Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पताल बन्द हुने अवस्थामा

पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पताल बन्द हुने अवस्थामा


काठमाडौं । आर्थिक अभावका कारण पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पताल बन्द हुने अवस्थामा पुगेको छ । अस्पतालले खर्च धान्न नसक्ने भन्दै करारमा नियुक्त कर्मचारीलाई निकाल्न थालेपछि अस्पतालको सेवा प्रभावित भएको हो ।

भिमेश्वर नगरपालिका वडा नम्बर–३ रहेको अस्पतालमा दैनिक बिरामीको भिड हुनेगरेको थियो । हाल अस्पतालले दिँदै आएका उपचार सेवा धमाधम बन्द हुन थालेपछि बिरामी समस्यामा परेका छन् । चालू वर्ष सुरु भएसँगै अस्पतालमा कार्यरत करारका स्वास्थ्य कर्मचारीको करार नवीकरण नभएपछि विशेषज्ञ सेवा बन्द भएको छ । कन्सल्टेन्सीमार्फत करारमा विशेषज्ञ चिकित्सक राखेको अस्पतालले खर्च धान्न नसकिने भन्दै करार नवीकरण गरेको छैन । कर्मचारीको करार नवीकरण नगरेपछि आइतबारबाट शल्यक्रिया सेवा बन्द भएको अस्पतालले जनाएको छ । अस्पतालले हाल निःशुल्क सेवा दिइरहेको मातृशिशु कार्यक्रमको सीएस, हर्निया, एपेन्डिसाइडलगायतका शल्यक्रिया सेवा बन्द भएको छ । यसअघि ७२ जना कर्मचारी कार्यरत अस्पतालले सबै सेवा निःशुल्क दिँदै आएको थियो ।

६२ जनाको करार नवीकरण नगर्न बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले पत्र पठाएपछि अस्पतालका महत्वपूर्ण सेवा नै बन्द हुनपुगेको हो । चरीकोट प्राथमिक अस्पतालको रूपमा रहेकोे उक्त अस्पताललाई बागमती प्रदेश सरकारले पशुपति चौलागाईं स्मृति अस्पतालको रूपमा नामकरण गरेको थियो । अस्पतालले विगत छ महिनादेखि अस्पतालमा भर्ना हुने बिरामी र कुरुवाका लागि निःशुल्क खाना समेत दिनेगरेको थियो । अस्पतालमा निःशुल्क उपचार पाउने भएपछि ग्रामीण भेगका सम्पूर्ण बिरामी उपचारका लागि यहीँ आउनेगरेका छन् । तर अस्पतालले नियमित दिँदै आएको सल्यक्रिया सेवा एक्कासि बन्दा गर्दा बिरामी थप मारमा परेका छन् । चरीकोट अस्पतालमा दैनिक तीनदेखि नौ जनासम्म महिला सुत्केरीको लागि आउने गर्छन् । प्रदेश सरकारले अस्पतालका करार कर्मचारीलाई उपलब्ध गराउँदै आएको सेवा कटौती गरेपछि आर्थिक संकटमा अस्पताल पुगेको छ ।

हाल अस्पतालमा साबिकको प्राथमिक स्वास्थ्य केन्द्रका नौ जना प्रदेशमा समायोजन भएर आएका स्थायी दरबन्दीका कर्मचारी कायम छन् । यस्तै अस्पतालका लागि एक मेडिकल सुपरिन्टेन्डेन्ट स्वास्थ्य मन्त्रालयले पठाएको छ । यीमध्ये स्थायीतर्फका दुई जना चिकित्सक र एक जना नर्स अध्ययन बिदामा छन् । ‘प्रदेश सरकारले अस्पतालमा विशेषज्ञसहित ३२ जनाको दरबन्दी कायम गरिएको पत्र पठाएको अस्पतालका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेले बताए । करारमा कार्यरत विशेषज्ञसहित आठ जना चिकित्सकको करार अवधि थप नभएको कारण अस्पतालको शल्यक्रिया सेवा बन्द गर्नुपर्ने अवस्था आएको सूचना अधिकारी न्यौपानेले बताए ।

कर्मचारी अभावकै कारण अस्पतालमा रहेको डायलासिस मेसिन पनि विगत एक वर्षदेखि बन्द अवस्थामा रहेको छ । बागमती प्रदेश सरकारले मिर्गौलाका बिरामीहरूको निःशुल्क उपचारको लागि पठाएको डायलासिस मेसिन जनशक्ति र पूर्वाधार अभावमा प्रयोगविहीन अवस्थामा थन्किएको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया