Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यमा नयाँ कीर्तिमान


काठमाडौं । केही दिनयता सुनको मूल्य लगातार बढेको छ । नेपाली बजारमा मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार सात सय रुपैयाँमा कारोबार भयो । जुन मूल्य अहिलेसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य तीन दिनयता लगातार बढेको छ । मंगलबार साँझ अन्तर्राट्रिय बेन्चमार्कमा सून प्रतिआउन्स दुई हजार ३७ डलरमा कारोबार भइरहेको थियो ।

रुस–युक्रेन युद्धका कारण गतवर्षदेखि बढ्दो क्रममा रहेको सूनको मूल्य अहिले इजरायल र हमासबीच युद्ध भएपछि फेरि बढ्न थालेको छ । इजरायल र हमासबीच केही दिनका लागि युद्धबिराम गरिए पनि युद्धको अनिश्चितताका कारण विश्वभरका लगानीकर्ता त्रसित बनेका छन र सुनमा लगानी बढाएका छन् । यसबाहेक विश्व आर्थिक मन्दी अझै कायम रहने संकेत देखा परेपछि व्यक्तिगत लगानीकर्तासहित केही देशका केन्द्रीय बैंकहरुले समेत आफ्नो लगानीलाई अन्य एसिटबाट सुनतर्फ मोड्न थालेपछि सुनको भाउ बढेको हो ।

सुनको मूल्य बढ्नुको पछाडिको अर्को कारण भनेको चीन हो । चीनको केन्द्रीय बैंकले गत साता १७ दशमलव छ टन सुन खरिद गरेर भण्डारण गरेको छ । यसले अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढायो । माग बढेपछि मूल्य बढ्ने नै भयो । यस्तै, केही साताअघि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्वले ब्याजदर बढाउने निर्णय गर्ने चर्चा चुलिएको थियो, तर उसले तत्कालको लागि ब्याज नबढाउने घोषणा गरेपछि लगानीकर्ताले डलर बिक्री गरी सुन किन्न थाले । यसले सुनको माग बढायो । सामान्यतया कुनै पनि वस्तुको माग बढ्दा मूल्य बढ्ने सिद्धान्तले गर्दा पनि सुनको मूल्य निरन्तर उकालो लागेको हो । यसको असर नेपाली बजारमा पनि परेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यका अनुसार सुनको मूल्य बढ्दै गएपछि नेपाली बजारमा भने गहना किन्नेभन्दा पनि पुरानो सुन बेच्नेहरुको संख्या बढेको छ । विगतका वर्षमा लगनको महिना मंसिरमा दैनिक ५० किलोसम्मको सुनका गरगहना माग हुनेगरेकामा अहिले २० किलो हाराहारी मात्रै रहेको शाक्यले बताए ।

विवाहको लगन भएका बेला सुनको माग घट्नुको प्रमुख कारण भने मूल्यवृद्धिभन्दा आर्थिक मन्दी देखिएकोे शाक्यले बताए । महँगीले अधिकांश नेपालीलाई दैनिक रोजीरोटी चलाउन गाह्रो भइरहेको अवस्थामा सुनको मूल्य बढेकोले किन्न सक्ने क्षमता नरहेको व्यवसायीहरु बताउँछन् । बरु मूल्य बढेका बेला आफूसँग भएका सुनका गहना बेच्नेहरु बढेका छन् । अहिलेको मन्दीको समयमा नेपालमा मुस्किलले कुल जनसंख्यामा शून्य दशमलव पाँच प्रतिशत मानिसले मात्रै सुन किन्न सक्ने शाक्यले बताए ।

न्युरोडको बिशाल बजारमा रहेका सुन पसलहरुमा ग्राहकको भिड देख्न सकिन्छ, तर त्यसलाई आधार मानेर सुनको बिक्री बढ्यो भन्नु मुर्खता हुने शाक्यले बताए । बजारमा सुन किन्न भन्दा पनि हेर्न र बुझ्न आउनेहरु धेरै रहेका छन् । अधिकांशले पुराना गरगहना बिक्री गर्न ल्याएका छन् । ‘पाँच सय जना पसलमा छिरे भने ५० जनाले पनि गहना किन्दैनन, अनि कसरी सुनको बजार बढ्यो भन्ने’, शाक्यले भने, ‘जब न्युरोडका सुन पसलको व्यापार खराब भएको बेला देशभरका २५ हजार सुनचाँदी पसलको हालत के होला ?’

सुनको मूल्य यसैगरी बढ्ने हो भने, सुनका गहना आम नेपालीको पहुँच भन्दा निकै माथि पुग्ने र अहिले कै अवस्थामा सुनको मूल्य कहिले स्थिर हुन्छ, भन्न गाहे हुने शाक्यले बताए । उनका अनुसार मूल्य वृद्धि यही गतिमा जाने हो भने अबको छ महिनाभित्र सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँ नाघ्न सक्छ ।

सामान्य तया डलर बलियो हुँदा सुनको मूल्य घट्ने हुन्छ भने डलर कमजोर हुँदा सुनको मूल्य बढ्छ । तर अहिले इजरायल–प्यालेस्टाइनबीचको युद्धका कारण डलर र सुन दुबै महँगो बन्दै गएका छन् । मंगलबार बिहान प्रतिआउन्स दुई हजार १४ डलरमा कारोबार भइरहेको सुन साँझ दुई हजार ३७ डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको यस्तो वृद्धिले बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढ्नसक्ने आकलन गर्न सकिन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया