Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबोइङ र एयरबसको सब्सिडी विवाद

बोइङ र एयरबसको सब्सिडी विवाद


ब्रसेल्स, असार २३
युरोपेली युनियनले १५ वर्ष लामो दुई विमान निर्माताको सब्सिडी विवाद समाधानमा अग्रसर नभए कर लगाउने चेतावनी अमेरिकालाई दिएको छ । ईयू र अमेरिकाले आआफ्ना कम्पनीलाई सब्सिडी दिएको आरोप लगाउँदै आएका छन् । सब्सिडी भनेको राज्यबाट कम्पनीलाई दिने विविध आर्थिक सहुलियत हो । करछुट, अनुसन्धान अनुदान र अन्य सहयोगका नाममा बोइङ र एयरबसले यस्तो सहुलियत लिँदै आएका छन् ।

बोइङ अमेरिकी विमान निर्माता कम्पनी हो भने एयरबस युरोपेली विमान निर्माता कम्पनी हो । अमेरिकाले युरोपेली युनियनले एयरबसलाई सब्सिडी दिएको आरोप लगाउँदै आएको छ । युरोपेली व्यापार आयुक्तले वर्षौँदेखिको विवाद समाधानका लागि युरोपेली युनियनले गरेको आग्रह अमेरिकाले नकारेको बताए । अमेरिकाले युरोपमा उत्पादन हुने बियर, जिन (एक प्रकारको फलफूलबाट रक्सीमा प्रयोग हुने प्रशोधित वस्तु) र ओलिभ (जैतुन)मा कर बढाउने चेतावनी दिएपछि युरोपेली युनियनले पनि यस्तै प्रकारको करवृद्धिको चेतावनी दिएको हो ।

गत महिना अमेरिकाले ३० युरोपेली वस्तुमा भन्सार शुल्क बढाउनेबारे विचार गरिरहेको बताएको थियो । अमेरिकाले ३ अर्ब १० करोड अमेरिकी डलरबराबरका वस्तुमा करको योजना सुनाएपछि युरोपेली युनियन आक्रोशित भएको हो । अमेरिकाको यस्तो योजनाले दुवै देशको कम्पनीलाई हानि हुने भन्दै युरोपेली युनियनले विरोध गरेको हो । युरोपेली व्यापार आयुक्त फिल होगनले युरोपेली संसदको व्यापार समितिमा १५ वर्ष लामो विवाद समाधानमा अमेरिका अग्रसर नभए आवश्यक कदम चाल्न तयार रहेको बताएको बीबीसीले जनाएको छ ।

अमेरिका–युरोपबीच २००४ देखि नै विवाद रहिआएको छ । हाल यो मुद्दा विश्व व्यापार संगठनले हेरिरहेको छ । डब्ल्यूटीओले अमेरिकाले ५ अर्ब ५० करोड डलरको भन्सार शुल्क युरोपेली वस्तुमा लगाउन सक्ने आदेश दिएको थियो । त्यस्तै युरोपले अमेरिकी वस्तुमा कति शुल्क लिने भन्ने सेप्टेम्बरमा टुंगो लाग्दै छ । होगानले हालसालै अमेरिकाले युरोपेली वस्तुविरुद्ध थालेको राष्ट्रिय सुरक्षा अनुसन्धानको पनि आलोचना गरेका छन् । उनले यसलाई अस्वीकार्य रहेको भन्दै युरोपेली युनियनले पनि अमेरिकी वस्तुविरुद्ध यस्तै अनुसन्धान गर्नुपर्ने जिकिर गरेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया