Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविश्व अर्थतन्त्र ६० वर्षकै खराब अवस्थामा, लाखौं मानिस अति गरिब हुँदै

विश्व अर्थतन्त्र ६० वर्षकै खराब अवस्थामा, लाखौं मानिस अति गरिब हुँदै


काठमाडौँ, जेठ २८
कोरोना भाइरस (कोभिड–१९) विश्व अर्थतन्त्रका लागि विश्वयुद्धभन्दा खतरनाक देखिएको छ । विश्व बैंकका अनुसार कोरोनाको कारण विश्वको अर्थतन्त्र दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब अवस्थामा पुग्नेछ । कोरोनाका कारण सन् २०२१ को अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले नकारात्मक हुने विश्व बैंकको प्रक्षेपण छ । कोरोनाको कारण आन्तरिक वस्तुको माग र आपूर्ति, व्यापार तथा वित्त क्षेत्रमा नकारात्मक असर परेकाले विकसित बजार तथा विकासोन्मुख अर्थतन्त्र २ दशमलव ५ प्रतिशतले घट्ने पनि अनुमान गरिएको छ । कोरोनाको कारण प्रतिव्यक्ति आय ३ दशमलव ६ प्रतिशतले घट्न गई लाखौं मानिस अति गरिबीमा जाने विश्व बैंकको अनुमान छ । विश्व बैंकका अनुसार प्रतिव्यक्ति आय सन् १८७० यताकै सबैभन्दा कम हुनेछ ।

यस्तै, सबैतिर देखिएको मन्दीको कारण समग्रमा विश्वको अर्थतन्त्र ६० वर्षयताकै सबैभन्दा बढी संकुचित हुने पनि विश्व बैंकको प्रक्षेपण छ । एड्भान्स इकोनोमी भएका देशको अर्थतन्त्र भने सन् २०२० मा सात प्रतिशतले घट्ने देखिएको विश्व बैंकको दाबी छ । कोरोनाको कारण विश्व व्यापार, पर्यटन, वस्तु निर्यात तथा बाह्य वित्तमा ठूलो असर देखिएको छ । यो असर अझै लामो समयसम्म जाने देखिएको छ । कोरोना भाइरसको अहिलेसम्म कुनै औषधि पत्ता लागेको छैन । त्यही भएर कोरोनाले विश्व अर्थतन्त्रलाई अझै असर गर्ने देखिएको हो ।

विश्वमा आर्थिक गतिविधि सुरु भए पनि जुनसुकै बेला महामारीको रुप लिने देखिएको छ । थप महामारीको रुप लिएमा अर्थतन्त्र अझै कमजोर र दयनीय देखिएको छ । विश्व बैंकका अनुसार महामारीको ठूलो असर गरेका देशहरुमा सबैभन्दा बढी अर्थतन्त्रमा प्रभाव पार्नेछ । कोरोनाको कारण अर्थतन्त्रको क्षेत्रीय स्तरमा समेत असर गरिरहेको छ । विश्व बैंकका अनुसार कोरोनाको कारण विश्वभर विद्यालय, आभारभूत स्वास्थ्य सेवामा मानिसहरुको पहुँच कम हुने र यसले मानव पुँजी विकासमा थप संकुचन ल्याउने छ । विश्व बैंकले सन् २०२० को ग्लोबल इकोनोमिक प्रोस्पेक्टस सार्वजनिक गर्दै विश्व अर्थतन्त्र भयावह हुने प्रक्षेपण गरेको हो ।

विश्व बैंकले अहिलेसम्मको घटनालाई हेरेर यस्तो प्रक्षेपण गरे पनि महामारी अझ लामो समयसम्म जाने र यसले विश्वमा ठूला परिवर्तन आउने देखिन्छ । विश्व बैंकले सन् २०२१ मा विश्वको अर्थतन्त्र रिबाउन्ड भई चार दशमलव दुई प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ भने विकसित देशको अर्थतन्त्र चार दशमलव छ प्रतिशतले रिबाउन्ड हुने प्रक्षेपण गरिएको छ । विश्व बैंकले लकडाउनले आर्थिक अवस्थालाई थप खराब बनाउने भन्दै आठ प्रतिशतसम्म पनि अर्थतन्त्र नकारात्मक हुने बताएको छ । यदि विश्वले सामाजिक दूरी कायम गरेर व्यवसाय सञ्चालन गरेमा भने अर्थतन्त्र सकारात्मक हुनेछ ।

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर भने सन् २०२० मा एक दशमलव आठ प्रतिशतमा सीमित हुने र सन् २०२१ मा दुई दशमलव एक प्रतिशत मात्रै वृद्धिदर कायम हुने प्रक्षेपण गरेको छ । नेपाल सरकारले चालू आर्थिक वर्ष २०७६/०७७ मा दुई दशमलव तीन प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । कोरोनाको नियन्त्रणको संकेत नदेखिए पनि आगामी आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य नेपाल सरकारले राखेको छ । कोरोना नियन्त्रणमा नआएमा उक्त लक्ष्य भेट्न सक्नेछैन ।

कोरोनाको कारण नेपालको पर्यटन क्षेत्रमा समेत ठूलो असर पारेको भन्दै विश्व बैंकले नेपालको अर्थतन्त्र थप धराशायी हुने संकेत गरेको हो । नेपालमा एक तिहाइ पर्यटक चीन र भारतबाट मात्रै आउने गरेका छन् । महामारीको कारण सरकारले अन्तर्राष्ट्रिय उडान तथा स्थल नाका बन्द गरेको कारण त्यसले पर्यटन उद्योगमा ठूलो असर पारेको छ । विश्व बैंकले दक्षिण एसियामा सबैभन्दा बढी भारतको अर्थतन्त्रको वृद्धिदर चार दशमलव दुई प्रतिशतमा सीमित हुने दाबी गरेको छ । सन् २०२१ मा यसको वृद्धिदर तीन दशमलव दुई प्रतिशत नकारात्मक हुने पनि विश्व बैंकको दाबी छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

ताजा अपडेट