर्थतन्त्रको बारेमा जानकारी भएका गभर्नर अधिकारीले गलत कुरा लगाइदिएपछि अर्थतन्त्रका बारेमा कुनै जानकारी नै नभएका अर्थमन्त्री शर्माले त्यही कुरा पत्याइदिँदा नेपालीले सेयरबजारबाट दैनिक अर्बौँ रुपैयाँ गुमाउँदै गएका छन् । सर्वसाधारणले दैनिक अर्बौँ रुपैयाँ गुमाउँदा पनि अर्थमन्त्री शर्मा र गभर्नर अधिकारी भने रमिता हेरेर बसिरहेका छन् ।

बुधबार ४० अंकले ओरालो लागेको बजार परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार पुुनः ७६ दशमलव ६५ अंकले ओरालो लागेर दुई हजार आठ सय १२ दशमलव ३८ विन्दुुमा झरेको छ । बजार घट्दा सर्वसाधारणले डराएर सेयर बिक्री गर्दा बिक्री गर्नेहरुको रकम डुबिरहेको छ । ठूला लगानीकर्ता भने होल्ड गर्न सक्षम भएको कारण बजार घटे पनि उनीहरुलाई खासै समस्या परेको छैन ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ७३ अंकले ओरालो लागेर पाँच सय २५ दशमलव ७८ विन्दुमा झरेको छ । यस दिन १३ वटा उपसमूहअन्तर्गत दुई सय २९ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख १३ हजार आठ सय सात पटकको कारोबारमा एक करोड ६४ लाख ६८ हजार पाँच सय आठ कित्ता सेयर खरिदबिक्री भएका छन् । सोही खरिदबिक्रीका आधारमा यस दिन कुल कारोबार रकम नौ अर्ब तीन करोड ३९ लाख छ सय २३ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यस दिन कारोबार भएका कुुल उपसमूहहरुमध्ये सबै उपसमूहहरुको सूचक ओरालो लाग्दा सेयरबजार परिसूचक पूरै रातो भएको छ । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक ४१ दशमलव १४ अंकले ओरालो लागेर एक हजार नौ सय सात दशमलव ५५ विन्दुमा झरेकोमा विकास बैंक उपसमूहको सूचक पनि एक सय ९७ दशमलव २२ अंकले ओरालो लागेर पाँच हजार दुई सय ३१ दशमलव ७६ विन्दुमा झरेको छ । जलविद्युत् उपसमूहको सूचक पनि एक सय ३७ दशमलव ७९ अंकले ओरालो लागेर तीन हजार दुई सय ३८ दशमलव ९७ विन्दुमा झरेकोमा फाइनान्स उपसमूहको सूचक पनि एक सय ३९ दशमलव ४४ अंकले ओरालो लागेर दुई हजार छ सय ८३ दशमलव ३७ विन्दुमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि तीन सय ८३ दशमलव सात अंकले ओरालो लागेर १२ हजार छ सय ८० दशमलव ५६ विन्दुमा झरेकोमा जीवन बीमा उपसमूहको सूचक पनि चार सय ५२ दशमलव ५९ अंकले ओरालो लागेर १५ हजार सात सय ९३ दशमलव ४६ विन्दुमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी उपसमूहहरुको सूचक पनि क्रमशः एक सय १० दशमलव १३, एक सय २५ दशमलव ८३, एक सय ३७ दशमलव ३९, ३१ दशमलव १६, एक सय ७१ दशमलव ७७, शून्य दशमलव २४ र दुई दशमलव ३९ विन्दुले ओरालो लागेका छन् ।

यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर आठ सय ९९ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य पनि दुई प्रतिशतले बढेर नौ सय ८६ रुपैैयाँ २० पैसामा किनबेच भएको छ । यीबाहेक राष्ट्रिय बीमा कम्पनी, आईसीएफसी फाइनान्सको ऋणपत्र आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य भने यस दिन आठ दशमलव १७ प्रतिशतले घटेर नौ सय ५५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको सेयर मूल्य पनि सात दशमलव १८ प्रतिशतले घटेर पाँच सय ६९ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक आईसीएफसी फाइनान्स, चन्द्रागिरि हिल्स लिमिटेड आदिको सेयर मूल्य पनि घटेका छन् ।

यस दिन अरुण भ्याली हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता छ सय ५४ रुपैयाँ अन्तिम मूल्यमा ३८ करोड ६० लाख ४३ हजार पाँच सय आठ रुपैयाँ ३० पैसाको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको रिडी हाइड्रोपावर कम्पनीको पनि प्रतिकित्ता आठ सय ८५ रुपैयाँ अन्तिम मूल्यमा २८ करोड ३८ लाख ७४ हजार चार सय ५५ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक अपी पावर लिमिटेड, नेपाल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । नेप्सेको अनुसार यस दिन ग्लोबल आईएमई बैंकको ग्लोबल आईएमई बैंक डिब्वेञ्चर २०८६–०८७ अन्तर्गत ३० लाख युनिट ऋणपत्र सूचीकृत भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया