Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल३३ करोड १३ लाख राजस्व संकलन

३३ करोड १३ लाख राजस्व संकलन


काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा ३३ करोड १३ लाख ६८ हजार दुई सय १८ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने पाँच लाख चार हजार पाँच सय ९७ सवारीसाधनलाई कारबाही गरी उक्त रकमबराबरको राजस्व संकलन गरेको हो ।

सोही आवमा ट्राफिक कार्यालयले लेन अनुशासन पालना नगर्ने १३ हजार आठ सय ९३, मादकपदार्थ सेवन गरी सवारी चलाउन ३३ हजार पाँच सय ९०, रातो बत्तीको पालना नगर्ने १८ हजार नौ सय ८४ र तीव्र गतिमा चलाउने १८ हजार चार सय ४७ सवारीसाधनलाई कारबाही गरेको छ । कार्यालयले अव्यवस्थितरूपमा फुटपाथमा पार्किङ गर्ने ४१ हजार नौ सय पाँच सवारीसाधनलाई कारबाही गरेको छ । यस्तै काठमाडौँ उपत्यकाभित्र भाडा ठगी गर्ने तथा अनियमितता गर्ने १० हजार दुई सय ९५ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले जानकारी दिए । सोही आवमा कार्यालयले प्रविधिको क्षेत्रमा विकास गरेको छ । पहिले ट्राफिक प्रहरी कार्यालयबाट मात्र लिने कागजपत्र लिने ठाउँ अहिले विस्तार गरी ३० स्थानबाट कागजपत्र लिने व्यवस्था मिलाएको हो ।

यस्तै ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको सवारी पार्किङलाई व्यवस्थित बनाउन अन्डरग्राउन्ड पार्किङभित्र रहेको डिस्को, सोरुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदामलगायत हटाउने भएको छ । कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी उपत्यकाको सवारी आवागमनलाई सुरक्षित, मर्यादित, व्यवस्थित र प्रविधियुक्त बनाउनका लागि सरोकारवाला निकायको सहयोगमा अन्डरग्राउन्डभित्रका संरचना हटाउन लागेको जानकारी दिएको हो । कार्यालयका प्रवक्ता दासले सवारी पार्किङ गर्ने अन्डरग्राउन्ड पार्किङभित्र डिस्को, सोरुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदामलगायत संरचना बनाउन उपत्यकाको ट्राफिक व्यवस्थापनमा असहजता आएको बताए । सडकमा पार्किङ भएका सवारीसाधन अन्डरग्राउन्डमा लगेर पार्किङ गर्दा सवारी व्यवस्थापनमा सहयोग पुग्ने बताउँदै उनले सरोकारवाला निकायको सहयोगमा अन्डरग्राउन्ड पार्किङलाई व्यवस्थित गर्ने जानकारी दिए ।

यस्तै ट्राफिक प्रहरीले फुटपाथ व्यवस्थापन, ट्राफिक प्रहरीको व्यवहार तथा आचरण सुधारका लागि ट्राफिक प्रहरीलाई अनुशासनसम्बन्धी कक्षा, काठमाडौँ उपत्यकाभित्र भत्किएका खाल्डाखुल्डी मर्मत सम्भारका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने, लेन अनुशासनलाई कडाइ गरिने तथा हर्न निषेधलाई थप कडाइ गर्ने भएको छ । पत्रकार सम्मेलनमा कार्यालय प्रमुख, प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले चक्रपथ वरपर जथाभावीरूपमा पार्किङ भएका सवारीसाधनलाई सम्बन्धित निकायको सहकार्यमा व्यवस्थित गरिने बताइन् ।

‘सवारीसाधन बढ्दा र सडक नबढ्दा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा थप चुनौती बन्दै गएको छ, यसलाई व्यवस्थित गर्नका लागि ट्राफिक प्रहरी अहोरात्र खटिरहेको छ’, उनले भनिन् । ट्राफिक कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप राम्रो बनाउनका लागि २२ स्थानमा २४ घन्टे ड्युटी, तीन सय २६ स्थानमा अस्थायी ड्युटी, ९३ स्थानमा पिक आवर ड्युटी, २६ मोबाइल कारबाही टोली, ४० स्थानमा दैनिक तीन घन्टा सवारी चेकिङ, ३६ स्थानमा जनपद प्रहरीसँग संयुक्त चेकिङको व्यवस्था मिलाएको जनाएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया