Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतको ओमेगा सेइकीले बंगलादेशमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने

भारतको ओमेगा सेइकीले बंगलादेशमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने


ढाका ।
भारतीय अटोमोटिभ तथा रेलका पार्टपुर्जा उत्पादन गर्ने कम्पनी ओमेगा सेइकीले बंगलादेशमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने भएको छ । बंगलादेशी मिडियाहरुका अनुसार कम्पनीले ढाकानजिकै विद्युतीय सवारीसाधनको कारखाना स्थापना गर्न एक अर्ब भारु लगानी गर्ने भएको हो । यसको सञ्चालन भने ओएसएम–बंगलादेशले गर्नेछ । यो कम्पनी आंग्लियन ओमेगा ग्रुपको सब्सिडरी (सहायक) कम्पनी हो । ओमेगा सेइकीले अहिले भारतमा उत्पादन प्लान्ट सञ्चालन गरिरहेको छ । भारतका आईएमटी फरिदाबाद र आईएमटी मानेसर हरियाणामा कम्पनीको प्लान्ट छ ।

ओमेगा सेइकी मोबिलिटीका प्रमुख उदय नारांगले छिमेकी देशमा कम्पनीका सवारीसाधनले राम्रो प्रतिक्रिया पाउने बताए । बंगलादेशमा उत्पादित सवारीसाधन ओएसएम ब्रान्डमा रहेर स्थानीय साझेदार र फ्रेन्चाइजमा बिक्रीवितरण हुने बताइएको छ । कम्पनीकै प्रबन्धनिर्देशक देव मुखर्जीले विश्व अटो क्षेत्रमा द्रुतगतिमा भइरहेको विद्युतीयकरणसँगै बंगलादेशमा पनि यो लहर सुरु हुनुपर्ने बताए । ट्राफिक समस्या र प्रदूषण रोक्न पनि दुईपांग्रे र तीनपांग्रे सवारीसाधनको विद्युतीय रुपान्तरण आवश्यक रहेको उनको भनाइ छ । कम्पनीले उत्पादन गर्ने सवारीसाधनमा लि–आयोन ब्याट्री प्रयोग हुनेछ ।

यसको प्रविधि भने भारतबाट ल्याइनेछ । पछि यसको पूरै स्थानीयकरण हुने र बंगलादेशबाट अन्य देशमा निर्यात समेत गर्ने गरी सोचिरहेको उनले बताए । बंगलादेशबाट ३९ वटा देशमा निर्यात हुँदा अहिले शून्य कर लाग्ने नीति छ । यसमा भारत पनि पर्छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया