Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्यात व्यापारमा सामान्य वृद्धि

निर्यात व्यापारमा सामान्य वृद्धि

नौ खर्ब ४३ अर्बको सामान आयात हुुँदा आठ खर्बको व्यापारघाटा


काठमाडौं ।
मुुलुकको निर्यात व्यापारमा सामान्य सुधार देखिएको छ । विश्व महामारी कोरोना भाइरस (कोभिड १९) ले वैदेशिक व्यापारमा प्रत्यक्ष असर परे पनि चालू आर्थिक वर्षको आठ महिनामा निर्यात भने सात दशमलव आठ प्रतिशतले बढेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी आठ महिनाको प्रतिवेदनअनुसार यस अवधिमा कुल वस्तु निर्यात सात दशमलव प्रतिशतले बढेर ८० अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२ दशमलव तीन प्रतिशतले बढेको थियो । प्रतिवेदनअनुसार चालू आवको आठ महिनामा कुल वस्तु आयात दुई दशमलव एक प्रतिशतले बढेर नौ खर्ब ४३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । ‘अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात दुई दशमलव छ प्रतिशतले घटेको थियो’, प्रतिवेदनमा भनिएको छ ।

आयात र निर्यातबीचको यही असन्तलुनको कारण चालू आवको पछिल्लो आठ महिनामा कुल वस्तु व्यापारघाटा एक दशमलव छ प्रतिशतले बढेर आठ खर्ब ६३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा चार दशमलव तीन प्रतिशतले घटेको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ११ दशमलव एक प्रतिशत र दुई प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ४३ दशमलव सात प्रतिशतले कमी आएको छ । प्रतिवेदनअनुसार वस्तुगत आधारमा सोयाबिन तेल, अलैँची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, तयारी पोशाक, जुत्ता तथा चप्पल, जस्तापाता, तार, ऊनी गलैँचालगायतका वस्तुको निर्यात घटेको छ ।

राष्ट्र बैंकका अनुसार वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात नौ दशमलव आठ प्रतिशतले बढेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः सात दशमलव एक प्रतिशत र १२ दशमलव एक प्रतिशतले कमी आएकोे छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाबिन तेल, एमएस बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको भए पनि पेट्रोलियम पदार्थ, हवाइजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, भिडियो, टेलिभिजन तथा पार्टपुर्जालगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कञ्चनपुर भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो आठ महिनाामा निर्यात–आयात अनुपात आठ दशमलव छ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव एक प्रतिशत रहेको थियो ।

सेवा आय ३९ अर्ब ६९ करोड रुपैयाँ घाटामा : चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा खुुद सेवा आय घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी आठ महिनाको प्रतिवेदनअनुसार खुद सेवा आय ३९ अर्ब ६९ करोड रुपैयाँले घाटामा देखिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय चार अर्ब २२ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९१ दशमलव सात प्रतिशतले कमी आई चार अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५३ अर्ब ३६ करोड रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ५४ प्रतिशतले कमी आई २२ अर्ब ६२ करोड कायम भएको प्रतिवेदनमा उल्लेख छ । यसमध्ये शिक्षातर्फको व्यय १८ अर्ब ३१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ४९ अर्ब १३ करोड रहेकोमा शिक्षातर्फको व्यय २३ अर्ब ९२ करोेड रहेको प्रतिवेदनमा उल्लेख छ ।

रेमिट्यान्समा आठ दशमलव छ प्रतिशतले वृद्धि : वैदेशिक रोजगारीबाट प्राप्त आय अर्थात् रेमिट्यान्स रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो आठ महिनामा रेमिट्यान्स रकम आठ दशमलव छ प्रतिशतले बढेर छ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह एक दशमलव पाँच प्रतिशतले बढेकोे थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह पाँच प्रतिशतले बढेर पाँच अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक दशमलव पाँच प्रतिशतले बढेकोे थियोे ।

राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७४ दशमलव आठ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४ दशमलव दुुई प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६५ दशमलव दुई प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई दशमलव सात प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर सात दशमलव दुई प्रतिशतले वृद्धि भई सात खर्ब १८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर एक प्रतिशतले बढेकोे प्रतिवेदनमा उल्लेख छ ।

चालू खाता एक खर्ब ४८ अर्ब रुपैयाँले घाटामा : मुलुकको चालू खाता घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा चालू खाता एक खर्ब ४८ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता एक खर्ब १९ अर्ब ७० करोड रुपैयाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब पाँच करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा एक अर्ब २७ करोडले घाटामा रहेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर छ दशमलव आठ प्रतिशतले वृद्धि आई ११ अर्ब ९१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३४ दशमलव आठ प्रतिशतले कमी आई १० अर्ब १८ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ६१ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ६८ अर्बले बचतमा रहेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३७ अर्ब ८४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३३ करोड १२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

विदेशी मुद्राको सञ्चिति १४ खर्ब ३६ अर्ब : विदेशी मुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति दुई दशमलव पाँच प्रतिशतले बढेर भई २०७७ फागुन मसान्तमा १४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ फागुन मसान्तमा छ दशमलव दुई प्रतिशतले वृद्धि भई १२ अर्ब ३७ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ फागुन मसान्तमा तीन दशमलव तीन प्रतिशतले वृद्धि भई १२ खर्ब ६६ अर्ब १० करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा एक खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ फागुन मसान्तमा तीन प्रतिशतले कमी आई एक खर्ब ७० अर्ब ४४ करोड कायम भएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया