Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपेट्रोलियम पदार्थको मूल्य घट्दै

पेट्रोलियम पदार्थको मूल्य घट्दै


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको र भारतबाट पनि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हुँदा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव तोयम रायलाई निर्देशन दिएका हुन् ।

वाणिज्य तथा आपूर्ति सचिव रायलाई बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाई पेट्रोल, डिजेल, मट्टितेल, हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य समायोजन गर्न निर्देशन दिएका हुन् । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर आए पनि आफूहरु घाटामा रहेको भन्दै मूल्य संयोजन गरेको थिएन । निगममाथि ऋणको भार रहेको भन्दै पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको मूल्य घटाउनको लागि निगम तयार नभएको पाइन्छ । यसैबीच प्रधानमन्त्री दाहालको निर्देशक कार्यान्वयन हुनेमा आंशका छ ।

निगमले इन्डियन आयल कर्पोरेसन लिमिटेडलाई ८ जनवरी २०२३ मा भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवम नेपाल सरकारलाई तिर्नुपर्ने ऋण समेत गरी अझै पनि करिब १८ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले जानकारी दिए ।

आइतबार इण्डियन आयल कर्पोरेसन लिमिटेडबाट प्राप्त नयाँ खरिद मूल्यसूचीबमोजिम पेट्रोलिमा प्रतिलिटर दुई रुपैयाँ ५४ पैसा, डिजेलमा प्रतिलिटर दुई रुपैयाँ ९५ पैसा, हवाइ इन्धनमा प्रतिलिटर चार रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ७८ रुपैयाँ २२ पैसाले बढेको र मट्टितेलमा केही मूल्य घटेर आएको बताएको थियो । पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको नयाँ खरिद मूल्यअनुरुप आगामी १५ दिनमा निगम(लाई समग्रमा ९९ करोड रुपैयाँ नाफा हुनेछ भने एलपी ग्यासमा भने १५ दिनमा निगमलाई ४६ करोड ४४ लाख रुपैयाँ घाटा हुनेछ ।

हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र इन्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवं नेपाल सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतीपूर्ण अवस्था रहेको भन्दै निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य भने यथावत् राखेको छ । हाल पेट्रोल प्रतिलिटर एक सय ७८ रुपैयाँ, डिजेलको एक सय ७५ रुपैयाँ, मट्टितेल एक सय ७५ रुपैयाँ, हवाइ इन्धन (आन्तरिक) एक सय ९० रुपैयाँ र एलपी ग्यास प्रतिसिलिण्डर एक हजार आठ सय रुपैयाँ छ ।

पछिल्लो समय पेट्रोलियम पदार्थमा निगमले मूल्य समायोजन अर्थात् घटाएको हो । तर, अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा पेट्रोलियम पदार्थमा मूल्य नघटाएको भन्दै विभिन्न संघ, संस्थाले त्यसको विरोध गरेका थिए । त्यसका बाबजुद पनि निगम घाटा रहेको भन्दै मूल्य घटाएको पाइँदैन । जसले गर्दा आम उपभोक्ता महँगो मूल्यमा पेट्रोलियम पदार्थ किन्न बाध्य छन् ।

पेट्रोलियम पदार्थमा मुलुकले ठूलो घाटा व्यहोरेको भन्दै सरकारले यसको नियन्त्रणका लागि अध्ययन थालेको थियो । उक्त कामका लागि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयका राजस्व सचिवको नेतृत्वमा एक समिति समेत गठन गरी अध्ययन सुरु गरेको हो । सो समितिले पेट्रोलियम पदार्थ प्रयोग हुने गाडी रोक्ने भन्ने विषयमा सरकारलाई सुझाव दिनेछ । पेट्रोलियम पदार्थको विकल्पमा बिजुलीबाट चल्ने सवारीसाधनको प्रयोग खोजी गरेको पाइन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया