Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअमेरिका र पोर्चुगल पठाइदिने नाममा ठगी गर्ने पक्राउ

अमेरिका र पोर्चुगल पठाइदिने नाममा ठगी गर्ने पक्राउ


विराटनगर । वैदेशिक रोजगारीको नाउँमा अमेरिका तथा पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा दुई जना व्यक्तिहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार रामेछाप, रामेछाप नगरपालिका–५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ३४ वर्षीय योगेश राज श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–३२ सुविधानगर तीनकुने बस्ने ३० वर्षीया धन कुमारी ओलीलाई ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो ।

अमेरिकाको प्रतिष्ठित कम्पनीमा लगेर काममा लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति २५ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितबाट १४ लाख सात हजार रूपैयाँ रकम ठगी गरी सम्पर्कविहीन भएका योगेश राजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले ललितपुर सातदोबाटोबाट सोमबार पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीका अनुसार धन कुमारी समेतले विभिन्न व्यक्तिहरूलाई पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काममा लगाइदिन्छु प्रतिव्यक्ति १३ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २१ लाख रूपैयाँ ठगी गरी सम्पर्कविहीन भएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले धन कुमारीलाई ललितपुर सातदोबाटोबाट आइतबार पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौ पठाइएको उक्त कार्यालयले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया