Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकोभिड–१९ को असर उद्योगहरूको औसत तलब÷ज्याला खर्च ८८ प्रतिशत नाघ्यो

कोभिड–१९ को असर उद्योगहरूको औसत तलब÷ज्याला खर्च ८८ प्रतिशत नाघ्यो


काठमाडौँ । कोरोना महामारीको सबैभन्दा बढी असर उत्पादन अर्थात् रोजगारी क्षेत्रमा परेको देखिएको छ । नेपाल राष्ट्र बैंकले बुुधबार सार्वजनिक गरेको कोभिड १९ को दोस्रो लहरले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रतिवेदनअनुसार कोभिड १९ कै कारण उद्योगहरूको तलब÷ज्याला खर्च ८८ प्रतिशतसम्म पुगेको छ ।

राष्ट्र बैंकले प्रतिवेदनमार्फत भनेको छ, ‘गत २०७७ असारको तुलनामा उद्योग, व्यवसायहरूको औसत तलब ज्याला खर्चमा वृद्धि भएको पाइएको छ ।’ कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३ दशमलव चार प्रतिशत रहेको यस्तो खर्च २०७८ वैशाखमा आइपुग्दा ८८ दशमलव पाँच प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ ।

२०७७ असारको तुलनामा खानी तथा उत्खनन क्षेत्रका उद्योग, व्यवसायहरूको औसत तलब ज्याला खर्च बढेको देखिए पनि विद्युत्, ग्यास तथा पानी र सञ्चार क्षेत्रका उद्योग, व्यवसायहरूको औसत तलब ज्याला खर्च कोभिड महामारीअगाडिकै अवस्थामा पुगेको पाइएको छ । जसअन्तर्गत गत २०७७ असारको तुलनामा उद्योग, व्यवसायको आकारअनुसार सबै प्रकारका उद्योग, व्यवसायको औसत तलब ज्याला खर्चवृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘गत २०७७ असारको तुलनामा उद्योग, व्यवसायहरूले प्रदान गर्ने रोजगारीमा सुधार भएको देखिए पनि कोभिड महामारीअगाडिको अवस्थामा भने अझै पुग्नसकेको छैन । कोभिड महामारीअगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ७७ दशमलव पाँच प्रतिशत रोजगारी प्रदान गरेका उद्योग, व्यवसायहरूले २०७८ वैशाखमा ९३ दशमलव आठ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको छ ।’

मझौला तथा ठूला उद्योग, व्यवसायहरूले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको प्रतिवेदनमा उल्लेख छ । पूर्णरुपमा सञ्चालनमा रहे पनि मझौला तथा ठूला उद्योग, व्यवसायहरू आफ्नो पूर्ण क्षमता उपयोग गरी सञ्चालनमा नरहेका कारण यस्ता उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएको अनुमान राष्ट्र बैंकले गरेको छ ।

प्रतिवेदनअनुसार गत २०७७ असारको तुलनामा उद्योग, व्यवसायहरूको उत्पादन, कारोबारको अवस्थामा पनि सुधार आएको छ । कोभिड महामारीअगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन, कारोबार रहेकोमा २०७८ वैशाखमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ६१ दशमलव चार प्रतिशत पुगेको छ । गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरूको उत्पादन, कारोबार बढेको पाइएको छ । तर, होटल तथा रेष्टुरेन्ट भने उत्पादन तथा कारोबारको स्थिति ४० दशमलव आठ प्रतिशत मात्र पुगेको छ जुन अन्य व्यवसायहरूभन्दा सबैभन्दा कम भएको प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनअनुसार गत २०७७ असारको तुलनामा उद्योग, व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको पाइएको छ । कोभिड महामारीपूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा चार दशमलव एक प्रतिशत मात्र उद्योग, व्यवसायहरू पूर्णरुपमा सञ्चालनमा रहेकोमा २०७८ वैशाखमा बढेर ८१ दशमलव दुुई प्रतिशत पुगेको देखिएको छ । सर्वेक्षणमा सहभागी विद्युत्, ग्यास तथा पानी र सञ्चार क्षेत्रका शतप्रतिशत उद्योग, व्यवसायहरू पूर्ण रुपमा सञ्चालनमा रहेको देखिएको छ ।

राष्ट्र बैंकका अनुसार सर्वेक्षणको लागि औद्योगिक वर्गीकरणअनुसार थोक तथा खुद्रा व्यापारबाट सर्वाधिक २८ दशमलव आठ प्रतिशत, उत्पादनमूलक उद्योगबाट १९ प्रतिशत र होटल तथा रेष्टुरेन्टबाट १७ दशमलव एक प्रतिशत नमूना प्राप्त भएका छन् ।

सबैभन्दा कम विद्युत्, ग्यास तथा पानी क्षेत्रबाट शून्य दशमलव पाँच प्रतिशत र खानी तथा उत्खनन क्षेत्रबाट करिब एक प्रतिशतको सहभागिता रहेको छ । जसअन्तर्गत २०७८ वैशाख महिनाको पाँच गतेदेखि १४ गतेसम्म टेलिफोन अन्तर्वार्तामार्फत सर्वेक्षण गरिएको राष्ट्र बैंकले जनाएको छ । सर्वेक्षणमा सहभागी अधिकांश उद्योग, व्यवसायहरूले बजार माग घटेर कारोबारमा ह्रास आएको, पुनर्कर्जा तथा सहुलियत कर्जा प्राप्त गर्न कठिनाइ भएको, थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्याहरू रहेको बताएको प्रतिवेदनमा उल्लेख छ ।

सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी, व्यवसायीहरूले कोभिड–१९ का कारण बजार माग घटेर चालू खर्च धान्न समस्या रहेको कारण उद्योग, व्यवसाय सञ्चालनमा ल्याउन नसकेको बताएका प्रतिवेदनमा उल्लेख छ । उद्योग, व्यवसाय सञ्चालनमा ल्याउन नसकेकामध्ये केहीले व्यक्तिगत कारणले गर्दा अब उद्योग, व्यवसाय पुनः सुरु गर्न नचाहेको बताएका छन् भने केहीले निकट भविष्यमा पुनः सञ्चालनमा ल्याउने बताएको प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार

तपाईको प्रतिक्रिया