Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वमै धेरै भीड हुने फ्रान्सको लुवर संग्रहालय पुनः खुल्ला

विश्वमै धेरै भीड हुने फ्रान्सको लुवर संग्रहालय पुनः खुल्ला


पेरिस, असार २३
विश्वकै अत्यधिक धेरै मानिस जाने मानिने फ्रान्सको लुवर संग्रहालय झण्डै साढे तीन महिनापछि पुनः खुलेको छ । कोरोनाभाइरसको संक्रमणको खतरा बढ्दै गएपछि बन्द गरिएको संग्रहालय सोमबारदेखि सर्वसाधारणका लागि पुनः खुल्ला गरिएको हो ।

पुनः खुल्ला गरिएपछिको पहिलो दिनमा सोमबार झण्डै सात हजार मानिसले संग्रहालय भ्रमण गरेको जनाइएको छ । जवकी कोरोनाभाइरसको संक्रमण फैलिनु अघिसम्म दैनिक ३० हजार मानिसले संग्रहालयको भ्रमण गर्ने गरेका थिए । संग्रहालयमा आउनेहरुलाई मास्क लगाउन अनिवार्य गरिएको संग्रहालयका अध्यक्ष तथा निर्देशक जेन लुक मार्टिनेजले जानकारी दिए ।

हरेक चरणमा ५०० आगन्तुकहरुलाई व्यवस्थापन गर्ने गरिएको उनले बताए । त्यसका लागि उनीहरुलाई आधारभूत स्वास्थ्य सतर्कता र मापदण्डहरु पुरा गर्नै पर्ने व्यवस्था पनि गरिएको उनको भनाइ छ । आगन्तुकहरुलाई बस्ने ठाउँमा सामाजिक दुरी कायम हुनेगरी व्यवस्था गरिएको र एकातिरबाट जाने र अर्कोतिरबाट निस्कने व्यवस्था गरिएको छ । एउटै बाटोमा फर्केर हिड्न नपाइने नियम लगाइएको मार्टिनेजले बताए ।

चर्चित यस संग्रहालय गत मार्च महिनाको १३ तारिखदेखि बन्द रहेको थियो । बन्दका कारण दशौँ लाख टिकट विक्रीबाट हुने आम्दानी गुमेको र धेरै टिकटहरु फिर्ता गर्नु परेको पनि उनले जानकारी दिए । संग्रहालयमा युरोपेली देशबाहेक चीन, दक्षिण कोरिया, जापान, अमेरिका, ब्राजिललगायतका देशबाट आउने आगन्तुकहरु नदेखिएको पनि उनले बताए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया