Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्यान इन्फो टेकको तयारी अन्तिम चरणमा

क्यान इन्फो टेकको तयारी अन्तिम चरणमा


काठमाडौं । आगामी २०७९ साल वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा छ दिन आयोजना हुने आईएमई–पे क्यान इन्फो टेक २०२२ इन एसोसियसन विथ एससीटी स्मार्ट क्यूआरको तयारी अन्तिम चरणमा पुगेको छ ।

सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७औँ संस्करण हो । यो प्रदर्शनी यसअघि कोभिड–१९ का कारण दुई पटक स्थगित भएको थियो । विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाडौंमा मात्र हुने भएको र गतवर्ष प्रदर्शनी आयोजना हुन नसकेका कारण पनि यो पटक प्रदर्शकहरू एवं सम्बन्धित सरोकारवालाहरूमा उत्साह देखिएको आयोजक संस्था क्यान महासंघले जनाएको छ ।

२७औं क्यान इन्फो टेकको शीर्ष प्रायोजन आईएमई–पेले गरेको छ भने सहप्रायोजक एससीटी स्मार्ट क्यूआर युनियन–पे रहेको छ । यसको आयोजनाले कोभिड–१९ का कारण प्रभावित भएका सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ । क्यान इन्फो टेकको यो संस्करणमा विश्वव्यापीरूपमा सहभागिता हुन सक्ने गरी भर्चुअल प्रदर्शनी समेतको व्यवस्था गरिएको छ । क्यान इन्फो टेकमा विभिन्न खण्डहरू रहनेछन्, जसमा ब्रान्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेसन, आईसीटी एक्सेसरिज तथा प्रडक्ट लन्चिङ र ई–गभर्नेन्स मुख्य हुने आयोजकले जनाएको छ ।

यसबाहेक क्यान इन्फो टेक २०२२ मा रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, वाइफाइ तथा इन्टरनेटलगायतका कुराहरू रहनुका साथै व्यवसायीहरूले सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोल्युसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युसन, सोलार पावर सिस्टम, इन्भटर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम सोल्युसन, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युसन, सीसीटीभी र हार्ड डिस्कजस्ता उत्पादनहरू प्रदर्शनी तथा बिक्रीमा राख्नेछन् । त्यसैगरी, आर्टीफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आर्ईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल पनि प्रर्दशनीमा रहनेछन् ।

अघिल्लो पटक करिब साढे तीन लाखले अवलोकन गरेको क्यान इन्फो टेकको यो संस्करणमा करिब सोही संख्यामा अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ । यस पटकको इन्फो टेक पेपरलेस एवं क्यासलेस प्रवेश टिकटको व्यवस्था गरिने र प्रवेश शुल्क जम्मा एक रूपैयाँ मात्र तोकिएको आयोजकले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x