Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबेलायतमा नर्स लैजाने सम्झौता कार्यान्वयनमा

बेलायतमा नर्स लैजाने सम्झौता कार्यान्वयनमा


काठमाडौं । बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको करिब एक वर्षपछि कार्यान्वयनमा आएको छ । नेपाल सरकारले बेलयातको स्वास्थ्य क्षेत्रमा जान चाहने नेपाली नर्सको प्रारम्भिक सूची तयार गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार बेलायतको स्वास्थ्य क्षेत्रमा काम गर्न जान चाहने नेपाली नर्सहरूको प्रारम्भिक सूची तयार गरी अन्तरवार्ताको लागि बोलाइएको बताएको छ ।

विभागका निर्देशक गोपालराज तिमिल्सिनाले बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापना गर्ने सम्बन्धमा जारी भएको सूचनाबमोजिम विभागको अनलाइन ‘पोर्टल’मार्फत आवदेन दिएकामध्ये प्रारम्भिक सूची तयारी गरी त्यसमध्ये छनौट भएका व्यक्तिहरूलाई अन्तरवार्तामा सहभागी हुन आग्रह गरेको जानकारी दिए । पहिलो चरणमा एक सय जना पठाउने भनिए पनि ७१ जना मात्र छनौट भएको निर्देशक तिमिल्सिनाले बताए । छनौट भएका व्यक्तिहरूको यसै साता अन्तरवार्ता हुने निर्देशक तिमिल्सिनाले जानकारी दिए । नेपालस्थित बेलायती राजदूतवास, लैनचौरमा अन्तरवार्ता हुनेछ । अन्तरवार्ता तीन दिनसम्म सञ्चालन हुनेछ । विभागले छनौट भएका नेपाली नर्सहरूको सूची सार्वजनिक गरेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपालस्थित बेलायती राजदूतवासबीच एक वर्षअघि नेपालबाट दक्ष नर्सलाई बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारी दिने विषयमा सम्झौता भएको थियो । मन्त्रालयले पहिलो चरणमा एक सयदेखि दुई सय जनासम्म दक्ष नर्स बेलायत लैजाने तयारी गरेको थियो । सोहीअनुरूप नै निवेदन माग गरे पनि मापदण्ड पुगेकोहरूलाई छनौट गर्दा ७१ जना छनौट भएका हुन् ।

बेलायत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअनुसार नेपाली दक्ष नर्सलाई उचित पारिश्रमिकसहित रोजगारी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । सोहीअनुरूप मन्त्रालयले बेलायतको रोजागरीको विषयमा बेलायतमा नर्स पठाउनको लागि आवश्यक ढाँचा मन्त्रिपरिषद्बाट स्वीकृत गराई कार्यान्वयनमा ल्याएको थियो । मन्त्रालयका अधिकारीहरूका अनुसार बेलायतमा नर्स रोजागारीको विषयमा नेपाल सरकार र बेलायत सरकारबीच सम्पन्न श्रम समझदारीअनुसार बेलायतमा नेपाली नर्सहरू पठाउनेसम्बन्धी छनौट कार्यलाई व्यवस्थित र प्रभावकारीरूपमा अगाडि बढाउने समझदारीको कार्यान्वयन ढाँचा मन्त्रिपरिषद्बाट स्वीकृत भई कार्यान्वयनसम्बन्धी प्रोटोकलमा द्विपक्षीय सम्झौताअनुसार छनौटका लागि सूचना प्रकाशन गरिएको थियो । सोही सूचनाअनुरूप नै अहिले विभाग अघि बढेर नेपाली नर्सलाई बेलायत पठाउने तयारीमा लागेको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरले बताए ।

वैदेशिक रोजगारी भन्नेबित्तिकै खाडी र मलेसियाको रोजगारीको बुझाइ रहेकोमा आकर्षक सेवासुविधाका कारण आकर्षक मुलुक मानिने बेलायतको रोजगारीमा जान नेपालीहरू आत्तुर थिए । बेलायती पक्षले भने नेपाली नर्स लैजान आफूहरू तयार रहेको बताउँदै आएको थियो । बेलायतको स्वास्थ्य क्षेत्रमा नर्स अभाव भएको बताइन्छ । नर्स रोजगारीको बारेमा तत्कालीन नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले पनि दक्ष नर्सहरूलाई उचित सेवा–सुविधासहित स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर दिने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । सोहीअनुरूप नै नेपाली पक्ष पनि दक्ष नर्स बेलायत पठाउने गृहकार्य अघि बढाउँदै आएका थिए ।

मन्त्रालयका अधिकारीहरूले शून्य लागतमा नर्सहरू बेलायत जान पाउने तथा आकर्षक आम्दानी हुनेहुँदा मन्त्रालयको प्राथमिकतामा बेलायतको रोजगारी परेको सार्वजनिक गर्दै आएका थिए । नेपालबाट प्रत्येक वर्ष एकदेखि दुई हजार नर्स विदेश गइरहेको अवस्थामा व्यवस्थित तरिकाले उपयुक्त मुलुकमा पठाउन सक्दा राज्यलाई समेत लाभ हुनेछ । नेपाल नर्सिङ परिषद्का अनुसार अहिले नेपालमा ७८ हजार चार सय ९६ नर्स, एक हजार पाँच सय सात विशेषज्ञ र ३७ हजार दुई सय ९७ अनमी छन् ।

नेपाल सरकार र बेलायत सरकारबीच भएको सम्झौताअनुरूप बेलायतमा जाने नर्सले मासिक चार लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् । जसले गर्दा उनीहरू आकर्षित भएका हुन् । मन्त्रालयका अनुसार बेलायतको ‘नर्सिङ एन्ड मिडवाइफरी काउन्सिल (एनएचएस)’ मा दर्ता भएपछि मात्रै बेलायतको कानुनअनुरूप उक्त तलब सुविधा नेपाली नर्सले पाउनेछन् ।

नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका २० देखि ४५ वर्ष उमेरका नर्सहरू भर्ना प्रक्रियामा सहभागी हुन पाउनेछन् । भर्ना प्रक्रियामा स्टाफ नर्स, बीएन, बीएस्सी नर्सिङ, एमएन सहभागी हुन पाउनेछन् । प्रक्रियामा सहभागी हुन अंग्रेजी शिक्षा आईएलटीएसमा करिब सात अंक र ओईटीमा ‘बी’ अंक ल्याउनुपर्नेछ । हाल बेलायत जान चाहने नर्सहरू परीक्षामा सहभागी भइरहेका छन् । नेपाली नर्सकोे छनौट, पदस्थापना र सेवा–सुविधासम्बन्धी मापदण्डमा आठवटा विषय उल्लेख समेत गरिएकोे थियो । जसमा स्वास्थ्यकर्मीको छनौट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रियाबमोजिम हुने, नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एनएचएस)मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइनेछ ।

विश्व स्वास्थ्य संगठनको हेल्थ वर्कर सपोर्ट एन्ड सेफगार्ड लिस्ट २००० मा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको संख्या र प्रकारका सम्बन्धमा दुवै सरकारले संयुक्त निर्णय गर्ने कुरा सम्झौतामा उल्लेख छ । नेपालको स्वास्थ्य क्षेत्रको विकास र सुदृढीकरणमा बेलायत सरकारको योगदान रहँदै आएकोमा आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी हुने उल्लेख छ ।

परीक्षणको रूपमा पहिलो चरणमा नेपाली नर्सहरूलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई इम्प्लिमेन्टेसन प्रोटोकल स्पस्ट व्यवस्था गरिनेछ । यस्तै, नियुक्ति प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवं रोजगारीका लागि छनौट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने, परीक्षण चरणको अन्त्यमा समग्र स्वास्थ्यकर्मी नियुक्ति प्रक्रियाको मूल्यांकन गरिने र थप नियुक्ति तथा विस्तारका सम्बन्धमा आवश्यक निर्णय लिइने र समझदारीपत्र, नियुक्ति प्रक्रिया र अन्य जानकारी मन्त्रालयको वेबसाइटमार्फत जानकारी लिनसक्ने व्यवस्था गरिएको छ ।

यसअघि पनि व्यक्तिगत प्रयासमा नेपाली नर्सहरू बेलायतको स्वास्थ्य क्षेत्रमा काम गर्न गइसकेका छन् । बेलायत र श्रम मन्त्रालयले बेलायतमा नर्सको रोजागरीलाई लिएर देखाएको प्रतिबद्धताअनुरूप काम नभएपछि नर्सहरू व्यक्तिगत प्रयासमा बेलायत पुगेको विभागका अधिकारीहरू स्वीकार गर्छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया