Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाध्यतालाई अवसार ठानी ग्राहक ठग्दै विद्युतीय गाडी बिक्रेता

बाध्यतालाई अवसार ठानी ग्राहक ठग्दै विद्युतीय गाडी बिक्रेता

चौधरीले ल्याएको विद्युतीय कार अनुसन्धानको घेरामा


काठमाडौं । पेट्रोलियम पदार्थको महंगीले विद्युतीय सवारीसाधन चढ्ने ग्राहकहरुको संख्या बढ्दै जाँदा मौकामा चौका भन्दै कानुनले तोकेको नाफाभन्दा दोब्बर बढी नाफा राखेर विद्युतीय सवारीसाधन बिक्रेताहरुले ठग्ने गुनासो बढिरहेको छ । त्यसैको एक उदाहरण हो पछिल्लो समय नेपाल भित्रिएको नेटा भी विद्युतीय कार ।

प्रधानमन्त्रीको किचेन क्याबिनेटभित्रको आर्थिक सल्लाहकार भएको फाइदा उठाउँदै नेपालका खर्बपति तथा चौधरी ग्रुपका कार्यकारी अध्यक्ष विनोद चौधरीले नेपालमा बिक्रीको लागि ल्याइएको यस नेटा भी विद्युतीय कार कानुनले तोकेभन्दा बढी नाफा लिएको विषयमा जनस्तरबाटै विरोध भएपछि अनुसन्धानको घेरामा परेको छ ।

सत्ताको आडमा कानुनको छिद्रता प्रयोग गर्दै चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले नेपाल ल्याएको सो नेटा भी ब्राण्डको विद्युतीय कारको मूल्यलाई लिएर जनस्तरबाटै व्यापक विरोध भएपछि सो कारको बारेमा अनुसन्धान सुरु भएको हो ।

नेपालमा आफ्नो ब्राण्डको मूल्यलाई लिएर विरोध भएपछि नेटा भी ब्राण्डको कार उत्पादक चिनियाँ कम्पनी होजोन अटोमोबाइल्सले समेत चासो राखेपछि सीजी मोटर्सले जनतालाई छल्न र चिनियाँ कम्पनी होजोनलाई गुमराहमा राख्न एक विज्ञप्ति जारी गरेको थियो ।

हरेक दिन सयौँको संख्यामा नेपालीहरु मरुभूमि भएका देशमा गएर काम गर्न बाध्य भएको अवस्थामा उद्योगीको बादशाह नै भनेर चिनिने खर्बपति उद्योगी चौधरीले नेपालका आफ्ना उद्योगहरुमा भारतीय कामदारहरुलाई मात्र नियुक्ति दिएको भनेर समेत व्यापक विरोध भइरहेको समयमा कानुनी छिद्रता बनाएर एकै पटक १५ सय चिनिया ब्राण्ड नेटा भी कार नेपाल भित्र्याएका हुन् ।

पहिले नाकाबन्दीले र अहिले पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धिले समस्या भोग्दै आएका जनतासँगै यसको दिनानुदिन प्रयोग बढ्दै जाँदा उच्च व्यापारघाटाले समस्या भोग्दै आएको नेपाल सरकारले जनतालाई र राष्ट्रकै लागि राम्रो हुने भन्दै यसको प्रतिस्थापन गर्नुपर्ने र त्यसको लागि विद्युतीय सवारीसाधनको आयात बढाउनुपर्ने निष्कर्षसहित यसको आयातमा व्यापक करछुटको घोषणा गरेको थियो ।

सरकारको करछुट घोषणामा आफूलाई फाइदा पुग्ने गरी गराएका चौधरीले ल्याएको १५ सय कारबाट पहिलो चरणमा नै एक अर्ब ३० करोड ५७ लाख नौ हजार नाफा कमाउने देखिएको छ ।

कानुनले तोकेको नाफा दरभन्दा माथि नाफा दर राखेर कारको मूल्य सार्वजनिक गरेको चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सलाई प्रधानमन्त्री शेर बहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको विशेष सहयोग रहेको स्रोतले दाबी गरेको छ ।

खर्बपति उद्योगी भएकै कारण सजिलै सांसद बन्न पाएका विनोद चौधरीले छोरा निर्वाण चौधरी र भान्जा हेमन्त अग्रवालले सीजी मोटर्स सञ्चालन गर्ने गरी सो कार नेपाल भित्र्याएका थिए ।

चौधरीले नेपाल भित्र्याएर मूल्य सार्वजनिक गरेसँगै कानुनविपरीत मूल्य राखेको, एकै पटक धेरै नाफा कमाउन खाजेर जनता सोसेको तथा पहुँचवालालाई कारबाही तथा छानबिन समेत नभएको भनी व्यापक आवाज आउनथालेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य विभागले सो विषयमा सूक्ष्म अनुसन्धान गरिरहेको बताएको छ ।

वाणिज्य विभागका प्रवक्ता हरि पंगेनीले आर्थिक दैनिकसँग कुरा गर्दै जनस्तरमा उठेका विषयहरु वाणिज्य विभागले सधैँ आफ्नो नोटिसमा राख्ने र सो बारे आफूहरुले अनुसन्धान गर्ने गरेको बताए । यहाँ पावर र पैसाको कुरा हुँदैन यहाँ सिष्टम र कानुनअनुसार काम भएको छ कि छैन मात्र हेर्ने हो र सो विषयमा पनि आफूहरुले सूक्ष्म रुपमा गम्भीर अनुसन्धान गरिरहेको बताए ।

चौधरीले ल्याएको सो नेटा भी ब्राण्डको कारको खरिद बिलअनुसार दुई थानलाई ३३ हजार डलर अर्थात् ४० लाख ४२ हजार तिरेको र भन्सारमा तिर्नुपर्ने भन्सार शुल्क चार लाख ४० हजार पाँच सय ९१, भ्याट छ लाख ६० हजार एक सय ९१, सडक मर्मत दस्तुर दुई लाख ८६ हजार नौ सय २९ र टोटल फि विषयमा पाँच सय ६५ गरी जम्मा १३ लाख ८८ हजार दुई सय ७६ रुपैयाँ राजस्व तिरेर भन्सारसम्मको मूल्य २७ लाख ४० हजार एक सय ३८ रुपैयाँ रहेको छ ।

निजी सवारीसाधनहरूको आयातमा लगाइएको प्रतिबन्ध साउनदेखि हट्ने
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले कार, जिप र भ्यानजस्ता निजी सवारीसाधनहरुको आयातमा लागेको प्रतिबन्ध साउन १ गतेदेखि हट्ने बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको पदाधिकारीहरुसँग मंगलबार भएको छलफलमा निजी सवारी आयातमा लगाइएको प्रतिबन्ध यही असार मसान्तसम्मको लागि मात्र भएकोले साउन १ गते देखि सो प्रतिबन्ध फुकुवा हुने उनको भनाइ थियो ।

नाडाका पदाधिकारीहरुले निजी सवारीसाधनहरुको आयातमा लगाइएको प्रतिबन्ध अविलम्ब खुलाउन माग गरेका थिए । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरी निजी प्रयोजनका सवारीसाधनहरुको आयातमा लगाइएको प्रतिबन्ध खुला गर्न माग गरेको हो ।

सरकारले देशको वर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै असार मसान्तसम्मको लागि निजी प्रयोजनका सवारीसाधनको आयातमा प्रतिबन्ध लगाएको छ । उक्त छलफलमा अध्यक्ष थापाले मन्त्रालयले एक सूचना प्रकाशित गरी आयातमा लगाइएको प्रतिबन्ध तत्काल खारेज गरी अटोमोबाइल व्यवसायीहरुलाई आफ्नो व्यवसाय गर्ने वातावरण सिर्जना गर्न अनुरोध गरे ।

बैंक तथा वित्तीय निकायहरुमा फाइनान्सको असहजता, एलसी मार्जिनमा गरिएका वृद्धि, जोखिम भार व्यवस्थापनमा दोब्बरले गरिएका वृद्धिजस्ता विषयहरुले विगत ८ महिनादेखि अटोमोबाइल व्यवसायमा ८० प्रतिशतभन्दा बढीले ह्रास आएको उनको भनाइ थियो । साथै उनले देशलाई भन्सारविन्दुमा उठ्ने परल मूल्यभन्दा दोब्बर राजस्व बुझाउँदै देशको कुल कर राजस्वमा झण्डै २५ प्रतिशत योगदान पु-याएको नेपालको अटोमोबाइल क्षेत्रमा खर्र्बाैँको लगानी तथा लाखौँलाई रोजगारी प्रदान गरेका व्यवसायीहरु अहिले धराशायी हुने अवस्थामा पुगेको उल्लेख गरे । यसलाई तत्काल सम्बोधन गरी हाल लागि आएको आयात प्रतिबन्ध खुलाउन अध्यक्ष थापाले माग गरे ।

यस्तै उनले नाडा अटो एक्स्पो आगामी भदौ ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न गर्ने निर्णय भइसकेको र यस प्रदर्शनीले राष्ट्रिय अर्थतन्त्रमा समेत सहयोग पु¥याउने भएकोले त्यसको सहजताको लागि समेत निजी प्रयोजनका सवारीसाधनहरुको आयातमा लागेको प्रतिबन्ध खुल्न जरुरी रहेको बताए । उक्त भेटघाट तथा छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्यसमिति सदस्य आकाश गोल्छा तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया