Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी पूरा, आचारसंहिता पालना गर्न निर्देशन

राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी पूरा, आचारसंहिता पालना गर्न निर्देशन


काठमाडौँ ।निर्वाचन आयोगले आज बिहीबार हुनलागेको वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट सम्पन्न गर्न आयोग प्रतिबद्ध र क्रियाशील रहेको बताएको छ ।
यस उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य एक सय १० जना र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुख दुई सय ३८ गरी तीन सय ४८ जना मतदाता रहेका छन् ।

आयोगका अनुसार यो निर्वाचन निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम निर्वाचन हुँदै छ । निर्वाचक मण्डलका सबै मतदाताहरूलाई ९ बजेदेखि ३ बजेसम्म हुने मतदानमा सहभागी हुन पनि आयोग अनुरोध गरेको छ । यस्तै आयोगले मौन अवधिको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिताविपरीत बुधबार प्रेस विज्ञप्ति नै जारी गरी राष्ट्रियसभा सदस्यका उम्मेदवार राम बहादुर थापालाई मत मागेपछि आचारसंहिताविपरीत कार्य नगर्न पनि निर्देशन दिएको छ ।

प्रधानमन्त्री ओलीसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पनि आचारसंहिताविपरीत विज्ञप्ति निकालेर थापालाई भोट मागेका थिए । आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरूले आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्नेजस्ता गतिविधिहरू गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीररूपमा ध्यानाकर्षण भएको जनाएको छ ।

‘एकातर्फ आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न नसक्ने भनी आलोचना पनि गर्ने र अर्कोतर्फ आफैँ आचारसंहिताविपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिबाट स्वीकार्य हुँदैन’, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने । निर्वाचन आचारसंहिताविपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयाोगले कानुनबमोजिम कारबाही गर्नसक्ने कुरा प्रस्ट गर्दै आयोगले यसरी आचारसंहिताविपरीत कार्य गर्नेको अभिलेख राख्ने व्यहोरा समेत जानकारी गराएको छ । निर्वाचन आचारसंहिता एक कानुनी आधार र नैतिक बन्धन पनि भएकोले सोको पालना गरी निर्वाचनलाई निष्पक्ष ढंगबाट सञ्चालन गर्ने कार्यमा सहयोग पु¥यादिन पनि आयोगले आग्रह गरेको छ ।

आयोगका अनुसार यस निर्वाचन प्रयोजनका लागि आयोगले जारी गरेको निर्वाचन आचारसंहिताअनुसार जेठ ३ गते राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु भइसकेको छ । यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुनेगरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया