Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअफ्रिकन स्वाइन फिभर: नेपालमा पहिलो पटक देखिएको डेढ वर्षपछि पुन: कैयौँ जिल्लामा सङ्क्रमण पुष्टि

अफ्रिकन स्वाइन फिभर: नेपालमा पहिलो पटक देखिएको डेढ वर्षपछि पुन: कैयौँ जिल्लामा सङ्क्रमण पुष्टि


काठमाडौं,गत वर्ष हजारौँको सङ्ख्यामा सुँगुर, बुङ्गुर तथा बँदेलको मृत्युको कारक बनेको अफ्रिकन स्वाइन फिभर यस वर्षसमेत नेपालका कम्तीमा पाँच जिल्लामा पुष्टि भएसँगै अधिकारीहरूले सजगता अपनाउन सूचित गराएका छन्।

पशु सेवा विभागका अनुसार ललितपुर, तनहुँ, कास्की, लमजुङ जिल्लाका जनावरमा यस रोग पुष्टि भएको छ।

अन्य केही जिल्लाबाट समेत रोग पुष्टिको खबर आउन थालेको बताइएको छ।

२०७९ सालको जेठ महिनामा पहिलो पटक नेपालमा देखा परेको यस रोग यसपछि २८ जिल्लामा देखा परिसकेको जनाइएको छ।
यो रोग पशुबाट मानिसमा भने सर्दैन।
पशु सेवा विभागका प्रवक्ता डा चन्द्र ढकालले यो रोग उच्च सङ्क्रामक रहेको बताउँदै समयमै सतर्क हुन आवश्यक रहेको बताउँछन्।

उनी भन्छन्: “गत वर्ष धेरै जिल्लामा सुङ्गुर-बुङ्गुर मरेर ठूलो क्षति पुगेको थियो। राष्ट्रिय निकुञ्जमा रहेका बँदेलसम्म यसबाट प्रभावित बनेका थिए।”

लक्षण
सङ्क्रमित हुने सुँगुर, बुङ्गुर तथा बँदेल प्रजातिमा १०४ देखि १०७ डिग्री सेल्सिअससम्म ज्वरो आउने बताइएको छ।

त्यसबाहेक कान, पुच्छर र पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, छेर्ने, लड्खडाउने, तुहिने र ज्यानै जाने अवस्था रहन्छ।

रोगी बुङ्गुरसँगको संसर्ग र तिनको ओसारपसारमा प्रयोग हुने वस्तुहरूमार्फत् यस रोग सर्ने बताइएको छ।

पशु सेवा विभागका डा चन्द्र ढकालले नेपालमा धेरैतिर सुँगुर-बुङ्गुरहरू घर आसपास फर्म नबनाइकनै पाल्ने गरिएकाले समेत सङ्क्रमण फैलने उच्च जोखिम रहेको औँल्याउँछन्।

“यस रोगको कुनै उपचार विधि र खोप नभएका कारण यसबाट समयमै चिन्तित हुनुपर्छ,” उनी भन्छन्।

“अन्यथा नेपालमा पोल्ट्री व्यवसायपछि सबैभन्दा राम्ररी फस्टाएको बङ्गुरपालन व्यवसाय सङ्कटमा पर्न सक्छ। रैथाने तरिकाबाट धेरै समुदायमा बङ्गुरपालन हुँदै आएको छ।”
विभागका अनुसार नेपालमा बङ्गुरको सङ्ख्या झण्डै १५ लाख हाराहारीमा छ।

“मानवीय जोखिम नरहे पनि उच्च सङ्ख्यामा सुँगुर-बङ्गुरको मृत्यु हुँदा त्यस र त्यसमा आश्रित उद्योग नै सङ्कटमा पर्ने भएकाले चनाखो हुन आवश्यक छ।”

नियन्त्रण कसरी?
केही दशकअघिसम्म अफ्रिकामा मात्र पाइने गरेको यस रोग पछिल्ला वर्षमा युरोप र एशियामा देखिन थालेको पाइन्छ।

“विगत केही वर्षमा भारत र चीनमा बारम्बार प्रकोपका रूपमा यो रोग देखिन थालेको हो,” विभागका ढकाल भन्छन्।

“नियन्त्रणका लागि क्वारन्टीनका उपाय, निगरानी र जनचेतना फैलाउने काम महत्त्वपूर्ण छ। जैविक सुरक्षा नै यसको उपाय हो।”

फार्ममा जैविक सुरक्षाको उपाय भनेर उनले बङ्गुरलाई छाडा छोडेर नपाल्ने, बङ्गुरलाई जङ्गली बँदेलसँग सम्पर्कमा आउन नदिने, अनावश्यक मानिसहरू र वस्तुलाई फर्ममा आउन नदिने, होटल-रेष्टुराँका फ्याँकिएका खानेकुरा नखुवाउनेजस्ता उपाय अपनाउनुपर्ने बताउँछन्।

नेपाल पशु चिकित्सा परिषद्का पूर्वसदस्य डा शिशिर भण्डारीले नेपालमा सुँगुर-बङ्गुर प्रजातिका जनावरमा मात्र लाग्ने क्लासिकल स्वाइन फिभर समेत देखा परिसकेको अवस्थामा त्यसको मिहिन जाँच हुने क्षमताहरू विकास गर्नुपर्ने बताउँछन्।

“लक्षणका हिसाबले दुवैको स्वरूप उस्तै हुन्छ र दुवै उच्च सङ्क्रामक छन्,” डा भण्डारी भन्छन्।

“कुनै एउटा फर्ममा एउटा सुँगुर-बङ्गुरमा यो रोग देखियो भने त्यसले कम्तीमा त्यस फर्म पूरा सखाप पार्ने जोखिम भएकाले यस रोगको आर्थिक भार निकै उच्च छ।”

अधिकारीहरूले हाल सङ्क्रमण देखिएका ठाउँमा सुँगुर-बङ्गुर ओसारपसारमा रोक लगाइएको बताएका छन्।

हालसम्म किसानले दिएका सूचनाको आधारमा सङ्क्रमण पुष्टि भइरहे पनि अब सरकारले सातवटै प्रदेशका पशु कार्यालयहरूलाई सजग गराएको छ।

सङ्क्रमण पुष्टि भइसकेका ठाउँमा विभागले थप नमूना सङ्कलन र परीक्षणका लागि प्राविधिक टोली पठाएको अधिकारीहरू बताउँछन्।

ढकाल थप्छन्: “सबै पक्ष समयमै सजग हुन आवश्यक छ। यो छिटै फैलने रोग भएकाले मृत्युदर उच्च हुनसक्छ।”

सङ्क्रमणको जोखिम कहिलेसम्म?
सङ्क्रमित भाइरस लामो समयसम्म सङ्क्रामक पदार्थमा रहिरहन सक्ने भन्दै त्यसको ओसारपसार हुँदा समेत यस भाइरस फैलने अधिकारीहरू बताउँछन्।

सङ्क्रमित जनावरको मृत्युदर शतप्रतिशतसम्म भएकाले सङ्क्रमण देखा परेका ठाउँमा पूर्ण रूपमा जीवित जनावर र तिनको मासुको ओसारपसार रोक्न आवश्यक हुने डा शिशिर भण्डारीको भनाइ छ।

“स्वाइन फ्लूका हकमा आसपासका कुखुरा फर्ममा पालिएका कुखुराहरू समेत मार्नुपर्ने अवस्था हुन्छ। तर यसमा सावधानी अपनाउँदा एउटा फर्मबाट अर्कोमा फैलन रोक्न सकिने ठानिन्छ,” पशु चिकित्सक डा भण्डारी भन्छन्।

“तर यो निकै सङ्क्रामक रोग भएकाले सावधानी अपनाउन नसक्दा बङ्गुर उद्योग नै धराशयी गराउन सक्ने जोखिम रहन्छ। बङ्गुरबाटै फैलने स्वाइन फ्लू मानिसमा समेत सर्ने भए तापनि यसको असर भने मानिसमा पर्दैन।”

कुखुरामा प्रकोप देखा पर्दा क्षतिपूर्ति दिने सरकारी व्यवस्था भए पनि हालसम्म बङ्गुरमा त्यो नरहेको बताइन्छ।

पशु सेवा विभागका डा चन्द्र ढकालले फ्रोजन मासुमार्फत् यस भाइरस धेरै पछिसम्म रहन सक्ने अवस्था रहेकाले त्यो समेत रोग सार्ने माध्यम हुनसक्ने भन्दै त्यसतर्फ समेत सजग रहनुपर्ने बताए।

नेपालमा आयात-निर्यात हुने बङ्गुरको मासुको परिणाम उल्लेख्य नभए पनि सङ्क्रमण देखा परिसकेको अवस्थामा देशभित्रै प्रभावकारी उपाय चाल्न आवश्यक हुने जानकारहरूको मत पाइन्छ।

प्रवक्ता ढकाल थप्छन्: “केही नाकाहरूबाट मासु ओसारपसार भइरहेको पाइन्छ। ठूला होटलहरूमा सानो सङ्ख्यामै भए पनि प्रशोधन गरिएको बङ्गुरको मासु पनि आएको पाइन्छ।”
(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया