Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारभारतबाट वस्तु आयात गर्न प्रतीतपत्र खोल्दा नगद धरौटी राख्नुपर्ने

भारतबाट वस्तु आयात गर्न प्रतीतपत्र खोल्दा नगद धरौटी राख्नुपर्ने


काठमाडौं । विदेशबाट वस्तु आयात (भारतबाट समेत) गर्दा प्रतीतपत्रमा बैंकहरूले आयातकर्ताबाट धरौटी लिँदा सोझै नगद लिनुपर्ने भएकोे छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत परिपत्र–२०८० (एकीकृत परिपत्र–२०७९ र सोपश्चात् मिति २०८०/०९/१२ सम्म जारी भएका परिपत्रहरु) संशोधन गरी यस्तो व्यवस्था गरेको हो ।

परिपत्रमा आयातकर्ताको निक्षेप खाता/ओभर ड्राफ्ट खाता खर्च गरी वा ओभर ड्राफ्ट लिमिट एयर मार्क गर्नुपर्ने, नेपाल सरकारबाट जारी भएका राष्ट्रिय बचतपत्र, राष्ट्र ऋणपत्र र ट्रेजरी बिल जस्ता उपकरणहरू धितो राख्ने, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको मान्य हुने ऋणपत्र तथा वण्ड र त्यस्ता संस्थाहरूको मुद्दती रसिद धितो राखेर समेत धरौटी लिन सकिने व्यवस्था गरेको छ । यसरी लिइने धरौटी रकम बैंकहरूले प्रतीतपत्र खोल्दा लिने गरेको सुरक्षण मार्जिनको अतिरिक्त हुनेछ ।

काठमाडौं उपत्यकास्थित प्रतीतपत्र कारोबार गर्ने बैंकका केन्द्रीय कार्यालयलगायत सबै शाखा कार्यालयहरूले नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा खोलिएका सम्बन्धित बैंकहरूको केन्द्रीय कार्यालयको मुख्य खाताबाट प्रतीतपत्रको धरौटीसम्बन्धी कारोबार गर्नुपर्नेछ । काठमाडौं उपत्यकाबाहिरका बैंक शाखा/कार्यालयहरूले आ–आफ्नो क्षेत्रस्थित राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरूमा खोलेका मुख्य खाताबाटै प्रतीतपत्रको धरौटीसम्बन्धी कारोबार गर्नुपर्नेछ । परिपत्रअनुसार प्रतीतपत्र कारोबार गर्ने बैंकका कार्यालयहरूलाई आधिकारिक मागका आधारमा राष्ट्र बंैकको सम्बन्धित कार्यालयबाट छुट्टाछुट्टै चेकबुक उपलब्ध गराइनेछ ।

उद्योगहरुद्वारा प्रतीतपत्रमार्फत गर्ने आयातको हकमा ‘नोमिनेटेड’ बैंकबाट प्रतीतपत्रका कागजातहरु प्राप्त भएपछि प्रतीतपत्रका कागजातमा उल्लिखित रकमको दुई प्रतिशत रकम सम्बन्धित बैंकले धरौटीबापत लिनुपर्नेछ । त्यसपछि बैंकले विविनि फारम नं. ४/४ (ग) जारी गर्नुपर्नेछ ।

प्रतीतपत्र खोल्ने बैंकको शाखा कार्यालयबाट जारी भइसकेको विविनि फारम नं. ४/४(ग) निर्धारित समयभित्र फिर्ता आए/नआएको र धरौटीबापत जारी चेकहरू भुक्तानी भए/नभएको बारे सम्बन्धित कार्यालयले नियमितरूपले अनुगमन गर्नुपर्नेछ । चेक जारी भएको मितिले बढीमा ९० दिनभित्र पनि कुनै चेकको भुक्तानी नभएको देखिनआएमा त्यस्ता चेकसम्बन्धी सम्पूर्ण विवरण उक्त ९० अथवा एक सय २० दिनको म्याद समाप्त भएपछि आउने महिनाको पहिलो सात दिनभित्र विभागलाई जानकारी गराउनुपर्नेछ । यससम्बन्धी तोकिएका कुनै फाराम निर्धारित समयभित्र नआएमा सोको जानकारी समेत विभागलाई दिनुपर्ने व्यवस्था छ ।

परिपत्रअनुसार रासायनिक मलको आयातमा निजी क्षेत्रलाई समेत सहभागी गराउने व्यवस्था भएकोले सो प्रयोजनको लागि रासायनिक मलको ‘स्पेसिफिकेसन’अनुसार आयात प्रतीतपत्र खोल्नुपर्नेछ र सो प्रतीतपत्रको एक प्रति नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाउनुपर्नेछ । कुनै आयातकर्ताले प्रतीतपत्रमार्फत रासायनिक मल आयात गर्न चाहेमा सम्बन्धित बैंक आफैंले प्रचलित व्यवस्थाअन्तर्गत रही प्रतीतपत्र खोल्न सक्नेछ । रासायनिक मलको आयात मूल्यको दुई प्रतिशतले हुने रकमबराबरको नगद वा बचतपत्र वा विकास ऋणपत्र वा सम्बन्धित बैंकलाई मान्य हुने सुरक्षणपत्र धरौटीको रूपमा राखी प्रतीतपत्र खोल्न सकिनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया