Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारन्युयोर्कमा मेयर चिरिबाबु महर्जन सम्मानित

न्युयोर्कमा मेयर चिरिबाबु महर्जन सम्मानित


न्युयोर्क । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई न्युयोर्कमा नेवा गुठी न्युयोर्कले भव्य स्वागत तथा सम्मान गरेको छ ।
विश्व बैङ्कले नेपालका मेयरहरुमध्येबाट छानेर अमेरिकाको वासिङ्टन डिसीमा भएको एउटा कार्यक्रमको निम्तोमा सहभागी हुन आएका मेयर महर्जनलाई नेवा गुठी न्युयोर्कले छलफल तथा भेटघाट गरी उनको सम्मान गरेको हो ।

सो कार्यक्रमको मेयर महर्जनलाई गुठीका कृष्ण महर्जन र सजना महर्जनले खादा लगाई फूलका गुच्छा दिएर स्वागत गरेका थिए ।
गुठीका संस्थापक अध्यक्ष आदित्य महर्जनले मेयर चिरिबाबु महजर्नको स्वागत गर्दै गुठीको स्थापना कालदेखि हालसम्म भएका गतिविधिबारे जानकारी गराएका थिए ।

त्यस्तै गुठीका संस्थापक बीके नेवाले न्युयोर्कमा गुठी किन स्थापना गरेको, कसरी स्थापना भयो, कति दुःख र कष्ट खानुपर्यो भन्नेबारे विस्तृत जानकारी गराउँदै आफूले सन् २००७ मा गुठीको स्थापना गरी कार्यक्रम दिएर यहाँसम्म ल्याउन सफल भएको र ललितपुर महानगरपालिकाका मेयर महर्जनलाई यहाँ ल्याएर स्वागत गर्न पाउँदा आफूलाई ज्यादै खुसी लागेको बताए ।

त्यस्तै गुठीका पूर्वअध्यक्ष समिर महर्जनले नेवा गुठीको महत्व, यसको कार्य र विश्व नेवा अर्गनाइजेसनको नेवा एकता साथै नेपाली कला संस्कृतिको जगेर्ना गर्ने कार्यमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।

त्यस्तै गुठीका अर्का पूर्वअध्यक्ष निर्मल प्रधानले मेयर चिरिबाबु महर्जनलाई स्वागत गर्न पाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा नेवा न खा का अध्यक्ष डा. नरेश शाक्यले मेयर महर्जनलाई न्युयोर्कमा स्वागत गर्न पाउनु खुसीको विषय भएको बताए ।

कार्यक्रममा मेयर चिरिबाबु महर्जनले सम्बोधन गर्दै नेवा गुठी न्युयोर्कले यसरी आफूलाई माया गरी स्वागत गरेकोमा खुसी व्यक्त गरी धन्यवाद ज्ञापन गरेका थिए । उनले भने, “हामीले सुनेको अमेरिकामा नेपालीहरु खाली काममात्र गरेर डलर कमाउँछन् भनेको कुरा गलत रहेछ । यहाँ नेपालीहरुले यसरी संघसंस्था खोलेर आफ्नो देशको कला, संस्कृति र धर्मको रक्षा, प्रचार प्रसार गरी जगेर्ना गरेकोमा ज्यादै खुसी लागेको छ । नेवा गुठीले नयाँ पुस्तालाई कला, संस्कृतिबारे जानकारी गराउने, सिकाउने, देखाउने जस्ता काम गरेको पाउँदा गर्व महसुस भयो ।”

उनले आफू ललितपुर महानगरपालिकामा दोस्रो पटक मेयरमा निर्वाचित भएर काम गर्दै आएको बताउँदै भूकम्पले ध्वस्त बनाएको ललितपुरका मठमन्दिरमध्ये ९० प्रतिशत पुनर्निर्माण गरेको जानकारी दिँदै भने, “कुनै पनि काम निस्वार्थ भावले गरे सबैको सहयोग प्राप्त हुँदो रहेछ । सरकारसँग एक पैसा पनि नलिई करोडौँको काम सम्पन्न भएको छ । उपभोक्ता समिति गठन गरेपछि सबैले विश्वास गरेर चन्दा संकलन भयो । नेवा गुठीले पनि निस्वार्थ काम गरेकाले यो अवस्थामा आएको पाउँदा मलाई निकै खुसी लाग्यो ।”

कार्यक्रममा मेयर चिरिबाबु महर्जनलाई सम्मानपत्र प्रदान गरी सम्मानसमेत गरिएको थियो । नेवा गुठीका अध्यक्ष विजयमान सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा अध्यक्ष सिंहले मेयर महर्जनलगायत सबै उपस्थित महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा गुठीका सजना महर्जनले स्वागत भाषण गरिन भने कार्यक्रमको सञ्चालन रामकृष्ण महर्जनले गरेका थिए ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया