Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघरकर्जा बढ्यो, तीन खर्ब ७६ अर्ब कर्जा प्रवाह

घरकर्जा बढ्यो, तीन खर्ब ७६ अर्ब कर्जा प्रवाह


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा व्यक्तिगत आवास (होम लोन) शीर्षकमा प्रवाह भएको कर्जा बढेको छ । सरकारकै आग्रहमा नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा नरम नीति अवलम्बन गरेसँगै पछिल्लो समय बैंकिङ क्षेत्रमा घरकर्जा बढेको हो ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत दुई करोड रुपैयाँसम्मको कर्जालाई व्यक्तिगत आवास कर्जा शीर्षकमा समेटेको छ । यसअघि यस्तो कर्जाको सीमा एक करोड ५० लाख रूपैयाँ थियो । सोअनुसार घरकर्जाको रकम सीमा बढ्नु, घरकर्जाप्रति राष्ट्र बैंक केही लचिलो हुनु र अर्थतन्त्र पनि क्रमिकरूपमा चलायमान हुँदा बैंकहरूले पनि कर्जा प्रवाह बढाएका हुन् ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंक, १७ विकास बैंक र १७ फाइनान्स कम्पनी गरी कुल ५४ वटा संस्थाले व्यक्तिगत आवास शीर्षकमा तीन खर्ब ७६ अर्ब ५८ करोड ६० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० अर्ब ७९ करोड २० लाख रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत आवास कर्जा तीन खर्र्ब ४५ अर्ब ७८ करोड ८० लाख रूपैयाँ प्रवाह गरेका थिए ।

No description available.

राष्ट्र बैंकका अनुुसार पछिल्लो चार महिनाको अवधिमा वाणिज्य बैंकहरूले मात्रै व्यक्तिगत आवास शीर्षकअन्तर्गत तीन खर्ब तीन अर्ब ३२ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरूले प्रवाह गरेको यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० अर्ब ६७ करोड ६० लाख रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले व्यक्तिगत आवास शीर्षकअन्तर्गत दुई खर्ब ८२ अर्ब ६५ करोड १० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

विकास बैंकहरूले भने चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म व्यक्तिगत आवास शीर्षकमा ६१ अर्ब एक करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ अर्ब ७८ करोड ३० लाख रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले व्यक्तिगत आवास शीर्षकमा ५२ अर्ब ३५ करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

यस आर्थिक वर्षको पछिल्लो चार महिनामा फाइनान्स कम्पनीहरूले व्यक्तिगत आवास कर्जा १२ अर्ब २४ करोड १० लाख रूपैयाँ प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब ३३ करोड ९० लाख रूपैयाँले बढी हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूले व्यक्तिगत आवास शीर्षकमा १० अर्ब ९० करोड २० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया