Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाको कारण नेपालमा एकको मृत्यु, दुई सय ८१ जना संक्रमित

कोरोनाको कारण नेपालमा एकको मृत्यु, दुई सय ८१ जना संक्रमित


काठमाडौं, जेठ ४
कोरोना भाइरस कोभिड–१९ को कारण नेपालमा एकजनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार बेलुकी ८ः५० बजे विज्ञप्ति प्रकाशित गरी सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोनाको कारण मृत्यु भएको पुष्टि गर्दै नेपालमा कोरोनाको कारण मृत्यु भएको पहिलो घटनाभएको समेत जनाएका छन् ।

ती महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएको र २४ गते डिलिभरी भई २५ गते अस्पतालबाट डिस्चार्ज भएको जनाइएको छ । सिन्धुपाल्चोक घर गएपछि ज्वरो आएको, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराएको र स्वास्थ्य अवस्था जटिल बनेपछि धुलिखेल अस्पतालमा थप उपचारको लागि आउँदै गर्दा शनिबार उनको मृत्यु भएको जनाइएको छ । उनको मृत्युको बारेमा मन्त्रालयले थप अध्ययन र परीक्षण गरेर कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । तर, त्यसपछि पनि मन्त्रालयले थप अध्ययन गरेको थियो । अध्ययनमा उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएपछि उनको शवलाई शनिबार राति नै काठमाडौंस्थित पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा ल्याइएको थियो । सरकारले कोरोनाको कारण मृत्यु हुनेहरुको शव कसरी अन्त्येष्टि गर्ने भनेर कार्यविधि नै बनाएको कारण सोही कार्यविधिमा रहेर अन्त्येष्टि गरिएको हो ।

मृतकको शव धुलिखेलबाट नेपाली सेनाको टोलीले काठमाडौंमा ल्याएको थियो । कोरोना लागेका व्यक्तिको शव अन्त्येष्टिको बेला परिवारका सदस्यहरुले पनि छुन पाउँदैनन् । तर, आफ्नो संस्कारअनुसार टाढैबाट श्रद्धाञ्जली भने दिन पाइन्छ । मृतकको घर बाह्रबिसे नगरपालिका–९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका–७ र ८ लाई पने सिल गरिएको स्थानीय प्रशासनले जनाएको छ । नेपालभित्र एक जनाको मृत्यु भए पनि विदेशमा भने ७८ जना नेपालीको मृत्यु भइसकेको छ ।

यसैबीच, नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ८१ पुगिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये ३६ जना निको भएर घर फर्किएका छन् । शनिबार नेपाली सेनालाई पनि कोरोना लागेको पुष्टि भएको छ । यसअघि प्रहरीलाई पनि कोरोना लागेको पुष्टि भइसकेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

ताजा अपडेट