Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुवईमा नेपाली अपहरण गरेपछि कोमलराज उपाध्याय पक्राउ

दुवईमा नेपाली अपहरण गरेपछि कोमलराज उपाध्याय पक्राउ


काठमाडौँ । भिजिट भिसाको आवरणमा नेपालबाट युनाइटेड अरब इमिरेट्स (यूएई) मानव तस्करी गर्दै आएको ‘गिरोह’का नाइके कोमलराज उपाध्याय पक्राउ परेका छन् । उनले भिजिट भिसामा दुवई पु-याएका एक नेपालीलाई अपहरण गरी दुवईमै बन्धक बनाएर कुटपिट गरेको खुलेपछि दुवई प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवईस्थित नेपाली सेवामूलक संस्था नेपाल एसोसिएसनका युवा संयोजक भीम मल्ल ठकुरी, अन्तर्राष्ट्रिय नेपाली कलाकार संघ दुवईका अध्यक्ष एमडी बोहरा र सामाजिक अभियन्ता सनोज पौड्यालको सहयोगमा उपाध्याय पक्राउ परेका हुन् । उनले नेपालबाट रोजगारीका लागि दुवई पुगेका अमन थापालाई क्याम्पबाटै अपहरण गरी कुटपिट गरेका थिए । कुटपिटपछि ती युवालाई सबै नेपाली मिलेर उद्धार गरेका थिए ।

सञ्चारमाध्यमलाई खबर दिएको भन्दै उपाध्याय समूहले निर्दोष युवालाई अपहरण गरेका थिए । दुवई प्रहरीले पक्राउ गरेपछि उपाध्यायलाई केही बेर हिरासतमा राखेको थियो । राहदानी नियन्त्रणमा लिएर उनलाई प्रहरीले शुक्रबार नै छाडेको छ । मानव तस्करीका नाइके तथा त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सिजका मालिक समेत रहेका उनले नेपालमा आफ्ना दलालहरुमाथि दुवईमा भएको नेपालीको सूचना लिएका थिए । सञ्चारमाध्यममा प्रकाशित बैंक भौचरका आधारमा दलालहरुले थापाको परिवारलाई धम्क्याएर सूचना लिएका थिए ।

गिरोहका नेपालका प्रतिनिधिले ९८०५३९६३१२ बाट पीडित (कोमलको श्रीमतीको खातामा पैसा जम्मा गर्ने व्यक्ति) को मोबाइल नम्बर ९८१८३१..१८ नम्बरमा फोन गरी ‘दुबईमा को छ, उसको डिटेल चाहियो’ भन्दै डिटेल मागेको पीडित परिवारले बताएको छ । उनीहरुले डिटेल मागेको केहीबेरमै थापा अपहरणमा परेका थिए ।

स्रोतका अनुसार नेपालबाट दुवईमा नेपालीको पहिचान खोज्ने काम उपाध्यायकै स्वामित्व रहेको सिनामंगलस्थित द लिंक फर रिक्रुइटमेन्ट कन्सल्टेन्सी नामक म्यानपावरका दलाल खगेन्द्र लम्सालले लगाएका थिए । उनी दुवईमै बसेर नेपाली अपहरणमा संलग्न भएका आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । अपहरणमा परेका थापालाई तस्करहरुको समूहले कुटपिट गरेको स्रोतले जनाएको छ । आर्थिक दैनिकलाई प्राप्त भिडियोमा थापाको शरीरमा नीलडाम देखिन्छ ।

तस्करहरुले फोटो खिच्न लान्छु भन्दै थापालाई लिएर गएका थिए । पाँच जनाको समूह आएर उनलाई गाडीमा थुनेर अज्ञातस्थलमा लगेका थिए । उनीमाथि तस्करहरुले बैंक भौचर सञ्चारमाध्यमलाई दिएको झूटो आरोप लगाएका थिए ।

एकै क्याम्पमा भेटिए ६५ जना नेपाली !

त्रिनेत्र म्यानेजमेन्टको नाममा दुवई पुगेका ६५ जना नेपाली एउटै क्याम्पमा भेटिएका छन् । ती नेपाली बिचल्लीमा परेपछि उद्धारका लागि नेपाल सरकारसमक्ष अनुरोध गरिरहेका छन् । तर, दुवईस्थित नेपाली दूतावासले भने खासै मतलब गरेको छैन ।

ती नेपालीहरुले दुई लाखदेखि छ लाख ५० हजार रुपैयाँसम्म बुझाएको विवरण समेत फेला परेको छ । अन्य नेपालीलाई भने अर्कै क्याम्पमा लगेर राखिएको एक नेपालीले बताए । उनीहरु सबै आकर्षक तलबको आसमा भिजिट भिसामा दुवई पुगेका थिए । उनीहरुमध्ये अधिकांश नेपाली सेना छाडेर गएका नेपाली रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया