Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमाउन्टेन फ्लाइटहरुको उडान विराटनगरबाट गर्न आग्रह

माउन्टेन फ्लाइटहरुको उडान विराटनगरबाट गर्न आग्रह


काठमाडौं ।
प्रदेश १ का उद्योगी तथा व्यवसायीहरुले उच्च हिमशृंखलाहरु प्रदेश एकभित्र रहेकोले माउन्टेन फ्लाइटहरुको उडान विराटनगरबाट भर्न संघीय सरकारसँग आग्रह गरेका छन् । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले प्रदेश एकको पर्यटन विकास गर्न प्रदेश १ को राजधानी विराटनगरबाट माउन्टेन फ्लाइटहरुको उडान भर्नुपर्ने बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग शनिबार प्रदेश नं. १ क्षेत्रका पर्यटन प्रवर्द्धनलगायत समसामयिक विषयहरुमाथि छलफल गर्न मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनले आठ हजार मिटरमाथिका विश्वका १४ वटा हिमशृंखलाहरुमध्ये आठवटा नेपालमै रहेको र त्यसमध्ये पनि विश्वकै सर्वोच्च शिखर सगरमाथा र तेस्रो अग्लो हिमाल, कञ्चनजंघासहित कुल पाँचवटा हिमशृंखला प्रदेश १ मा रहेको बताए ।

सगरमाथा पर्वतारोहणका लागि प्रयोग हुने लुक्ला विमानस्थलसम्मका लागि हेलिकप्टर व्यवस्थापन तथा माउन्टेन फ्लाइटहरु विराटनगरबाटै उडान भराउन पहल हुनुपर्ने बताउँदै उनले यस प्रदेशका पर्यटकीय गन्तव्यहरुमा सरकारले आवधिक छुट वा निःशुल्क रुपमा जग्गा उपलब्ध गराए अन्तर्राष्ट्रियस्तरका सुविधा सम्पन्न होटलहरु सञ्चालन गर्न निजी क्षेत्र तयार रहेको बताए । त्यस्तै, पर्यटन आकर्षित गर्न प्राकृतिक खानपिन, स्वच्छ हावापानी, मनोरम दृश्यसहितका ठाउँहरुमा होम स्टे खोल्न प्रोत्साहन गरिनुपर्ने एवं त्यस्ता ठाउँमा सेमिनार, बैठक आदि समेतको आयोजना गर्न सकिने वातावरण सृजना गर्न पर्यटनमन्त्रीलाई सुझाव समेत दिए ।

यस्तै, विराट राजाको दरबारका अवशेष रहेका स्थललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने, पाथीभरा मन्दिरसम्म केबलकारको सञ्चालन गर्ने, हलेसी महादेवसम्मको सहज यात्राको व्यवस्थापन गर्ने एवं वराहक्षेत्रमा लाग्ने कुम्भमेलालाई भारतको चारधाममा लाग्ने कुम्भमेलासँग जोड्न पहल गरी धार्मिक पर्यटन सर्किटको विकास गर्ने लगायतका कार्ययोजना अघि बढे यस प्रदेशको धार्मिक पर्यटनमा उल्लेख्य योगदान पुग्ने उनको भनाइ थियो ।

त्यस्तै, विराटनगर विमानस्थलको स्तरोन्नतिका कार्यलाई तीव्रता दिई प्रदेशबीचको उडानहरुलाई निरन्तरता दिनुका साथै विगतझैँ विराटनगरदेखि कोलकाता, दिल्लीसम्मको उडान पुनः सुचारु गरी बंगलादेश, भुटानसम्मको उडानको समेत थालनी गर्नुपर्ने उनको सुझाव थियो । साथै उनले समग्र नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान, भूमिका, महत्व, वर्तमान अवस्था तथा यसको पुनरुत्थानका लागि विभिन्न नीतिहरु तत्कालै अपनाउनुपर्नेमा जोड दिए । हाल नाका बन्द रहेकाले उत्पादनमूलक स्वदेशी उद्योग र स्थानीय बजार÷व्यवसायहरु केहि हदसम्म फस्टाए पनि पर्यटन क्षेत्रमा प्रतिकूल असर परी धराशायीतर्फ उन्मुख भई रहेको उनको भनाइ थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया