Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबझाङमा २ सय १० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको काम अघि बढ्यो

बझाङमा २ सय १० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको काम अघि बढ्यो


बझाङ । बझाङमा चैनपुर सेती जलविद्युत् आयोजनाको काम अघि बढ्ने भएको छ । दुई सय १० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजनाको ४ वर्षदेखि सम्भाव्यता अध्ययन भइरहेको यो आयोजनाको प्रारम्भिक अध्ययनको काम सकेर दोस्रो चरणको अध्ययनको काम भइरहेको हो ।

महत्वाकांक्षी आयोजनाका रूपमा अघि सारिएको यो आयोजना साइपाल गाउँपालिकाको काँडामा ड्याम बाँधेर तलकोट गाउँपालिकाको बस्तीमा निर्माण हुने आयोजना प्रमुख अनिलभक्त श्रेष्ठले जानकारी दिएका छन् । जनताको जलविद्युत् कार्यक्रममा अन्तर्गत निर्माण गरिने आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकार, आयोजना प्रभावित, मुलुकभरका सर्वसाधारण नागरिकको लगानी रहने उनले बताए ।

सुख्खा याममा समेत दैनिक कम्तीमा छ घण्टा दुई सय १० मेगावाट विद्युत् उत्पादन गर्नसक्ने आकर्षक आयोजनाका रूपमा यसलाई अगाडि बढाउन लागिएको उनको भनाइ छ । निर्माणकार्य सुरु गरेको पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनामा बैंकको ब्याजबाहेक ३६ अर्ब ५४ करोड लागत अनुमान गरिएको छ । आयोजनाको बाँध क्षेत्रमा बस्ती नभएको र पावर हाउस बन्ने ठाँउमा पातलो बस्ती भएका कारण पनि स्थानीयको दुई सय ३० रोपनी निजी जग्गा अधिग्रहण गर्दा आयोजनालाई पुग्ने आयोजना प्रमुख श्रेष्ठको भनाइ छ ।

नेपाल विद्युत् प्रधिकरणले जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता साथ अगाडि बढाउने भएसँगै बझाङमा निर्माण हुने यो जलविद्युत् आयोजनाको काम अघि बढ्ने भएको हो । आयोजनालाई इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा निर्माण गरिन लागिएको हो । त्यसका लागि टेन्डर कागजपत्र तयार पार्ने, पहुँच सडक निर्माण, जग्गा अधिग्रहणलगायतका काम सुरु भइरहेको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया