Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबेलहिया नाकाबाट भारत जानेको संख्या बढ्दो

बेलहिया नाकाबाट भारत जानेको संख्या बढ्दो


पोसकान्त पोखरेल
बुटवल, जेठ ३०
कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणको लागि गत वर्ष चैत ११ गतेबाट सरकारले गरेको लकडाउनमा बिहीबारसम्म बेलहिया नाका भैरहवा रुपन्देहीबाट ३८ हजारभन्दा बढी भारतीय र नेपाली नागरिकहरु आआफ्नो जन्मभूमितर्फ प्रस्थान गरेको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ । कार्यालयका अनुसार एक देशबाट अर्को देशमा आवजावत गर्नेहरुमध्ये सबैभन्दा बढी ज्यालादारी, मजदुरी गर्नेहरु रहेका छन् भने सोबाहेक औद्योगिक, सरकारीलगायतका उद्योग कलकारखानाका मालिक तथा उच्च दर्जाका कर्मचारीहरु पनि छन् । जेठ २८ गतेसम्म भारतबाट नेपाल प्रवेश गर्नेहरुभन्दा नेपालबाट भारत प्रवेश गर्नेहरुको दुई हजार सात सय ८० जना बढी छन् ।

कार्यालयका कार्यालय प्रमुख इश्वरी अधिकारीका अनुसार लकडाउन भएको दिन चैत ११ गतेदेखि जेठ २९ गते समाचार तयार पार्ने समयसम्म १८ हजार एक सय ३५ जनाले बेलहिया नाकाबाट नेपाल प्रवेश गरेका छन् भने जेठ २८ गतेसम्म २० हजार पाँच सय ९७ जना भारत प्रवेश गरेका छन् । सुरुको तुलनामा भन्दा पछिल्लो समय नेपाल छोड्नेको संख्या बढ्दो छ । प्रहरीको तथ्याङ्कअनुसार नेपाल प्रवेश चैत १३ गतेबाट भएको थियो भने भारत प्रवेश २०७७ वैशाख १२ गते एक महिनापछि सुरु भएको थियो । २०७६ चैत १२ गते भारतबाट बेलहिया नाका भई २९ जना नेपाल भित्रिएका थिए ।

वैशाख १२ गते एक सय ५३ जना भारतीय नेपालबाट भारत प्रवेश गरेका थिए । वैशाख १२ गतेसम्मको प्रहरीको तथ्याङ्क हेर्दा पाँच हजार आठ सय ७५ जना फुटकर र विभिन्न समयमा शवसहित नेपाल प्रवेश गरिसकेका थिए । सो समयसम्म नेपालबाट भारत प्रवेश गर्नेहरुको संख्या केवल तीन सय ७५ जना मात्र रहेको थियो ।

कार्यालयको तथ्याङ्कअनुसार भारतबाट नेपाल प्रवेश गर्नेहरुमध्ये सबैभन्दा बढी जेठ १७ गते एक हजार तीन सय ७५ जना थिए । त्यस्तै सबैभन्दा कम चैत १३ गते २९ जनाले नेपाल प्रवेश गरेका थिए । हालसम्मको समयमा नेपालबाट भारत प्रवेश गर्नेहरुमा सबैभन्दा धेरै जेठ २६ गते १५ सय ९४ जनाले भारत प्रवेश गरेका थिए । नेपालबाट भारत प्रवेश गर्नेहरुमा सबैभन्दा कम वैशाख २६ गते एक जना मात्र रहेको थियो ।

हिजो समाचार तयार पार्ने समयसम्म भारतबाट नेपाल तीन सय १८ जनाले प्रवेश गरेका थिए भने सो समयसम्म नेपालबाट भारत प्रवेश गर्नेको संख्याबारे भारतीय सुरक्षा निकायले कुनै कुरा सार्वजनिक नगरेको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया