Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारी सवारी साधनको दुरुपयोग

सरकारी सवारी साधनको दुरुपयोग


कञ्चनपुर, फागुन २१
कञ्चनपुरका विभिन्न ठाउँमा सरकारी सवारी साधनको चरम दुरुपयोग भइरहेको पाइएको छ । कञ्चनपुरमा रहेका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरू तथा स्थानीय जनप्रतिनिधिले प्रयोग गर्दै आइरहेका मोटरसाइकलदेखि जिपसम्मका सरकारी सवारी साधनको चरम दुरुपयोग भएको पाइएको हो । शनिबार तथा सार्वजनिक विदाका दिन जिल्ला प्रशासनबाट अनुमति लिएर मात्रै सरकारी सवारी साधन सञ्चालन गर्नुपर्ने नियम छ । तर, यहाँका कर्मचारी तथा जनप्रतिनिधिले सार्वजनिक बिदाको दिन नेपालमा मात्र नभई छिमेकी मुलुक भारतमा समेत व्यक्तिगत कामकाजका लागि सरकारी सवारी साधनको प्रयोग गरिरहेका छन् । यसका साथै दुई जना क्षमता भएका मोटरसाइकलमा चार जना बोक्ने तथा जीप वा भ्यानमा समेत व्यक्तिगत तथा पारिवारिक कामकाजका लागि प्रयोग भएको पाइएको छ । पटक–पटक जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट सवारी साधन सीमित कामकाजका लागि सञ्चालन गर्न निर्देशन गरिँदासमेत कञ्चनपुरमा सरकारी सवारी साधन दुरुपयोग रोकिएको छैन् । नागरिक समाज कञ्चनपुरका सहसचिव प्रभुनिधि पन्तले स्वयम कर्मचारीको नैतिकता र नियमन गर्ने निकायको उदासीनताका कारण पनि सरकारी सवारी साधनको दुरुपयोग भएको बताए । ‘कर्मचारीमा इमानदारिता र नैतिकता हुनुपर्छ, ‘पन्तले भने, ‘जबसम्म स्वतस्फूर्त कर्मचारी नियन्त्रित हुँदैनन्, तबसम्म सवारी साधन दुरुपयोग हुन्छ ।’ दिएको जिम्मेवारीभन्दा व्यक्तिगत, व्यावसायिक कामका लागि सरकारी साधन प्रयोग भएपछि स्थानीय आक्रोसित भएका छन् ।

म १ ब २४७ नम्बरको सरकारी मोटरसाइकलले ट्राफिक निकायको उलङ्घन गर्दै चार जना बोकेर हिँडेको भेटिएको छ । उक्त सरकारी मोटरसाइकलमा दुई युवकले बीचमा दुई युवती राखेर हिँडेका थिए । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ चबन्नी बेलडाँडी बजार क्षेत्रमा उक्त मोटरसाइकलमा दुई युवती लिएर दुई पुरुष घुमिरहेको पाइएको हो । केही दिनअघि शनिबार वेदकोट नगरका मेयर अशोक चन्दले सरकारी साधन व्यक्तिगत कामका लागि भारत लिएर गएका थिए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरिप्रशाद खतिवडाले सरकारी सवारी साधन दुरुपयोग नियन्त्रण गरिने बताए । प्रजिअ खतिवडाले सरकारी कर्मचारीलाई पटक–पटक निर्देशन र अनुरोध गरिएको बताए । ‘हामीले सबैलाई अनुरोध र निर्देशन गरेकै हुन्छौँ’, प्रजिअ खतिवडाले भने, ‘त्यसमा अझ झन् त विदेशी मुलुकमा जाँनै हुँदैन ।’ इन्धनको नाममा लाखौँ खर्च सरकारी सवारी साधनको चरम दुरपयोग हुँदा कञ्चनपुरका स्थानीय तहमा इन्धनमा लाखाँै खर्च भएको पाइएको छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले कार्यालयको कामभन्दा व्यक्तिगत काममा गाडी दुरुपयोग गर्दा इन्धनमा लाखौँ खर्च भएको हो । ९ स्थानीय तह रहेको कञ्चनपुरका सबै स्थानीय तहमा जनप्रतिनिधि आएपछि सावारी साधन थपिएका छन् । जिल्लामा आउने संघीय र प्रदेश सांसदले स्थानीय तहका गाडी प्रयोग गर्छन् । त्यसैले पनि स्थानीय तहमा इन्धन खर्च बढेको देखिन्छ । कृष्णपुर नगरपालिकाले चालू आर्थिक वर्षको अहिलेसम्म १३ लाख रूपैयाँ इन्धनमा खर्च गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा इन्धन खरिदका लागि २८ लाख रूपैयाँ विनियोजन गरेको थियो । लालझाडी गाउँपालिकामा इन्धनमा अहिलेसम्म ८ लाख रूपैयाँ खर्च गरिएको छ । उक्त गाउँपालिकाले इन्धन खरिदका लागि २० लाख रूपैयाँ विनियोजन गरेको थियो । बेलडाँडी गाउँपालिकामा चालू आर्थिक वर्षमा इन्धन खरिदका लागि चार लाख रूपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले अहिलेसम्म सबै रकम इन्धन खरिदमा खर्च गरेको छ । वेदकोटले इन्धनका लागि चालू आर्थिक वर्षमा ५० लाख रूपैयाँ विनियोजन गरेको छ । जसमध्ये अहिलेसम्म २३ लाख ३९ हजार पाँच सय ६३ रूपैयाँ खर्च गरिएको नगरपालिकाका सूचना अधिकारी शंकर भट्टले बताए । उनका अनुसार उक्त रकम नगरपालिकाका गाडी, टिपर, ट्याक्टर, जेसीबी र मटोरसाइकल प्रयोगमा खर्च गरिएको हो । ‘नगरपालिकाले वडाध्यक्ष १५ लिटर र कर्मचारीलाई मासिक १० लिटर पेट्रोल उपलब्ध गराएको छ,’ उनले भने, ‘नगरप्रमुख ÷उपप्रमुखका हकमा आवश्यकताअनुसार लिन पाउने व्यवस्था गरिएको छ ।’

शुक्लाफाँटा नगरपालिकाले चालू वर्ष तेलका लागि २० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । शुक्लाफाँटामा अहिलेसम्म १५ लाख १५ हजार रूपैयाँ खर्च भइसकेको छ । त्यहाँका वडाध्यक्षले पनि मासिक २० लिटर तेल पाउँछन् । प्रमुख र उपप्रमुखलाई आवश्यकताअनुसार तेल दिने गरिएको छ । शुक्लाफाँटा नगरपालिकामा वडाध्यक्षहरूले थप प्रत्येक वडामा तेलका लागि ५० हजार रूपैयाँ विनियोजन गरेको छ । यसैगरी, भीमदत्त नगरपालिकाले चालू आर्थिक वर्षमा साधनस्रोतबाट ग्राभेल, मर्मत र इन्धन शीर्षकमा एक करोड रूपैयाँ विनियोजन गरिएको छ । भीमदत्तले अहिलेसम्म उक्त शीर्षकबाट ९३ लाख रूपैयाँ खर्च गरिएको छ । त्यस्तै माहाकाली नगरपालिकामा तेलका लागि चालू आर्थिक वर्षमा ३२ लाख रूपैयाँ विनियोजन गरेको थियो । उक्त नगरपालिकाले अहिलेसम्म १० लाख १० हजार तीन सय ३८ रूपैयाँ खर्च गरेको छ । महाकाली नगरपालिकाले नगरप्रमुख÷उपप्रमुख र प्राविधिक कर्मचारीलाई आवश्यकताअनुसार तेल दिने गरेको छ भने वडा अध्यक्षलाई १५ लिटर मासिक तेल दिने गरेको छ । पुनर्वास नगरपालिकाले तेलका लागि चालू आर्थिक वर्षमा २० लाख रूपैयाँ विनियोजन गरेको छ । नगरले अहिलेसम्म एक लाख ५३ हजार पाँच सय ६० रूपैयाँ खर्च गरेको छ । लाखौँ रकम इन्धनमा खर्च भएपछि स्थानीयसमेत हैरान भएका छन् । काम कम खर्च बढी भएपछि स्थानीयले इन्धनसमेत दुरुपयोग भएको दाबी गर्दै आएका छन् । तर, कञ्चनपुरका स्थानीय तहका जनप्रतिनिधिले भने इन्धन र सवारी साधन कामकै लागि प्रयोग हुने र दुरुपयोग नभएको दाबी गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया