दुधकोशी जलविद्युत्मा लगानी गर्न एडीबी तयार
सोलुखुम्ब । माथिल्लो सगरमाथाका तीन जिल्ला सोलुखुम्बु, ओखलढुंगा र खोटाङको भू–भागमा निर्माण हुनलागेको ६३५ मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्न एसियाली विकास बैंक (एडीबी) तयार भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडीबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडीबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा सम्मिलित टोलीले बुधवार गरेको आयोजनाको स्थलगत निरीक्षणको क्रममा एडीबीले आयोजनाका लागि लगानी गर्ने प्रतिबद्धता जनाएको हो । टोलीले आयोजनाको जलाशय क्षेत्र र विद्युत्गृहस्थलको निरीक्षण गर्दै बाँधस्थल खोटाङको रबुवा बजारमा पालिकाका जनप्रतिनिधिसँग अन्तरक्रिया गरेको थियो । कार्यक्रममा महानिर्देशक सुब्रमण्यमले आयोजना अगाडि बढाउन उच्च तहबाट भएको यो अन्तिम निरीक्षण भएको भन्दै एडीबीको नेतृत्वमा जतिसक्दो छिटो वित्तीय व्यवस्थापन गर्न लागिएको बताए । आयोजनालाई स्थानीयवासीबाट स्वीकार्ययता रहेको उल्लेख गर्दै उनले आयोजनाको प्राविधिक, वातावरणीय र सामाजिक पक्षलाई जतिसक्दो छिटो टुङ्गो लगाएर निर्माणमा लैजानुपर्ने बताए ।
आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित दुई अर्ब २० करोड अमेरिकी डलर (झन्डै दुई खर्ब २५ अर्ब रूपैयाँ) रहेको छ । यसमध्ये एक अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्नेगरी तयारी भइरहेको छ । एडीबीको नेतृत्वमा विभिन्न अन्तर्राष्टिय वित्तीय संस्थाहरूबाट आयोजनामा एक अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुनेछ । यसमध्ये एडीबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ । एडीबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले निर्णय प्रक्रियालाई तीव्रता दिन लगनशीलताका साथ काम गरिरहेको र नेपाल सरकारसँग बारम्बार वार्तामा संलग्न रहेको बताए ।
उनले दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजना ‘मेगा प्रोजेक्ट’ र सार्क क्षेत्रको अहिलेसम्मको सबैभन्दा ठूलो बाँध आयोजना भएको भन्दै स्थानीय समुदायमा धैर्यता राख्न आग्रह गरे । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालको विद्युत् प्रणालीका लागि दुधकोशी महत्वपूर्ण आयोजना भएकाले एक वर्षभित्रमा (सन् २०२४ डिसेम्बर) एडीबीको नेतृत्वमा वित्तीय व्यवस्थापन गर्ने गरी काम भइरहेको बताए । यसका लागि अहिले प्राविधिक, वातावरणीय र सामाजिक विषयहरूलाई अन्तिम रूप दिने काम भइरहेको उनको भनाइ थियो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिले आयोजना अगाडि बढ्न नसक्दा स्थानीय रूपमा विकास निर्माणका क्रियाकलाप ठप्प भएकाले आयोजनाका विषयमा रहेको अलमल तत्काल हटाउन आग्रह गरेका थिए । उनीहरूले आयोजनालाई अगाडि बढाउन स्थानीयरूपमा आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले आयोजनाको लामो अध्ययन चरणलाई तीव्रता दिई जग्गाको मुआब्जा वितरण र निर्माण कार्य तत्काल थालनी गर्नुपर्नेमा जोड दिए । शर्माले यस क्षेत्र भौगोलिकरूपमा दुर्गम तथा आर्थिकरूपमा अविकसित रहेको र यसै आयोजनाका कारण पुल, सडक निर्माणजस्ता पूर्वाधार विकासका विभिन्न आयोजनाहरू ठप्प भएकाले बाहिरी बसाइँसराइको दर बढ्दै गएको चिन्ता व्यक्त गरे । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले आयोजनाको काम चाँडो सुरु गर्न आग्रह गरिन् । मेयर राईले हलेसी तुवाचुङ नगरपालिका र खोटाङमा रहेको बसाइँसराइको प्रवृत्तिबारे जानकारी दिँदै आयोजना तत्काल सुरु भए बसाइँसराइको दरमा कमी आउनसक्ने सङ्केत गरिन् ।
खोटाङको रावबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले आयोजना छिटै सुरु हुनेमा आफू पनि विश्वस्त रहेको बताए । आयोजनालाई प्रभावित जिल्लाका हरेक व्यक्तिले सहयोग गर्न तयार रहेको उनले प्रतिबद्धता समेत जनाए । दुधकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विमला गुरुङले आयोजनाको ऐतिहासिक सन्दर्भ, मुख्य प्रस्तावित संरचना तथा आयोजनाको प्रगतिको वर्तमान अवस्थाका बारेमा जानकारी दिइन् । आयोजना निर्माणबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका तीन हजार एक सय ३९ घरधुरी प्रभावित हुनेछन् । जसमध्ये दुई सय ३८ घरधुरी पूर्ण दुई हजार नौ सय एक घरधुरी आंशिकरूपमा प्रभावित हुनेछन् । आयोजनाका लागि झन्डै ३० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । आयोजनाबाट वार्षिक तीन अर्ब ४४ करोड युनिट विद्युत् उत्पादन हुनेछ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
- प्रभु क्यापिटलका ग्राहकलाई मेरिना इम्पेक्समा छुट
- नेसनल लाइफको कोशीटप्पु भ्रमण कार्यक्रम
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया