Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमोरङ व्यापार संघले ट्रेड एक्स्पो गर्ने

मोरङ व्यापार संघले ट्रेड एक्स्पो गर्ने


विराटनगर । मोरङ व्यापार संघले ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । संघले आगामी पौष ६ गतेदेखि १६ गतेसम्म विराटनगरमा ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ को आयोजना गर्ने तयारी गरेको हो ।

मुलुकको विद्यमान शिथिल आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै स्वदेशी उद्योग, व्यवसायको प्रवर्द्धन गर्ने मेलाको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए । मेलामा कोशी प्रदेशका अधिकांश वस्तुहरूसहित अन्तरप्रादेशिक उत्पादन र सेवाहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार, स्वदेशी एवम् विदेशी लगानीकर्ताहरूबीच व्यावसायिक सम्बन्ध र सहकार्य स्थापना हुने विश्वास गरिएको छ । यसका साथै प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारलगायत कैयौं प्रवर्द्धनात्मक कार्यहरू गराउने मेलाको प्रमुख उद्देश्य रहेको अध्यक्ष रिजालले बताए । औद्योगिक तथा व्यावसायिक क्षेत्रको विकास एवम् प्रवर्द्धनार्थ विशेष सहयोग पु-याउने अभिप्रायले संघले विगतदेखि नै एक्स्पो सञ्चालन गर्दै आएको जनाएको छ ।

यस वर्षको एक्स्पोले नयाँ र विद्यमान उत्पादन र सेवाहरू प्रदर्शन गर्न, स्वदेशी र विदेशी उत्पादनहरू प्रदर्शन गर्न, बिक्री गर्न र व्यापार र लगानीको सम्भावनाहरूबारे छलफल गर्नेछ । मेलामा नेपालमै सबैभन्दा ठूलो जर्मन प्रविधिको ह्याङ्गर र २५० अक्टानम स्टल रहनेछन् । नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरूका अतिरिक्त यस प्रदेशका महत्व झल्किने कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनहरूको प्रदर्शनी मेलामा रहने बताइएको छ । त्यसबाहेक छिमेकी राष्ट्र भारतलगायत बंगलादेश, पाकिस्तानसहितका देशबाट उत्पादित वस्तुहरूको उत्पादनकर्ता र उपभोक्ताबीच सुमधुर सम्बन्ध कायम गराइने थलोको रूपमा समेत मेला बन्ने आयोजकको दाबी छ ।

मेलामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामग्रीहरू सेल्फी जोन, किड्स जोन पनि रहनेछ । साथै, मुख्य आकर्षणको रूपमा नेपाली कलाकृतिमा आधारित प्रवेशद्वार निर्माण गरिने छ । मेलामा स्वदेश र छिमेकी मुलुकबाट करिब चार लाख दर्शकको आगमन हुने अपेक्षा आयोजकको छ । स्थानीयस्तरमा आयोजना हुने यसपटकको एक्स्पोमा पनि संघीय सरकार, कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका, दुहबी नगरपालिका, कटहरी र बुढीगंगा गाउँपालिका, नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं, नेपाल उद्योग परिसंघ, उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, उद्योग संगठन मोरङ, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ, विराट व्यापार संघ, मोरङ अटोमोबाइल डिलर्स एसोसिएसनलगायत विभिन्न व्यावसायिक संघ संस्थाहरूको समन्वय तथा सहयोग रहने छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया