Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअनुगमनलाई तीव्रता दिँदै कालिञ्चोक गाउँपालिका

अनुगमनलाई तीव्रता दिँदै कालिञ्चोक गाउँपालिका


दोलखा । जिल्लाको कालिञ्चोक गाउँपालिकाभित्र सञ्चालित योजनाहरू धमाधम पूरा हुन थालेका छन् । गाउँ पालिकाले पहिलो चार वर्षको अवधिमामा वितरण गरेका सयौँ योजना अहिले धमाधम पूरा भइरहेका छन् ।

कालिञ्चोक गाउँपालिकाले २०७४ सालदेखि २०७८ सालसम्म गाउँपालिकाभित्रका नौवटा वडामा करिब १५ सय सानाठूला योजना छनोट गरेर वडालाई वितरण गरेको थियो । गाउँपालिकाले महत्वपूर्ण बजेटअनुसारका सञ्चालित साना–ठूला योजनाहरू समयमै पूरा गराउन अन्तिम वर्ष भएकाले चालू वर्षमा अनुगमनलाई तीव्रता दिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए  ।

गाउँपालिकाभित्र अघिल्लो वर्ष २०७५ देखि २०७८ सालसम्म तीन वर्षको अवधिमा वडा नम्बर १,२ र ३ मा सञ्चालित कार्यक्रम तथा बाजेको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमको जवाफदेही वक्ताको रूपमा रहेका अधिकृत ओलीले वडामा उपभोक्तामार्फत सञ्चालित विकास निर्माणका योजनालाई समयमै पूरा गराउनको लागि दैनिक अनुगमन टोली निर्माणस्थल पठाउने गरेकाले चालू वर्षको असार अगावै गाउँपालिकाले छनोट तथा वितरण गरेका सबै योजनामा पूरा हुने उनले बताए ।

रेडियो भीमेश्वरले आयोजना गरेको कालिञ्चोक गाउँपालिका वडा नम्बर १, २ र ३ को योजना छनोट तथा बजेट प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओलीले २०७५/०७६,०७६/०७७र २०७७/०७८ तीन वर्षको अवधिमा भएको बजेट विनियोजन, योजना छनोट, कुल बजेट र खर्चको विषयलाई प्रस्ट पारेका थिए ।

उठेका प्रश्नको जवाफ दिँदै अधिकृत ओलीले गाउँपालिकाले वडामा हुने विकास निर्माणका योजनाको अनुगमन गर्न प्राविधिक तथा कर्मचारी पठाउने गरेकाले सबै वडामा पारदर्शीरूपमा काम भएको बताए । त्यस्तै गाउँपालिकाले कोरोना भाइरस महामारीका कारण अघिल्लो वर्षको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न नसकेकोले अघिल्लो वर्षको पनि सार्वजनिक सुनुवाइ कार्यक्रम यसै वर्ष गरेको बताए ।

त्यस्तै सोही वडा स्थानीय एवं शिक्षक चन्द्र कुमार श्रेष्ठले गाउँपालिकाको केन्द्र राख्ने विषयमा विवाद चर्किँदा वडाको समेत केन्द्र राख्ने ठाउँ अन्योलमा पर्नुको कारण के हो ? गाउँपालिकाभित्रका विद्यालयमा प्रभावकारी अनुगमन नभएको भन्दै जनप्रतिनिधिलाई प्रश्न गरेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नम्बर १ का वडा अध्यक्ष बाबुलाल थामीले वडा नम्बर एकमा आएको बजेट वडाको आवश्यकताअनुसार बाँड्ने गरेकाले गाउँपालिकाले दिएका धेरैजसो योजना पूरा भएको बताए ।

त्यस्तै २ नम्बरका वडा अध्यक्ष नानी पाण्डेले वडामा स्थानीयले उठेका प्रश्नको जवाफ दिने क्रममा वडाको केन्द्र राख्ने विषयको कागजी प्रक्रिया मिलाउने काम गाउँपालिकामा भइरहेकाले चाँडै सो विवाद मिल्ने बताए । गाउँपालिकाले बजेट वितरण गर्दा वडाको भूगोल हेरेर वितरण गर्नुपर्ने बताए । त्यस्तै वडा नम्बर–३ का वडा अध्यक्ष निशान बुढाथोकीले वडाका ७० प्रतिशत जनताको घरमा ‘एक घर एक धारा’ कार्यक्रम पुगेको, वडा आउने योजना छनोट गर्दा सबै सरोकारवालाहरूलाई बोलाएर वितरण गर्ने गरेकाले वडामा खासै विवाद नरहेको बताए ।

त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले गाउँपालिकाले ४ वर्षको अवधिमा आफ्नै ऐनकानुन निर्माण गरेको बताइन् । त्यस्तै गाउँपालिका अध्यक्ष बिनकुमार थामीले गाउँपालिकाको केन्द्रको विषयमा उठेको प्रश्नको जवाफ दिँदै पालिकाको विवाद तोक्ने विषयमा छलफल भइरहेकाले चाँडै समाधान हुने बताए । वडा नम्बर २ को वडा कार्यालय भवन बनाउने स्थान तोक्न नसक्नुमा स्थानीय जनता दोषी रहेको बताए ।

दुई गाउँ मिल्न नसक्दा वडा कार्यालय निर्माण हुन् नसकेको बताए । गाउँपालिकाले चार वर्षको छोटो समयमा दर्जनौँ महत्वपूर्ण विकास निर्माणका आयोजनाहरू पूूरा गरेको, सम्मान ढंगले आवश्यकताअनुसार बजेट वितरण गरेको, गाउँपालिकाको बेरुजु घटाएको, खानेपानीको पहुँच सबै वडामा पुगेको, स्वास्थ्य क्षेत्रमा सुधार ल्याएको, दर्जनौँ विद्यालय भवन, स्वास्थ्यका भवन निर्माण पूरा भएका, शिक्षा क्षेत्रको परिवर्तनको लागि गाउँपालिकाले अंग्रेजी माध्यम पठनपाठन सुरु गरेको, आवश्यकताअनुसार बजेट विनियोजन गरेको, गाउँपालिकाको सडक कालोपत्रे सुरु गरेको, दर्जनौँ सडक निर्माण गरेको,कृषिमा उत्पादनमुखी तथा आर्थिक आर्जनका अनुदानमुखी कार्यक्रमहरू सुरु गरेको  बताए।

दुईवटा वडाबाहेक सबै वडाको भवन निर्माणसम्पन्न गरेकोले कालिञ्चोक गाउँपालिकामा चार वर्षको अवधिमा धेरै विकास भएको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

ताजा अपडेट