Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको अर्थतन्त्र पाँच दशमलव तीन प्रतिशत बढ्यो

चीनको अर्थतन्त्र पाँच दशमलव तीन प्रतिशत बढ्यो


चीन । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले यस वर्षको पहिलो तीन महिना (जनवरी–मार्च)मा पाँच दशमलव तीन प्रतिशत आर्थिक वृद्धि हासिल गरेको छ । जुन अपेक्षाभन्दा द्रूत गतिमा विस्तार भएको बताइएकोे छ । किनभने विश्लेषकहरूले यो तीन महिनामा अर्थतन्त्र चार दशमलव आठ प्रतिशतले बढ्ने अनुमान गरेका थिए ।

अघिल्लो त्रैमासिकको तुलनामा चीनको अर्थतन्त्र एक दशमलव छ प्रतिशत विन्दुले बढेको छ । राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस)ले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चिनियाँ अर्थतन्त्रको आकार चार दशमलव १७ ट्रिलियन डलर पुगेको छ ।

चीनको अर्थतन्त्रले कोभिड–१९ महामारीबाट सुधारमा आउन सङ्घर्ष गर्नुपरेको छ । कोभिड–१९ महामारीका कारण मागमा मन्दी र रियल स्टेटमा देखिएको संकटका कारण आर्थिक विकास प्रभावित भएको थियो ।

चीनले आफ्नो निर्यात मार्चमा अघिल्लो वर्षको तुलनामा सात दशमलव पाँच प्रतिशतले घटेको र आयात पनि कमजोर भएको बताएको थियो । मुद्रास्फीतिका कारण घरजग्गा क्षेत्रमा देखिएको सङ्कटले सुस्त मागको दबाबलाई प्रतिबिम्बित गर्छ ।

पहिलो त्रैमासिकका लागि औद्योगिक उत्पादन गत वर्षको तुलनामा छ दशमलव एक प्रतिशतले माथि रहेको र खुद्रा बिक्री चार दशमलव सात प्रतिशत बढेको छ । कारखाना र उपकरणमा स्थिर लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा चार दशमलव पाँच प्रतिशतले बढेको छ ।

अक्सफोर्ड इकोनमिक्सका चिनियाँ अर्थशास्त्री लुइस लूका अनुसार जनवरी–मार्चमा मजबुत वृद्धिलाई ‘व्यापक उत्पादनको राम्रो प्रदर्शनले सहयोग गरेको छ भने चन्द्र नव वर्षको बिदा र नीतिहरूका कारण उत्सवमा बढेको घरेलु खर्चले लगानीलाई बढाउन सहयोग गरेको छ ।

बेइजिङले अर्थतन्त्रलाई बढाउन चाहेकाले नीति निर्माताहरूले वित्तीय र मौद्रिक नीति उपायहरूको एउटा शृङ्खला जारी गरेका छन् । चीनले सन् २०२४ का लागि करिब पाँच प्रतिशतको महत्वाकांक्षी कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि लक्ष्य निर्धारण गरेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया