Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसहरी क्षेत्रमा जनसङ्ख्याको चाप बढ्नु चिन्ताको विषय : मन्त्री बस्नेत

सहरी क्षेत्रमा जनसङ्ख्याको चाप बढ्नु चिन्ताको विषय : मन्त्री बस्नेत


काठमाडौँ । मंगलबार राजधानीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा आयोजना गरेको जनसङ्ख्या र बसाइसराइ व्यवस्थापनको सबलीकरण सम्बन्धी परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्याको बसाइँसराइ रोक्नका लागि तिन वटै सरकार सजक हुनु पर्ने बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बस्नेतले विकासको न्यायोचित वितरण नभएका कारण बसाइसराइको चाप सहरी क्षेत्र र तराईमा बढेको र पहाडमा घटेको बताउँदै बेलैमा व्यवस्थापन गर्न नसकिए त्यसले समस्या निम्ताउने बताएका हुन् ।

जनसङ्ख्या व्यवस्थापन बहु सरोकारवाला मुद्दा भएको हुँदा यसमा राज्यका तिन वटै सरकारको सहकार्य आवश्यक छ । चिकित्सा शिक्षा पढ्न नपाएर धेरै जसो युवा विदेश पलायन भइरहेको दाबी गर्दै मन्त्री बस्नेतले निकट भविष्यमै चिकित्सा शिक्षा ऐन संशोधन गरेर नेपाल भित्रै पढ्न पाउने वातावरण बनाउने दाबी गरे ।

हिमाल र पहाडबाट जनसङ्ख्या सहरी क्षेत्रमा बसाइसराइ बढ्दै जाने र सहरी क्षेत्रमा जनसङ्ख्याको चाप थेग्नै नसकिने गरी बढ्नु भविष्यका लागि समेत चिन्ताको विषय भएकोले यसको समाधानमा अहिले देखि नै सरोकारवाला लाग्नु पर्नेमा मन्त्री बस्नेतले जोड दिए ।

राज्यले बसाईसराईलाई व्यवस्थित गर्न सके विकासले गति लिन सक्ने बताउँदै अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनकी प्रतिनिधि हेनेल फोर्सले खुला सिमानाका कारण पनि नेपालमा बसाइसराइ बढेको बताइन । कार्यक्रममा बसाइसराइ व्यवस्थित सम्बन्धी कार्यपत्र तथ्यांक कार्यालयका निर्देशक ढुन्डीराज लामिछानेले प्रस्तुत गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया