Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारदुई दशकदेखि निरन्तर नाफा कमाउँदै राष्ट्रिय वाणिज्य बैंक ५९औँ वर्षमा प्रवेश

दुई दशकदेखि निरन्तर नाफा कमाउँदै राष्ट्रिय वाणिज्य बैंक ५९औँ वर्षमा प्रवेश


काठमाडौँ । नेपाल सरकारको पूर्ण स्वामित्वमा २०२२ साल माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ । सरकारी स्वामित्वको बैंकले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गरिरहेको छ ।

गत असार मसान्तसम्ममा बैंकको निष्क्रिय कर्जा अनुपात तीन दशमलव ७७ प्रतिशत छ । २०८० साल असार मसान्तसम्ममा बैंकको अधिकृत शेयर पुँजी ३० अर्ब, जारी र चुक्ता शेयर पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको छ । बैंकको विद्यमान पुँजी संरचनाअनुसार सरकारको ९९ दशमलव ९७ प्रतिशत र सर्वसाधारणको शून्य दशमलव ०३ प्रतिशत शेयर रहेको छ । बैंकको पुँजी कोष ५० अर्ब ७४ करोड रहेको छ ।

गत पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारण र संस्थागत गरी ४१ लाख ४० हजारभन्दा बढी निक्षेपकर्ताको तीन खर्ब ३८ अर्ब ४४ करोड निक्षेप रहेको छ । कर्जातर्फ एक लाख ९४ हजारभन्दा बढी ग्राहकलाई दुई खर्ब ५६ अर्ब ७० करोड बराबर ऋण विस्तार भएको बैंकले जनाएको छ ।

गतवर्ष बढी खुद मुनाफाआर्जन गर्ने बैंकको सूचीमा राष्ट्रिय वाणिज्य बैंक दोस्रो स्थानमा छ । राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०६०/६१ देखि निरन्तर मुनाफा आर्जन गरिरहेको छ । गत आर्थिक वर्ष २०७९/८० मा बैंकले तीन अर्ब ५९ करोड खुद मुनाफा कमाएको थियो । गतवर्षमा आर्जित मुनाफाबाट बैंकले पाँच दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नेपालको कूल सरकारी कारोबारको आधाभन्दा बढी हिस्सा यस बैंकबाट हुने गरेको बैंकले दाबी गरेको छ । प्रदेश सरकारका ७७ मध्ये ५१ र एक सय २८ स्थानीय तहको सम्पूर्ण खर्च भुक्तानी तथा सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट भइरहेको छ ।

त्यस्तै, सरकारबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ताको अधिकांश कारोबार यसै बैंकबाट हुने गरेको छ । सरकारका निजामती, सेना, प्रहरी, शिक्षकलगायतका सेवाबाट निवृत एक लाख ६० हजार भन्दा बढी व्यक्तिको निवृत्तिभरण भुक्तानी पनि राष्ट्रिय वाणिज्य बैंकबाट भइरहेको छ ।

बैंकको शाखा सञ्जाल ७७ वटै जिल्ला सदरमुकामसहित दुई सय ८६ शाखा कार्यालय, ६४ एक्सटेन्सन काउन्टर तथा ९५ वटा शाखारहित बैंकिङ एकाईमार्फत् सेवा दिइरहेको छ । बैंकले गत आर्थिक वर्ष सरकारलाई दुई अर्ब १८ करोड आयकर तिरेको थियो ।

दैवी तथा प्राकृतिक प्रकोप पीडितलाई आर्थिक सहायता, वित्तीय साक्षरता कार्यक्रम, शैक्षिकस्तर वृद्धिका लागि शैक्षिक सामग्री वितरण, विभिन्न धार्मिक तथा सांस्कृतिक सम्वर्द्धन क्षेत्रमा पनि बैंकले सहयोग गरिहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया