Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘उद्योगलाई जग्गा र बिजुली दिन प्रदेश सरकार तयार छ’

‘उद्योगलाई जग्गा र बिजुली दिन प्रदेश सरकार तयार छ’


काठमाडौं, माघ १७
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निजी क्षेत्रसँगको साझेदारीलाई थप प्रभावकारी बनाउन कानुनी सुधारदेखि उद्योगका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउन तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघमा उद्योगी तथा लगानीकर्ताहरुसँग अन्तर्क्रिया गर्दै मुख्यमन्त्री पोखरेलले उद्योगका लागि आवश्यक जग्गा तथा ऊर्जा उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको बताए ।

मोतिपुर कोरिडोर, बाँकेको नौवस्ता र दाङमा जग्गा अधिग्रहण भइसकेकाले लगानी परियोजना आए तत्काल जग्गा उपलब्ध गराउन तयार रहेको बताए । मुख्यमन्त्री पोखरेलले वैशाखमा आयोजना हुने लगानी सम्मेलनमा प्रस्तुत हुने परियोजना विकासको चरणमा सहकार्य गर्न पनि परिसंघलाई आग्रह गरे । सिमेन्ट उद्योगको क्षमता विस्तार गर्न, कृषिजन्य उद्योग स्थापना गर्न तथा वनजन्य कच्चापदार्थ उपयोग गर्ने गरी कागज उद्योग स्थापनाको प्रस्ताव ल्याउन पनि लगानीकर्ताहरुलाई आग्रह गरे । भैरहवा विमानस्थलसँग जोडेर पर्यटन पूर्वाधार लगानी विस्तारतर्फ सहकार्य गर्न पनि मुख्यमन्त्री पोखरेलले आग्रह गरे ।

कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले उद्योग तथा लगानीमैत्री वातावरण सिर्जना गर्न मुख्यमन्त्रीले लिएका पहलमा परिसंघले सघन सहकार्य गर्ने बताए । अध्यक्ष मोरले प्रदेश ५ को सरकारले आगामी वैशाखमा आयोजना गर्नेे लगानी सम्मेलनमा सक्रिय सहभागिता जनाउने जानकारी दिए । अध्यक्ष मोरले प्रदेश सरकारले लगानी तथा औद्योगीकरणमा लिएको उत्तरदायित्वले लगानीकर्ताका लागि सकारात्मक वातावरण बन्दै गएको बताए । प्रदेशस्तरमा निजी सार्वजनिक साझेदारीका नमूना परियोजना पहिचान तथा विकासमा परिसंघले थप सहकार्य गर्ने पनि अध्यक्ष मोरले उल्लेख गरे ।

परिसंघका उपाध्यक्ष राजेश अग्रवाललले ५ नम्बर प्रदेशमा खुलेका सिमेन्ट उद्योगहरुलाई आवश्यक विद्युत् अपुग रहेकोतर्फ मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराए । छलफलमा सहभागी परिसंघको विभिन्न उद्योग लगानी प्रवर्द्धनसँग सम्बन्धित समितिका अध्यक्षहरुले लगानी सम्मेलनमा उद्योगमैत्री कानुन निर्माण तथा नयाँ लगानीकर्ताहरुका लागि आकर्षक प्याकेज प्रस्तुत भए ५ नम्बर प्रदेश लगानी गन्तव्य हुनसक्ने धारणा राखे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया