Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पार्टी सदस्य नियुक्त गर्न नेकपाको सिफारिस

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पार्टी सदस्य नियुक्त गर्न नेकपाको सिफारिस


काठमाडौं, माघ २८
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति, शिक्षाध्यक्ष, रेक्टरलगायत रिक्त रहेको पदमा आफ्नो पार्टीको सदस्य नियुक्ति गर्नको लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान उपमहानगर कमिटीले स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको छ ।

नेकपा धरानले गत माघ २३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै विद्यार्थी जीवनदेखि अनवरत रुपमा कम्युनिष्ट पार्टी राजनीतिमा संलग्न रहेका वर्तमान कार्यवाहक उपकुलपति प्राध्यापक डा. गुरु खनाललाई उपकुलपति बनाउन सिफारिस गरेको छ ।

नेकपा धरान उपमहानगरका अध्यक्ष नारायण सुवेदी र सचिव सुदर्शन श्रेष्ठले सिफारिस गरेको पत्रमा भनिएको छ, ‘प्रतिष्ठानमा लामो समयदेखि कार्यरत विद्यार्थी जीवनदेखि अनवरत कम्युनिष्ट पार्टी राजनीतिमा संलग्न रहनुभएका प्रतिष्ठानको अस्पताल उपनिर्देशक, कार्यसमिति सदस्य, सञ्चालक परिषद् सदस्य तथा शिक्षाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएका वर्तमानमा कार्यवाहक उपकुलपतिको जिम्मेवारीमा रहनुभएका प्राध्यापक डा. गुरु खनाललाई नियुक्तिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान उपमहानगर कमिटीको तर्फबाट सिफारिस गरिएको छ ।’

त्यस्तै नेकपा धरानले प्राध्यापक डा. गुरु खनाललाई उपकुलपति नियुक्ति गरी बाँकी रहेका शिक्षाध्यक्ष पदमा प्रतिष्ठानमा कार्यरत पार्टी सम्बद्ध सिनियर प्रोफेसरहरु मध्येबाट नियुक्त गर्न सिफारिस गरेको छ । रजिष्ट्रारमा पार्टीबाट उपयुक्त विज्ञ प्रशासक नियुक्ति गरी प्रतिष्ठानको दीर्घकालीन नेतृत्व पार्टी अनुकूल बनाउन सकिने भएकाले सोहीअनुसारको व्यवस्था गर्न नेकपा धरानले स्वास्थ्यमन्त्रीलाई सिफारिस गरेको छ ।

‘प्राध्यापक डा. गुरु खनाललाई उपकुलपति नियुक्ति गरी बाँकी रहेका शिक्षाध्यक्ष पदमा प्रतिष्ठानमा कार्यरत पार्टी सम्बद्ध सिनियर प्रोफेसरहरुमध्येबाट र रजिष्ट्रारमा पार्टीबाट उपयुक्त विज्ञ प्रशासक नियुक्त गरी प्रतिष्ठानको दीर्घकालीन नेतृत्व हाम्रो अनुकूल बनाउन सकिने भएकाले सोहीअनुसारको व्यवस्थाका लागि पार्टी केन्द्रमा सिफारिस गर्ने धरान उपमहानगर कमिटी तथा धरानस्थित जिल्ला एवं प्रदेश कमिटीका नेताहरुको साझा धारणा रहेकोले यो सिफारिस गरिएको छ’, सिफारिसमा भनिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया