Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम

ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम


काठमाडौं,यौन तथा लागुऔषधको खोजीमा डुल्ने उग्र स्वभावका ब्रिटिश पर्यटकहरूलाई एम्सटरडम सहरको सन्देश छ: ‘कृपया यहाँ नआउनुस्।’

नेदर्ल्यान्ड्सको व्यापारिक राजधानी एम्सटरडम सहरका स्थानीय काउन्सिल अधिकारीहरूले लागु औषध, यौन अनि मदिराको खोजीमा उर्लने ब्रिटिश पर्यटकको हुल रोक्न एउटा डिजिटल अभियान थालेका छन्।

उक्त अनलाइन अभियानले खासगरि १८ देखि ३५ वर्षका ब्रिटिश पुरुषहरूलाई लक्षित गरेको छ।

सो अभियानअन्तर्गत त्यस्ता व्यक्तिहरूले ‘एम्सटरडममा स्ट्याग पार्टी, सस्ता होटल अनि पब क्रल’ जस्ता शब्द राखेर ‘अनलाइन सर्च’ गर्दा तिनलाई हतोत्साहित पार्ने खालका विज्ञापन स्वतः रूपमा देखा पर्नेछ।

साथै त्यहाँको स्थानीय काउन्सिलले सहरको मध्य भाग सफा राख्न अनि पर्यटनलाई दीगो बनाउन गाँजा बेच्ने ‘कफी शप’ भनिने पसलहरू तथा सहरका नहर, क्यानल, छेउमा कानुनी रूपमा नै संचालित वेश्यालय बन्द गराउन चाहेको छ।
के छ अभियानको भिडिओ सन्देशमा?
भिडिओ सन्देश ठाडो र स्पष्ट छ। युवाहरू मदिराले लठ्ठ भएर सडकमा डुलिरहेको, प्रहरीले तिनलाई हतकडी लगाएर लगिरहेको अनि तिनका तस्बिर लिएको दृश्यहरू भिडिओमा देखिन्छन्।

लागुऔषध अनि मदिराको अत्यधिक प्रयोगले आइपर्ने जोखिमलाई ती विज्ञापनमा प्रस्तुत गरिएका छन्।

अर्थात् एम्सटरडममा मनाइएको लामो सप्ताहान्तले गलत स्मृतिहरू निर्माण हुनसक्छन्।

ब्रिटिश पर्यटकहरूलाई एम्सटरडमसम्म आउजाउ हवाई भाडा ५० पाउन्डसम्ममा उपलब्ध छन्।

यूकेस्थित ट्राभल एजेन्सीहरूले एम्सटरडममा विवाह गर्न लागेका पुरुषका निम्ति पुरुष साथीहरूले आयोजना गर्ने स्ट्याग पार्टी, असीमित मदिरासहितका क्यानल डुङ्गा सयर अनि त्यहाँका रेड लाइट क्षेत्रमा रात्रि मनोरञ्जनका प्याकेज बेच्ने गर्छन्।

वर्षौँदेखि एम्सटरडममा मदिराले मातिएका ब्रिटिश पर्यटकहरूले सार्वजनिक स्थलमा पिसाब फेरिदिने गरेको, नहरमा वान्ता गरिदिने गरेको अनि झगडा गर्ने गरेको गुनासो आउने गरेका छन्।

विभेदको आरोप
आलोचकहरूले चाहिँ त्यस्ता लक्षित अभियान विभेदपूर्ण अनि अन्यायपूर्ण भएको आरोप लगाउँछन्।

नेदर्ल्यान्ड्समा कफि शपहरूले मदिरा नबेच्ने, नाबालिगलाई ग्राहक नबनाउने जस्ता केही शर्तसहित वैध रूपमा नै गाँजाको काराोबार गर्न पाउँछन्।

त्यहाँका एक कफि शपका संचालक जोआकिम हेल्म्सले त्यस्ता पर्यटक गाँजाका निम्ति आएपनि पछि उनीहरू त्यहाँको कलाको इतिहासमा रम्ने गरेको बताए।

आफ्ना ग्राहकहरू विविध उमेर तथा अर्थ-सामाजिक क्षेत्रबाट आउने गरेको भन्दै यसरी उमेर र लिङ्गको आधारमा कसैलाई छुट्ट्याउनु विभेदकारी हुने र त्यसले एम्सटरडमले गौरव गर्दै आएको स्वतन्त्रता, सहिष्णुता तथा समानता जस्ता मूल्यमान्यतामा धक्का पुग्ने उनले बताए।

एम्सटरडम संसारकै सबैभन्दा धेरै पर्यटक पुग्ने सहरमध्येमा पर्छ। जम्मा ८ लाख ८३ हजार जनसङ्ख्या भएको उक्त सहरमा वार्षिक २ करोड पर्यटक आउँछन् जसमध्ये १० लाख त ब्रिटिश पर्यटक नै हुन्छन्।

अधिक पर्यटनले त्यहाँ पारेको चापले गर्दा स्थानीय बासिन्दा र काउन्सिलले पछिल्ला कदम चालेका हुन्।

हुन त त्यहाँबाट यौन व्यवसाय पूरै हटाउनु पर्छ भन्ने चर्चा त अहिले सेलाएको छ। तर तिनलाई व्यवस्थित पार्न कडा नियमहरू भने ल्याइएका छन्।

यो सप्ताहान्तबाटै त्यहाँका वेश्यालय र बारहरू बन्द गरिनु पर्ने समय अगाडि सारिएका छन् भने ‘रेड लाइट’ क्षेत्र वरपरको सडकमा गाँजा खान नपाउने नियम मे महिनादेखि लागु हुनेछ।(बीबीसी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया