Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयनिर्वाचन आयोग चुक्नै नहुने ठाउँ

निर्वाचन आयोग चुक्नै नहुने ठाउँ


काठमाडौं । निर्वाचन आयोगले यो पटक निर्वाचनको परिणाम तीन दिनभित्र दिइसक्ने बताएको थियो । यसले खासगरी निर्वाचनमा मत हालेका ठूलो संख्यालाई उत्साहित पनि पारेको थियो । कारण हो, यसअघिको निर्वाचनको परिणाम महिना दिनसम्म पनि नआएको अवस्था । निर्वाचन परिणाम ढिलो आउँदा आउँदा देश एकप्रकारले तनावग्रस्त नै भएको थियो त्यसबेला । यो पटक भने तीनै दिनमा परिणाम सार्वजनिक गर्ने भनी आयोगले घोषणा गरिदियो । यसले आमतहमा नै एकप्रकारले उत्साह ल्याएको थियो । तर आयोगले आफ्ना कुरा पूरा गर्न सकेन । उसले परिणाम दिइसक्ने भनेको दिनका समाचार हेरियो भने कतिपय ठाउँमा मतपेटिका गणना हुने ठाउँसम्म पनि नपुगका भनी विवरणहरू आइरहेका पाइयो । नेताहरू एक दिनमा सात/आठ जिल्लामा भाषण गर्न गएका सन्दर्भमा मतपेटिका ल्याउन आवश्यक साधन हेलिकोप्टरको अपुग कस्तो हो भन्ने प्रश्न उब्जने भयो नै ।

निर्वाचनका परिणाम जहिले पनि प्रतीक्षाकै विषय बन्दछन् । यो पटक नागरिकमा त्यस्तो प्रतीक्षा अरुबेलाको भन्दा भिन्न थिए । खासगरी संसद्मा आउन लागेको नयाँ अनुहारहरूले त्यस्तो स्थिति उत्पन्न गरेका बुझ्न सकिन्छ । मतगणना सुरु भएका ठाउँका करिब २४ घण्टामा आएका प्रारम्भिक परिणामले नागरिकमा त्यस्तो खुलदुली उब्जाएको हो । प्रारम्भिक परिणाम हेर्दा यो निर्वाचनबाट पनि कांग्रेस र एमाले पहिलो र दोस्रो ठूलो दल बन्ने देखियो जो बितेको तीन दशकदेखिका निर्वाचनमा आलोपालो गर्दै आएका छन् तर कांग्रेस र एमाले पहिलो र दोस्रो ठूलो दल बने पनि तिनलाई नत्थी लगाउने काम भने नयाँ अनुहारको जिम्मा परेको अवस्था छ । पछिल्लो निर्वाचनको सबैभन्दा आकर्षक पक्ष हो यस्तो नयाँ अनुहारको प्रवेश । यसले पुराना दलका स्थापित नेताका आँकलनहरूलाई पनि गलत साबित गरिदिएको अवस्था प्रकट गरिदियो । यसमा बढी चर्चामा आएको केही महिना महिनाअघि मात्रै स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीको यो रूपको उदय विशेष प्रकारले विश्लेषणयुक्त छ । यो दलले आफ्ना चुनावी नारामा कुनै नयाँ कुरा देखाएको छैन तर यसप्रतिको यस्तो आकर्षण कसरी भयो भन्ने ठूला दलका ठूला नेताले आत्मसमीक्षा गनुपर्छ । विकास निर्माणको हिसाबले उल्लिखित ठूला दलहरूले जस्तो घोषणा गरेका थिए नयाँ आएको यस्तो शक्तिले त त्यति पनि भनेको थिएन तर पनि उसप्रति जनताको ध्यान गयो । यतिबेलासम्म समानुपातिकमा यो शक्ति तेस्रो ठाउँमा छ । यो नै यो दलका लागि उपलब्धि हो ।

अहिलेको सन्दर्भ हो, मतपरिणाम घोषणामा किन ढिलो भयो भन्ने । आयोगले आफैँले घोषणा गरेको कुरा पूरा गर्न सकेन । चारवटा मत चार प्रकारका भएका र त्यसमा एउटा मात्र चिह्न हेरे पुग्छ । एउटा मतपत्रमा दुईवटा चिह्न लागेको देखियो भने त्यो स्वतः बदरमा जान्छ । आयोगले पछिल्लो पटक निर्वाचन सम्पन्न भएलगत्तै गरेको पत्रकार सम्मेलनमा गणनाका क्रममा साधनस्रोतको कुनै अभाव हुन नदिने भनी दोहो-याएको थियो । तर उसले परिणाम आइसक्ने भनेका दिन बल्ल मतपेटिका गणना हुने स्थलमा आइपुग्नेजस्तो देखियो । निर्वाचन आफैँमा संवेदनशील कुरा हो । अहिलेको समयले जतिसुकै दुर्गम स्थान भए पनि त्यसलाई सुगम बनाउन सकिन्छ । उचितरूपमा त्यसको प्रयोग नहँुदा अनेक शंकाहरू जन्मिन्छन् । निर्वाचन सम्पन्न भएको तेस्रो दिनसम्म पनि मतपेटिका गणनास्थलमा ल्याउन नसकिएको भन्ने समाचारलाई आयोगले कतै खण्डन गरेको देखिएन । निर्वाचन शन्तिपूर्णरूपले सम्पन्न भयो यो एउटा पक्ष हो । अबको खाँचो यसलाई छिटोभन्दा छिटो परिणाममा परिणत गराउनु हो । यसमा आयोग चुक्न हुन्न ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

ताजा अपडेट