Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाबाट दुई सय ४६ जनाको मृत्यु

कोरोनाबाट दुई सय ४६ जनाको मृत्यु


काठमाडौँ ।बुधबार देशभर कोरोनाबाट दुई सय ४६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेनाले शव व्यवस्थापन गरेकोसहित उक्त संख्या सार्वजनिक गरिएको हो । नेपालमा बुधबारसम्म पाँच हजार छ सय ५७ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो समयमा अक्सिजनको अभावमा धेरै कोरोना संक्रमितको मृत्यु भइरहेको छ । सरकारले अक्सिजनको व्यवस्थापन गर्ने कार्य जारी राखे पनि पूर्णतया सफलता पाउनसकेको छैन । निजी क्षेत्र तथा व्यक्तिहरूले पनि अक्सिजन व्यवस्थानको कार्यलाई तीव्रता दिएका छन् । अक्सिजनको उत्पादन नै कम भएको कारण व्यवस्थापन गर्न धौधौ परेको हो ।

सरकारले प्रत्येक अस्पताललाई आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन दिए पनि त्यसको कार्यान्वयन हुनसकेको छैन । नेपालमा अझै पनि कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार सात सय १३ जना छन् । उनीहरूमध्ये अधिकांशलाई अक्सिजनको आवश्यकता छ ।

बुधबार मात्रै थप आठ हजार एक सय ७३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट आठ हजार ६४ र एन्टिजेन विधिबाट परीक्षण गर्दा एक सय नौ जनामा पोजिटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा काठमाडौंँ उपत्यकामा मात्र दुई हजार चार सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंँमा एक हजार नौ सय ८८ जना, भक्तपुरमा दुई सय २८ जना र ललितपुरमा दुई सय ७० जना गरी दुई हजार चार सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । बुधबार सात हजार नौ सय ८९ जना कोरोनाबाट निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल देशभर आठ सय ५६ जना क्वारेन्टाइनमा छन् ।

कोरोना लागेका अधिकांश घरमै बसेको कारण कतिपयको अवस्था कस्तो छ भन्ने सरकारलाई नै जानकारी छैन । साथै देशमा अझै पनि चाहेको व्यक्तिले कोरोना परीक्षण गर्न पाएका छैनन् ।
यसैबीच, अक्सिजन सिलिन्डरको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री (कालोबजारी) गरेको अभियोगमा तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ का रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ का नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका–२ का रामशरण अधिकारी रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हाल विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणपछि अस्पतालमा उपचाररत बिरामीका लागि अक्सिजन अभाव भइरहेको सन्दर्भमा कालोबजारी भइरहेको भन्ने विशेष सूचनाको आधारमा खोजी गर्दा उनीहरूलाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बजारमा अन्दाजी १५ हजार रूपैयाँ पर्ने अक्सिजन सिलिन्डरलाई बजार मूल्यभन्दा बढी लिई प्रतिसिलिण्डर ४१ हजार रूपैयाँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । उनीहरूको साथबाट अक्सिजन भरिएको सिलिण्डर एक थान, सोही सिलिन्डर बिक्री गर्दै गरेको नगद ४१ हजार र चार थान रसिदसमेत बरामद गरिएको छ । उनीहरूविरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐनअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया