Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररफाहमा इजरेली आक्रमणको योजनाप्रति अन्तर्राष्ट्रिय समुदायको कडा चेतावनी

रफाहमा इजरेली आक्रमणको योजनाप्रति अन्तर्राष्ट्रिय समुदायको कडा चेतावनी


काठमाडौं,प्यालेस्टिनी शरणार्थीहरूले भरिएको दक्षिणी गाजास्थित रफाह सहरमा इजरेली आक्रमणको योजनाबारे अन्तर्राष्ट्रिय चेतावनीहरू बढिरहेका छन्।

ब्रिटिश विदेशमन्त्री डेभिड क्यामेरोनले इजरेली योजनाका कारण “त्यस क्षेत्रमा आश्रय लिइरहेका गाजाका आधाभन्दा बढी जनसङ्ख्यालाई असर पर्न सक्ने” बताएका छन्।

डच विदेशमन्त्री हान्क ब्राउन्स स्लटले इजरेली योजनाले “धेरै आम नागरिकको ज्यान जानसक्ने” बताइन्।

साउदी अरबले रफाहमा आक्रमण भए त्यसको परिणाम “धेरै गम्भीर हुने” चेतावनी दिएको छ।
गाजामा शासन गरिरहेको हमासले त्यहाँ “दशौँ हजार” हताहत हुन सक्ने बताएको छ।

गाजाको अवस्था
गत अक्टोबर ७ मा हमास बन्दुकधारीहरूले दक्षिणी इजरेलमा १,२०० जना भन्दा बढी मारिने गरी आक्रमण गरेपछि इजरेलले गाजामा निरन्तर हमला गरिरहेको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा भएको इजरेली हमलामा हालसम्म २७,९०० जना भन्दा बढी मानिसहरू मारिएका छन् भने कम्तीमा ६७,००० जना घाइते भएका छन्।

अधिकांश गजावासीहरूले अक्टोबरयता कम्तीमा एक पटक आफ्नो घर छाडेर शरण लिन रफाहमा पुग्नु परेको छ।
इजरेली योजना
इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शुक्रवार हमासविरुद्धको नयाँ विस्तारित आक्रमणबारे घोषणा गरेपछि अन्तर्राष्ट्रिय समुदायबाट ती चेतावनीहरू आएका हुन्।

उनले शुक्रवार हमासविरुद्ध नयाँ कारबाही गर्नुपूर्व उक्त सहरबाट सर्वसाधारणलाई बाहिर निकाल्ने तयारी थाल्न इजरेली सेनालाई आदेश दिएका छन्।

“हामासको अन्त्य नगरी र रफाहस्थित हमासका चारवटा बटालियनलाई त्यसै छाडेर युद्धको लक्ष्य हासिल गर्न असम्भव छ। रफाहमा हुने तीव्र गतिविधिका कारण त्यहाँका नागरिकहरूलाई लडाइँ हुने क्षेत्रबाट खाली गर्न आवश्यक रहेको कुरा स्पष्ट छ,” नेतान्याहुको कार्यालयले भनेको छ।

उनले हमासको पछिल्लो युद्धविरामसम्बन्धी प्रस्ताव र त्यसका सर्तहरूलाई पनि अस्वीकार गरे।
अमेरिका र ईयूले के भने?
गाजा युद्धको हिस्साका रूपमा रफाहमा गरिने आक्रमण “विपत्तिपूर्ण” हुने भन्दै अमेरिकाले इजरेललाई पहिले नै चेतावनी दिइसकेको छ।

इजरेली योजनाप्रति युरोपेली सङ्घ (ईयू) र संयुक्त राष्ट्र सङ्घले पनि चिन्ता व्यक्त गरेका छन्।

सहायता समूहहरूले इजिप्टको सीमामा रहेको उक्त सहरबाट सबैलाई बाहिर निकाल्न सम्भव नभएको बताएका छन्।

गाजा स्ट्रिपका अन्य भागमा भएका इजरेली हमलाबाट बच्न शरण खोज्दै झन्डै १५ लाख प्यालेस्टिनीहरू रफाहमा पुगेको ठानिएको छ। अधिकांश प्यालेस्टिनीहरू रफाहमा पालमुनि बस्दै आएका छन्।
ब्रिटेन के भन्छ?
सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै क्यामेरोनले “रफाहमा हुनसक्ने सैन्य आक्रमणको सम्भावनाप्रति” गहिरो चिन्ता व्यक्त गरेका छन्।

उनले भनेका छन्, “त्यहाँ सहायता पुर्‍याउन र बन्धकहरूलाई मुक्त गर्नका लागि तुरुन्त युद्धविराम गर्ने कुरालाई प्राथमिकता दिनुपर्छ र त्यसपछि दिगो तथा स्थायी युद्धविरामतर्फ अघि बढ्नु पर्छ।”

यसैबीच डच विदेशमन्त्री स्लटले रफाहको अवस्थालाई “अति चिन्ताजनक” भनेकी छन्।

“गाजाका धेरै सर्वसाधारण नागरिकहरू दक्षिणी क्षेत्रतर्फ भागेका छन्। त्यस्तो घना जनसङ्ख्या भएको क्षेत्रमा व्यापक सैन्य कारबाहीले धेरै सर्वसाधारणको ज्यान जानुका साथै ठूलो मानवीय विपत्ति निम्त्याउने छैन भन्न सकिन्न। यो अनुचित कार्य हो,” उनले भनिन्।

साउदी विदेश मन्त्रालयले शनिवार एउटा विज्ञप्ति जारी गर्दै “गाजा स्ट्रिपको रफाह सहरलाई लक्षित सैन्य कारबाही नगर्न” इजरेललाई चेतावनी दिएको छ।

त्यसलाई उसले “क्रूर इजरायली आक्रमणबाट भाग्न बाध्य भएका लाखौँ प्यालेस्टिनी नागरिकका लागि आश्रयको अन्तिम उपाय” भएको पनि स्मरण गराएको छ।

शनिवार पनि साउदी अरबले “तत्काल युद्धविराम हुनुपर्ने” माग दोहोर्‍याएको छ।

पछिल्ला घटनाहरू:
रफाहमा इजरेली हवाई आक्रमणमा कम्तीमा पाँच जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ।
इजरेल डिफेन्स फोर्स (आईडीएफ)ले आफ्नो वायुसेनाले गाजाको दक्षिणी सहरमा हमासका दुई जना कार्यकर्तालाई मारेको बताएको छ।
आईडीएफले प्यालेस्टिनी शरणार्थीका लागि राहत एजेन्सी (यूएनआरडब्लूए) ले चलाएको एउटा विद्यालय नजिकै एउटा सुरुङको मुख फेला पारेको बताएको छ। त्यो उक्त निकायको मुख्यालय मुनि “भूमिगत आतङ्कवादी सुरुङ”तर्फ गएको उसको दाबी छ।
उक्त निकायका प्रमुख फिलिप लाजारिनीले एजेन्सीको कार्यालय नजिकै हमासको सुरुङ रहेको जानकारी भएको कुरालाई अस्वीकार गरेका छन्।
गत महिना गाजा सहरमा बेपत्ता भएकी तथा इजरेली ट्याङ्कको हमलामा परेकी ६ वर्षीया बालिका आफ्ना कैयौँ आफन्त र दुई जना स्वास्थ्यकर्मीसँगै मृत फेला परेकी छिन्।
बीबीसीले युद्धको क्रममा गरिएका धेरै दाबीहरूलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया