Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमकै बालीमा फौजीको प्रकोप

मकै बालीमा फौजीको प्रकोप


दोलखा । जिल्लाको विभिन्न ठाउँमा लगाएको मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप देखिन थालेको छ । गत वर्षहरूदेखि नै मकैमा अमेरिकी मुलुकमा पाइने फौजी कीराले दुःख दिएपछि कतिपय किसानले यसवर्ष मकैखेती केही ढिलो सुरु गरेका थिए । रोप्न ढिलो गरे पनि मकै उम्रेको १५ दिन नबित्दै कीराको प्रकोप देखिन थालेको बैतेश्वर तीन पाइलेका स्थानीय किसान दल बहादुर बस्नेतले बताए ।

त्यसैगरी सोही ठाउँका किसान टहल बहादुर खड्काले मकैमा अमेरिकन फौजी कीराले आक्रमण गर्न सुरु गरेकाले मकैका बोट उखेलेर फ्याँकेको बताए । यद्यपि गत वर्षको तुलनामा केही कम मात्रमा फौजीको प्रकोप देखिएको पहाडी बाली अनुसन्धान कार्यक्रम काब्रेले जनाएको छ । अघिल्लो वर्ष फौजी कीराको कारण पहाडी जिल्लाको मकै उत्पादन घटेको बाली अनुसन्धान कार्यक्रमका बाली विज्ञ एवं कार्यालय प्रमुख सुबास सुवेदीले जानकारी दिए ।

बाली अनुगमनको क्रममा पहाडी बाली अनुसन्धान केन्द्र काब्रेको टोलीले दोलखाको काब्रे, मिर्गे, पवटी र दिवाले खड्कालगायतका स्थानमा फौजी कीराको प्रकोप देखिएको थियो । गत वर्ष असार महिनामा सर्वेक्षणका क्रममा फेला परेको कीरा अमेरिकी महादेशमा उत्पत्ति भएको फौजी कीरा रहेको किट विज्ञान महाशाखा खुमलटारले प्रमाणित गरेको डाक्टर सुवेदीले बताए । अहिले पनि सोही कीरा सक्रिय भएको हुनसक्ने उनको भनाइ छ ।

अमेरिकी फौजी कीरा मकै बालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने रातमा सक्रिय हुने कीरा हो ।
उपयुक्त खाना तथा बासस्थानको खोजीमा फौजी कीराको वयस्क पुतली सय किलोमिटर टाढासम्म उडेर जानसक्ने भएकोले यसको समयमै नियन्त्रण गर्न नसके यसले धेरै क्षति पु¥याउने पहाडी बाली अनुसन्धान केन्द्र काब्रेले जनाएको छ ।

यो कीराको प्रजातिले धानचमरा नपलाएको कलिलो मकैलाई नष्ट गर्छ । मकैको पात, गुभो, जुँगा तथा घोगामा समेत क्षति पु¥याउने गरेको बाली वैज्ञानिकहरूको भनाइ छ । प्रकोप रोक्न समयमै कीरा मार्न प्रयोग हुने विषादी प्रयोग गरेर कीरा मार्न सकिने विज्ञहरूको किसानलाई सुझाव छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया