Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगोकर्णेश्वर उत्तरगयामा तीर्थ श्राद्ध गर्नेको भीड

गोकर्णेश्वर उत्तरगयामा तीर्थ श्राद्ध गर्नेको भीड


काठमाडौँ । प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने गया श्राद्ध गर्न बिहीबार बिहानैदेखि राजधानीको गोकर्णेश्वर उत्तरगया तीर्थमा भक्तजनको भीड लागेको छ ।

गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा बिहानैदेखि भक्तजनको भीड लागेको जानकारी दिए । विगतका वर्षमा भन्दा यस वर्ष पौषकृष्ण औँसीमा भक्तजनको बढी भीड लागेकाले नेपाल मेडिकल कलेजबाट माथि जाने सवारी पनि जाममा परेको उनले सुनाए ।

बिहीबार पितृलाई दक्षिणायनको अन्तिम औँसीमा श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए ।

उत्तरायण सुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ । वैदिक सनातन धर्मावलम्बी अनुसार सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम छ । सौरमासअनुसार माघेसङ्क्रान्तिदेखि र चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण सुरु हुन्छ ।

यसै आधारमा आज राजधानीको गोकर्णेश्वर उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गमस्थित बेत्रावतीलगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ ।

सहप्राध्यापक सापकोटाका अनुसार आजको श्राद्ध दक्षिणायनको अन्तिम बिदाइका रुपमा गर्ने गरिएको दर्शश्राद्ध अर्थात् घरतिरका तीन पुस्ता र मामाघरतिरका तीन पुस्तालाई पिण्ड दिइ गरिने श्राद्ध शास्त्रीयरुपमा गर्नुपर्ने दिन पौष कृष्ण औँसी हो । तर व्यवहारमा सोह्रश्राद्धमै यो श्राद्ध गर्न थालिएको छ ।

शास्त्रअनुसारको व्यवहार कार्यान्वयनमा आएको छैन । श्राद्ध भनेको श्रद्धा हो । महालयमा कसैकसैले सबै पितृलाई पिण्ड दिए पनि छुट्टै ब्राह्मण स्थापना गर्नुपर्ने विधि भने पूरा हुने गरेको छैन । यसरी श्राद्ध गर्दा घरमा नित्य कागलाई भात खुवाएजस्तो मात्र भई विधि नपुगेको धर्मशास्त्रविद्को तर्क छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया