Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५९ औँ वार्षिकोत्सव अर्थमन्त्री डा प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा बुधबार एक समारोहका बीच सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले गत वर्षभन्दा यो वर्ष अर्थतन्त्र राम्रो भइसकेको बताउँदै सीमित साधन स्रोतबाट बढीभन्दा बढी प्रतिफल प्राप्त गर्ने दिशामा लाग्नुपर्ने आवश्यकता रहेको बताए । अहिले राष्ट्रिय वाणिज्य बैंक राम्रो अवस्थामा रहेको बताउँदै बैंक तथा वित्तीय संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुुपर्ने बताए । उनले सरकारले बैंकको सुधारका लागि उदार भएर कार्य गर्ने गरेको समेत बताए ।

प्रमुख अतिथि डा. महतले बैंकको थापाथली शाखाको नवनिर्मित भवनको उद्घाटन गरेका थिए । उनले कार्यक्रममा बैंकको ५९औँ वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०८० विमोचन गरेका थिए । कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रम, उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्ट/उत्कृष्ट बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधार हुँदै गएको बताउँदै अर्थतन्त्रमा राष्ट्रिय वाणिज्य बैंकको महत्वपूर्ण योगदान हुने गरेको बताए । नेपाल राष्ट्र बैंकले लिने नीति समग्र अर्थतन्त्रको विकासको लागि हुने र राष्ट्र बैंकले ल्याउने नीति अग्रणीरूपमा राष्ट्रिय वाणिज्य बैंकले कार्यान्वयन गर्ने गरेको बताए । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गानाले बैंकिङ क्षेत्रमा बढ्दै गएको प्रतिस्पर्धात्मक वातावरण तथा तीव्ररूपमा ग्राहकका आकाङ्क्षाहरू परिवर्तन भइरहेको सन्दर्भमा यस बैंकले ठूला उद्यमी तथा साना व्यवसायीदेखि सबै प्रकारका ग्राहकका आकाङ्क्षालाई सम्बोधन गर्ने गरी बैंकिङ सेवा सुविधाहरूमा गुणस्तरीयता अभिवृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकताका साथ कार्य गरिरहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउनु हुँदै बैंकले आफ्ना सम्पूर्ण स्रोतहरूको उच्चतम उपयोग गरी बैंकको समग्र उत्पादकत्वमा वृद्धि गर्न आवश्यक कदमहरू चालेको छ । बैंकका ग्राहकहरूलाई पनि गुणस्तरीय सेवा प्रदान गर्न बजारको मागअनुसारको सम्पूर्ण सेवा तथा सुविधाहरू उपलब्ध गराउँदै आएको छ । साथै, कर्जाको गुणस्तर, कर्मचारीको वृत्ति विकास र दिगो व्यावसायिक विकासका लागि पनि उचित कदमहरू उठाइएका छन् । उनले २०८० पुस मसान्तसम्म बैंकले तीन खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ५६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बताए । कार्यक्रममा पूर्व गभर्नर एवं बैंकका पूर्व कार्यकारी अध्यक्ष डातिलक रावल, बैंकमा क्रियाशील तीन वटै ट्रेड युनियनका अध्यक्षहरू क्रमशः रावाबैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संंस्था कर्मचारी संघ, रावा बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्की, रावाबैंक पूर्वकर्मचारी संघका अध्यक्ष दिनेशविक्रम थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आजभन्दा ५९ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको यो बैंकसँग कारोबार गर्ने कुल ग्राहकको संख्या करिब ४१ लाख पुगेको छ भने भौगोलिक उपस्थितिको हिसाबले ७ वटै प्रदेशका ७७ वटै जिल्ला र सबै जिल्ला सदरमुकाममा समेत गरी जम्मा दुई सय ८६ शाखा कार्यालयहरू सञ्चालनमा रहेका छन् । डिजिटल बैंकिङ क्षेत्रमा समेत बैंकले उल्लेखनीय फड्को मारेको छ ।

५९ औँ वार्षिकोत्सवको अवसरमा गत माघ ५ गते आयोजना गरिएको रक्तदान कार्यक्रममा देशैभरिबाट चार सय ७७ जना रक्तदाताहरूले रक्तदान गरेका थिए । साथै, काठमाडौं तथा सातै प्रादेशिक कार्यालयहरूले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रम गरिएको थियो । कार्यक्रममा सेयरधनीहरू, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू, बैंक सञ्चालक समितिका सदस्यहरू, पूर्वअध्यक्षहरू, पूर्वप्रमुख कार्यकारी अधिकृतहरू, विभिन्न संस्थानहरूका प्रमुखहरू, बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू, उपकार्यकारी अधिकृतहरू, विभागीय प्रमुखहरू, शाखा प्रबन्धकहरूलगायत कर्मचारीहरूको भव्य उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया