Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ

गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ


काठमाडौँ । काठमाडौँको गौशालामा निःशुल्क कोभिड आइसोलेसन केन्द्रको शुभारम्भ गरिएको छ । मारवाडी सेवा समितिले काठमाडौँको गौशालामा सुरु गरेको आइसोलेसन केन्द्रको बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुभारम्भ गरेका हुन् ।

मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा सुरु गरेको अक्सिजन सेवासहितको ५१ शैय्याको यो आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले जानकारी दिए । उपप्रधानमन्त्री पोखरेलले चुनौतीपूर्ण अवस्थामा पनि आइसोलेसन केन्द्र सञ्चालन गरेर सुन्दर दृष्टान्त प्रस्तुत गरेको भन्दै मारवाडी सेवा समितिको प्रशंसा गरे । ‘कोभिडविरुद्धको लडाइँ हामी सबैले मिलेर लड्ने लडाइँ हो ।

यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नु हुँदैन, सरकारले अभिभाकको भूमिका खेल्छ, तर यो लडाइँको मोर्चामा हामी सबै एक ठाउँमा उभिएर लड्नुपर्छ ।’ उनले भने । तीन सय शैय्यासम्म सञ्चालन गर्न सकिने यस आइसोसलेन केन्द्रलाई पूर्णरूपमा सञ्चालन गर्न सीसीएमसी र स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने उनले बताए । एक वर्षअघि कोभिडको पहिलो लहर चलेको बेला नेपालमा कोभिड परीक्षण गर्ने प्रयोगशाला नभएर विदेश पठाउनुपरेको अवस्था स्मरण गर्दै उनले अहिले देशका ८६ ठाउँमा कोभिड ल्याब स्थापना गरेको जानकारी दिए ।

केन्द्रदेखि स्थानीय तहसम्म कोभिडको उपचार गर्ने अस्पताल स्थापना गरेको उनको दाबी थियो । दोस्रो लहरमा अक्सिजनको जोडजामका कारण समस्या भएको भन्दै उनले ठूला अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट नहुँदा हाहाकार सिर्जना भएको बताए ।

सरकारले जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको भन्दै पोखरेलले अक्सिजन प्लान्टलगायतका स्वास्थ्य सामग्री खरिद गर्न मन्त्रिपरिषद्बाट निर्णय गरी प्रारम्भ र पहल थालिएको जानकारी दिए । पोखरेलले कोरोनाविरुद्धको खोप खरिदका लागि पनि औपचारिक प्रक्रिया प्रारम्भ गरेको समेत जानकारी दिए । । सातवटै प्रदेशमा सातवटा र काठमाडौँमा एउटा गरी एक हजार क्षमताका आठवटा होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुट्याइसकेकाले छिटै नेपाली सेनाले निर्माण सुरु गर्ने पनि उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया