Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न आग्रह

निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न आग्रह


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् । नवलपुरको गैँडाकोटमा आयोजित गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९ को उद्घाटनमा उनले हरेक सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने बताए पनि व्यवहारमा लागू गर्नसकेको गुनासो गरे ।

‘हरेक सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने र निजी क्षेत्रको विकास गर्ने भनेर भन्ने गरेको सुनिन्छ । तर व्यवहारमा हामीले दलहरुले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको महशुस गर्न सकेका छैनौँ । मुलुकका औद्योगिक विकास र आर्थिक मुद्दा लिएर सरकारका विभिन्न निकायमा पुग्दा यो निजी क्षेत्रको मात्र एजेण्डा हो भन्ने गरेको पाइन्छ’, उनले भने । यस्तै उनले आयात रोकेर अर्थतन्त्रमा देखिएको समस्या समाधान नहुने सुझाव निजी क्षेत्रले सरकारलाई दिएको उल्लेख गर्दै आयात रोक्दा राजस्व मात्रै घटाउने काम भएको बताए । ‘हामीले आयात प्रतिबन्धले अहिलेको समस्या समाधान हुन्न भनेर भनेका थियौँ । त्यसको बदलामा बोर्डरमा हुने अनौपचारिक कारोबारलाई रोकौँ भनेर सल्लाह पनि दिएका थियौँ । तर त्यो कुरालाई नसुनेर सरकारले आयातमा प्रतिबन्ध लगाउने काम ग-यो । त्यसले गर्दा अहिले राजस्वमा ठूलो असर गरेको छ’, उनले भने । हरेक नयाँ नीति तथा नियमहरु बनाउँदा निजी क्षेत्र तथा सरोकारवालाहरुसँग व्यापक छलफल गर्न पनि उनले सरकारसंग आग्रह गरे ।

यस्तै उनले बैंकबाट लिएको कर्जाको ब्याज तथा कर्जा तिर्न पर्दैन भन्दै केही व्यक्तिले बोल्ने गरेको बताउँदै यसबाट अर्थतन्त्रमा ठूलो समस्या निम्तिन सक्ने बताए । उनले बैंकको कर्जा तिर्दिन भनेर के भन्न खोजेको हो ? भनेर प्रश्न समेत गरे । ‘उद्योगी व्यवसायीहरु साथीहरुलाई म सोध्न चाहन्छु, बैंकको कर्जा तिर्दिन भनेर के भन्न खोजेको हो । बैंकको निक्षेप भनेको त आम जनताको पैसा होला । यदि बैंकमा रहेको जनताको पैसा तिर्नुपर्दैन भनेर लोकप्रियताका लागि हामीले भन्यौँ भने र बैंकलाई मात्र गाली गर्ने गरी कुरा ग-यौँ भने त्यसको नतिजा के होला ?’, उनले प्रश्न गरे । सस्तो लोकप्रियताका लागि गैरजिम्मेवार कुराका पछाडि नलाग्न समेत उनले आग्रह गरे ।

कोरोनाभाइरसका कारण मुलुकको आर्थिक अवस्था बिग्रिएको बताउँदै उनले हाल रेमिट्यान्सको आप्रवाहमा पनि कमी भएको जानकारी दिए । त्यस्तै, बाह्य पर्यटकको संख्या घट्दा र बैंकमा लगानीयोग्य तरलताको अभाव हुँदा धेरै उद्योग व्यवसायहरु खुम्चिन बाध्य भएको उनले बताए । अब भने विस्तारै अर्थतन्त्रमा सुधार हुँदै आएको उनको भनाइ छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या पनि बढेको र विदेशबाट आउने पर्यटकको संख्या पनि बढ्न थालेकोले रेमिट्यान्सको आप्रवाह पनि बढ्न थालेको उनले जानकारी दिए ।

कार्यक्रममा उनले नवलपुरको धौवादी फलाम खानीबाट व्यावसायिक रुपमा फलाम उत्पादनको सम्भावना भए पनि लामो समयसम्म काम अघि बढ्न नसकेको बताए । यसको जिम्मा निजी क्षेत्रलाई दिन समेत उनले आग्रह गरे । ‘सरकारले हरेक बजेट तथा कार्यक्रममा यो फलाम खानीबाट फलाम उत्पादन गर्ने गरी कारखाना सञ्चालनका लागि कार्यक्रमहरु राख्ने गरेको छ । तर, आजसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन । बरु, यसलाई निजी क्षेत्रको जिम्मा दिनुहोस् । हामी यसलाई सञ्चालनमा ल्याउँछौँ’, उनले भने ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया