Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसरकारी विद्यालयलाई माछापुच्छ्रे बैंकको सहयोग

सरकारी विद्यालयलाई माछापुच्छ्रे बैंकको सहयोग


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ । बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित शारदा नगरपालिका वडा नं १५ माल्नेटामा रहेको श्री त्रिभुवन जनमाध्यामिक विद्यालयमा खानेपानी सुविधाका लागि आवश्यक पूर्वाधार निर्माण गर्न र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी नपा वडा नं ६ बडेहाँ स्थित श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न दुवै विद्यालयसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । त्यसैगरी बैंकले बाग्मती प्रदेशको कामनपा वडा नं. ४ लम्टङ्गिन स्थित पञ्चकन्या आधारभूत विद्यालयलाई आवश्यक सभाहलको निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

विद्यालय सञ्चालनका लागि अतिआवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारी पाएपश्चात् बैंकले उक्त दुई सरकारी विद्यालयहरूको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरू निर्माण गर्ने निर्णय गरेको हो । दुई सय ८९ जना विद्यार्थी एवम् १८ जना शिक्षक÷कर्मचारी कार्यरत श्री त्रिभुवन जनमाध्यमिक विद्यालयले ३५ सय मिटर टाढा रहेको मुहानबाट अस्थायीरूपमा पानीको पाइप जडान गरी खानेपानीको व्यवस्था गर्दै आएकोमा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाइप जलेर आपूर्ति बन्द हुनेलगायतका समस्या भोगिरहेको छ भने एक हजार आठ सयभन्दा बढी विद्यार्थी र ३५ जना शिक्षक÷कर्मचारी कार्यरत श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था निकै नै खराब रहेको हुँदा विद्यार्थी एवम् शिक्षकहरूले समस्या भोगिरहनुपरेको विद्यालयले जनाएको छ । विद्यालयको पूर्वाधार निर्माण गर्नेसम्बन्धी सम्झौतापत्रमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिको तर्फबाट अध्यक्ष तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए ।

सम्झौताबमोजिम बैंकले श्री त्रिभुवन जनमाध्यामिक विद्यालय परिसरमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार र श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गरी हस्तान्तरण गर्नेछ । यसैगरी काठमाडौं महानगरपालिकाको नमुना विद्यालयको वर्गीकरणमा परेको पञ्चकन्या आधारभूत विद्यालयमा आवश्यक सभाहलको अभावका कारण विभिन्न शैक्षिक कार्यक्रमहरूको आयोजनामा समस्या देखिएको भन्दै सभाहल निर्माणमा सघाउन आएको आग्रहअनुसार बैंकले उक्त स्कुलमा सभाहलको निर्माण गर्ने निर्णय गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया