Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालहुलाकी सडक : सुदूरपश्चिममा निर्माणको गति सुस्त

हुलाकी सडक : सुदूरपश्चिममा निर्माणको गति सुस्त


महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा साढे चार वर्षअघिदेखि विभिन्न प्याकेजमा हुलाकी सडक निर्माण भइरहेको भए पनि कामले गति भने लिन सकेको छैन । कञ्चनपुरमा पूर्वी डोकेबजारदेखि यहाँको दक्षिण क्षेत्र हुँदै वेदकोट नगरपालिकाको दैजीसम्म निर्माण हुने ६२ किलोमिटर हुलाकी सडकको निर्माणको म्याद चार पटक थपिँदा मुस्किलले ५० प्रतिशत काम सम्पन्न भएको छ ।

विसं २०७३ फागुनमा एक अर्ब २० करोड रूपैयाँ लागतमा तीन प्याकेजको हुलाकी सडक निर्माणको काम थालिए पनि अझै ३० किलोमिटर सडक निर्माण हुन बाँकी छ । पहिलो प्याकेजको डोकेबजार क्षेत्रमा दुई किलोमिटर, दोस्रो प्याकेजको पचुई क्षेत्रमा एक हजार छ सय मिटर तथा शुक्लाफाँटा निकुञ्ज र कलकत्ता क्षेत्रमा गरी ३० किलोमिटर कालोपत्र गर्न बाँकी रहेको बताइएको छ ।

३० महिनामा काम सक्नेगरी तीनवटा निर्माण कम्पनीले निर्माण थाले पनि दुई पटक कोरोना भाइरस संक्रमण जोखिमका कारण निर्माण प्रभावित भएको हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इन्जिनियर पद्मबहादुर मडैले बताए । ‘तीनवटै प्याकेजलाई आगामी चैत महिनासम्मको समयावधि दिइएको छ’, उनले भने, ‘विविध कारण आइलाग्दा निमार्णमा ढिलाइ भयो ।’ यहाँको पुनर्बास र बेलौरीदेखि बेल्डाँडीसम्मका स्थानीयवासीलाई प्रदेशको अस्थायी राजधानी धनगढी र सदरमुकाम महेन्द्रनगरसित आवागमन सहज हुने हुलाकी सडक भएको स्थानीयवासीको भनाइ छ । सो सडक निर्माणमा गति दिन पटक/पटक स्थानीयवासीले पनि दबाब दिँदै आएका छन् ।

त्यसैगरी कैलालीमा पनि सातवटा प्याकेजमा हुलाकी सडक निर्माणको काम भइरहेको छ । लम्की–टीकापुर खण्डको पहिलो प्याकेजबाहेक अन्यत्रको काममा भने ढिलासुस्ती देखिएको छ । लम्की–टीकापुर साढे २७ किलोमिटर सडक निर्माण तीन वटा प्याकेजमा विभाजन गरिएको छ । पहिलो आठ किलोमिटर सडकको ४० प्रतिशत काम सम्पन्न भइसकेको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ । ‘तीनवटा प्योकजको लागत एक अर्ब १० करोड रूपैयाँ छ’, इन्जिनियर मडैले भने, ‘निर्माण सक्न तीस महिनाको समय दिइएको छ ।’

उक्त खण्डको दोस्रो र तेस्रो प्याकेजमा २० प्रतिशत भौतिक प्रगति भएको उनको भनाइ छ । त्यसैगरी धनगढी–भजनी र सत्ती ३१ किलोमिटर सडक पनि तीनवटा प्याकेजमा ठेक्का गरेर काम अघि बढेको छ । उक्त तीनवटै प्याकेजको काम स्वच्छन्द–जोशी निर्माण सेवाले गरिरहेको मडैले जानकारी दिए । कैलालीको कान्द्रा नदीबाट सत्तिसम्म १३ किलोमिटर हुलाकी सडकको १५ प्रतिशत काम सकिएको इन्जिनियर मडैको भनाइ छ ।

उनले ककनीबाट कान्द्रा नदीसम्मको १८ किलोमिटर सडक निमार्णको जिम्मा २०७३ फागुनमै दिएको भए पनि उक्त सडक निर्माणमा ढिलाइ भइरहेको बताए । ‘त्यो खण्डमा करिब दुई किलोमिटर रुख कटानमा समस्या आउँदा केही समय रोकिए पनि अहिले सुचारु भइसकेको छ’, उनले भने, ‘मोहना पुलदेखि क्याम्पस रोडसम्मको साँढे ६ किलोमटर खण्डको कालोपत्र अन्तिम चरणमा पुगेको छ ।’


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया